काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आहृवान भएको छ । मंगलबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको हो । मुख्यमन्त्रीको राजीनामा स्वीकृत भइसकेकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत प्राप्त गर्नसक्ने दलहरुले मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि बुधबार (आज) दिउँसो ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको छ ।
मुख्यमन्त्री पदबाट सतिशकुमार सिंहले मंगलबार मधेस प्रदेशसभामा आफ्नो भनाइ राख्दै राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले स्वीकृत गर्दै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउनुभएको हो । जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंह नेतृत्वको सरकार आफ्नै पार्टी जनमत र सत्ता सहयोगी दल नेकपा एमाले र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको थियो । पार्टीले पटक-पटक राजीनामा दिन दबाब दिए पनि मुख्यमन्त्री सिंहले संघीयता र संविधानको रक्षाको लागि आफूले त्यतिबेला राजीनामा नदिएको बताउने गर्नुभएको थियो ।
मंगलबार विश्वासको मत लिने अडान लिनुभएका उहाँ अन्ततः राजीनामा दिने निर्णयमा पुग्नुभएको हो । मधेसमा सिंह नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तीन दलले सहमति गरेका छन् । कांग्रेसलाई सबैभन्दा ठूलो दल एमाले र जनमत पार्टीको सर्मथन रहेको छ । तथापि, समीकरण फेरिन सक्ने चर्चा पनि भइरहेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी रहेको बताउनुभएको छ । मंगलबार जनकपुरधामस्थित मधेस प्रदेशको पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ठाकुरले भन्नुभयोे, ‘उपेन्द्रजीको बाराको चुनाव अगाडि नै लोसपालाई मधेसको नेतृत्व दिने तत्कालीन सत्ताघटकको सर्वपक्षीय सहमति भएको हो ।’ उहाँले आफूहरू पर्ख र हेरको मनस्थितिमा रहेको उल्लेख गर्नुभयो । उहाँले बाराको निर्वाचनमा जितेन्द्र सोनलको अगुवाइमा लोसपालाई प्रयोग गरेर उपेन्द्र यादवले पछि देउवा र प्रचण्डकै अगाडि लोसपाले धोका दियो भनेर बोल्दा देउवा र प्रचण्ड रिसाएको पनि बताउनुभयो ।
अन्ततः फुट्यो सिके राउतको जनमत पार्टी
जनमत पार्टीबाट विभाजन भएर गठन भएको जनस्वराज पार्टी दर्ता भएको जानकारी निर्वाचन आयोगले सो पार्टीलाई गराएको छ । दीपक साहको नेतृत्वमा २५ सदस्यीय कार्यसमितिसहित जनस्वराज पार्टी दर्ता भएको आयोगले जनाएको हो । आयोगका अनुसार जनस्वराज पार्टीले माग गरेको झण्डामा नीलो, सेतो र रातो रङको ठाडो धर्का रहनेछ । जनस्वराज पार्टीले माग गरेको छाप गोलाकार हुनेछ, जसमा पार्टीको नाम अंकित हुनेछ र मध्य भागमा पार्टीको निर्वाचन चिन्ह रहनेछ । हाललाई जनस्वराज पार्टीले कुनै निर्वाचन चिन्ह माग गरेको नदेखिएकाले, आयोगमा दर्ता कायम रहेका दलहरूको चिन्हसँग नबाझिने गरी उपयुक्त चिन्ह प्रस्ताव गर्न आयोगले जनस्वराज पार्टीलाई निर्देशन दिने जनाएको छ ।
त्यसैगरी, निर्वाचन आयोगले जनमत पार्टीबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका प्रतिनिधिहरूलाई निर्वाचन कार्यालयहरूमा गएर सनाखत गर्न भनेको छ । आयोगले दिएको पत्रमा भनिएको छ, ‘नयाँ गठन भएको जनस्वराज पार्टीमा सो दल गठन हुनुभन्दा तत्काल जनमत पार्टीको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्यले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ७ (क) बमोजिम प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारीसमक्ष प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारी समक्ष स्वयं उपस्थित भई सनाखत गराउन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने ।’




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच