पाल्पा । तानसेनमा भिक्षुहरूलाई कथिन चिवर दान गरिएको छ । दाता ज्ञानमाला संघ आनन्द विहारले विहारमा वर्षाबासमा बसेका एकजना भिक्षुसहित देशका विभिन्न जिल्लाबाट आएका ६० जना भिक्षुहरूलाई कथिन दान गरेको हो । बौद्ध परम्परा अनुसार विहारले तीन महिना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने दानका लागि ‘कथिन चिवर दान’ उत्सवको आयोजना गरी दान दिइएको छ । भिक्षुहरूलाई चिवर दान, अष्टपरिकार दान, धर्म सँगदान गरिएको हो ।
प्रत्येक वर्ष असार पूर्णिमादेखि असोज पूर्णिमा तीन महिना भिक्षुहरू बर्खाबास बस्ने परम्परा छ । यसरी वर्षाबास बसेका भिक्षुहरूका लागि कथिन दान गर्ने गरिन्छ । तानसेनका दाता विश्वमान बज्राचार्यको प्रमुख सहयोगमा कथिन दान उत्सवमा मनाइएको हो ।
तानसेनस्थित ज्ञानमाला सघ आनन्द विहारमा बर्खाबास बसेका भिक्षु अनिरुद्रसहित अन्य भिक्षुहरूलाई बौद्ध परम्परा अनुसार चिवर दान, अष्ट परिस्कार दान गरिएको थियो । भिक्षुले लगाउने पहेँलो वस्त (चिवर) र भिक्षापात्रलाई चिवर दान भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री-कपाल खौरने सामान, भित्री-बाहिरी कपडा, सियो-धागोलगायत आठ सामग्री हुन्छन् । अनुशासित र नियमपूर्वक तीन महिने वर्षाबास बस्ने भिक्षुलाई चिवर र भिक्षा पात्र प्रदान गरिन्छ ।
महोत्सवमा प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासंघका निवर्तमान अध्यक्ष मैत्री महास्थवीरबाट दीप प्रज्वलनसँगै शिल प्रार्थना, भिक्षु धर्मपालबाट बुद्ध पूजा, भिक्षु गौदन्य महास्थवीरले धर्मदेशना गर्नुभएको थियो । धर्मदेशना गर्दै महास्थवीरले गौतम बुद्धको उपदेश र उहाँले अनुमति दिएको ‘कथिन चिवर दान’का विषयमा जानकारी गराउनुभयो । उहाँले कठिन उत्सव धार्मिक उत्सव भएकाले यसमा सहभागी हुँदा भिक्षुमा शिल समाधि र प्रज्ञाको विकास हुने र नागरिकमा दान, शिल र भावनाको विकास हुने बताउनुभयो ।
महास्थवीरले एक वर्षमा एक दिन एकपटक मात्रै वर्षबासमा बसेका भिक्षुलाई लगाउने बस्त्रसहितका सामग्री दिन सकिने परम्परा भएकाले यसलाई कठिन दान भनिएको जानकारी गराउनुभयो ।
कार्यक्रमका संयोजक तथा आनन्द विहारका पूर्वअध्यक्ष उत्पलकुमार बज्राचार्यले तीन महिना एकै ठाउँमा नियमपूर्वक वर्षाबास बसेका भिक्षुलाई बसमापनको अवसरमा ‘कथिन चिवर दान’ दिने बौद्ध परम्परा रहेकाले सोही अनुसार चिवर दान गरिएको बताउनुभयो । उहाँले विगतमा पनि आफूहरूले यस्ता कार्यक्रम गर्ने गरेको बताउनुभयो ।
विहारका अध्यक्ष सञ्जयराज शाक्यले वर्षावास बस्नाले बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए-गरेका त्रुटि कमजोरीबाट पाप नलागी क्षमादान पाउने हुँदा भिक्षु-भिक्षुणी वर्षाबास बस्ने गरेको बताउनुभयो । लुम्बिनी, बुटवल, भैरहवा, पोखरा, धरान, थाइल्याण्ड, भारत, अछामबाट भिक्षुहरू तानसेन आएका थिए ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच