बनेपा । समाजसेवी तथा पूर्वनेपाली सैनिक सकुल थापाद्वारा लेखिएको पुस्तक ‘हाम्रो देश त्यस्तै होस्’ काभ्रेको बनेपामा एक भव्य समारोहबीच लोकार्पण गरिएको छ । शब्दयात्रा प्रकाशनले प्रकाशनमा ल्याएको पुस्तक काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा.भोला थापाको प्रमुख आतिथ्यता र साहित्यकार हरि मञ्जुश्रीको अध्यक्षतामा लोकार्पण गरिएको हो ।
विदेशमा अध्ययन तथा रोजगारीका लागि जाने नेपालीहरूको वास्तविक भोगाइ, पीडा, संघर्ष र यथार्थ कथाहरू समेटिएको उक्त कृतिले पाठकहरूलाई नेपालीहरूको प्रवास जीवनको गहिरो अनुभूति दिलाउने विश्वास गरिएको छ । पुस्तकमा ‘विदेशिएका विद्यार्थी कसरी बस्छन् ? रोजगारीमा गएका सर्वसाधारणले कस्तो जिन्दगी बिताउँछन् ?’ भन्ने विषयमा प्रत्यक्ष अनुभूति र तीतोसत्य प्रस्तुत गरिएको छ ।
२७ वर्ष नेपाली सेनामा सेवा गरी राइफल समात्नुभएका थापा अब कलम समातेर समाजप्रति योगदान दिने अभियानमा जुट्नुभएको छ । ‘हाम्रो देश त्यस्तै होस्’ थापाको तेस्रो कृति हो । यसअघि उहाँका दुई भजनसंग्रह प्रकाशित भइसकेका छन् ।
‘आँखाले देखेका, मनले भोगेका प्रवासका दृश्यहरूलाई पुस्तकमा लिपिबद्ध गर्ने कोसिस गरेको छु’, कार्यक्रममा बोल्दै लेखक थापाले भन्नुभयो । उहाँले आफ्नो ६३औं जन्म दिनको अवसर पारेर काभ्रेका विभिन्न विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई आर्थिक सहयोगसमेत गर्नुभएको छ । ‘सेवा नै धर्म हो, धर्म नै कर्म हो’ भन्ने आदर्श बोक्नुभएका थापा लामो समयदेखि आत्मा ज्ञान केन्द्रमार्फत विश्व शान्तिका लागि क्रियाशील हुनुहुन्छ ।
शब्दयात्रा प्रकाशनका संस्थापकमध्ये एक सकुल थापा स्वयं पनि लेखक, समाजसेवी र साहित्यप्रेमी हुनुहुन्छ । हरि मञ्जुश्री, रमेश पौडेल र सकुल थापाको सामूहिक प्रयासमा स्थापना भएको शब्दयात्रा प्रकाशन हाल काभ्रेका ५० जना लब्धप्रतिष्ठित व्यक्तिहरूको सशक्त संगठनका रूपमा अघि बढिरहेको छ ।
उक्त लोकार्पण कार्यक्रममा शब्दयात्रा परिवार, स्थानीय साहित्यकार, बुद्धिजीवी, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच