काठमाडौं । नेपाली क्रिकेट इतिहासमा अर्को ठूलो सफलता थपिएको छ । नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपका लागि छनोट भएको हो । सन् २०१४ मा पहिलोपटक टी-२० विश्वकप खेलेको नेपालले दश वर्षको प्रतीक्षापछि २०२४ मा दोस्रोपटक खेलेको थियो । तर, त्यसपछि भने नेपालले धेरै कुर्न नपर्ने भएको हो । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया-इएपी छनोटमार्फत् नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान पक्का गरेको हो ।
सन् २०१४ मा बंगलादेशमा टी-२० विश्वकपमा डेब्यु गरेपछि नेपाली क्रिकेटमा क्रान्ति सुरु भएको थियो र त्यसपछि नेपालले लगातार विश्वकप खेल्ने अनुमान थियो । तर, नेपालले सोचेअनुसार प्रदर्शन गर्न सकेन । पहिलोपटक विश्वकप खेलेपछि नेपालले दश वर्षपछि मात्र सन् २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा भएको टी-२० विश्वकपमार्फत् पुनरागमन गरेको थियो ।
बुधबार राती एसिया-इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा ओमानविरुद्ध खेल्नु केही घण्टाअगाडि नेपालले टी–२० विश्वकपको टिकट काटेको थियो ।
ओमानको मस्कटमा भइरहेको प्रतियोगिताका दुवै खेलमा आफूअनुकूल नतिजा आएपछि नेपाल र ओमान टी-२० विश्वकपमा छनोट भएका थिए । बेलुकी ओमानसँग भएको खेलमा ३८ रनको फराकिलो जित हासिल गर्दै आठ अंकसहित अपराजित नेपाल छनोटको शीर्षस्थानमा पनि पुगेको छ । च्याम्पियनसिप उपाधिको नजिक पुगेको नेपालले बाँकी एक खेल शुक्रबार सामाओसँग खेल्दैछ ।
बुधबार दिनको खेलमा कतारले जापानलाई ३ विकेट र युएईले सामाओलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमान लगातार दोस्रोपटक विश्वकपमा पुग्न सफल भएका थिए । सन् २०२३ मा काठमाडौंमा भएको एसिया छनोटबाट शीर्ष दुई स्थानमा रहँदै नेपाल र ओमान नै विश्वकपमा पुगेका थिए । त्यसपछि नेपालले सोमबार कतारलाई ५ रनले पराजित गरी टी-२० विश्वकप प्रवेशको औपचारिकतामात्र बाँकी राखेको थियो । यसअघि समूह चरणको खेलमा कुवेत र जापानलाई हराएर नेपाल दुई बोनस अंक लिएर सुपर सिक्समा पुगेको थियो ।
मस्कट त्यही स्थान हो, जहाँ नेपाल सन् २०२२ को टी-२० विश्वकपमा छनोट र डेढ वर्षअघि एसिसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा पराजित भएर क्रमशः टी-२० विश्वकप र एसिया कपमा पुग्न असफल भएको थियो । यी दुवै पटकमा नेपाल सेमिफाइनलमा युएईसँग पराजित भएको थियो । यसपल्ट त्यही युएईलाई सुपर सिक्सको पहिलो खेलमा १ रनले पराजित गरेपछि नेपाल टी-२० विश्वकप नजिक पुगेको थियो ।
टी-२० विश्वकप सन् २००७ देखि सुरु भएको हो । नेपालले २००७ देखि नै छनोट खेल्दै आएको छ । पहिलोपटक नेपालले बंगलादेशमा भएको टी-२० विश्वकपमा स्थान बनाउँदा कप्तानी जिम्मेवारी पारस खड्काले सम्हाल्नुभएको थियो । त्यसको १० वर्षपछि सन् २०२४ मा विश्वकप खेल्दा भने रोहितले नै नेपाली टिमको नेतृत्व हाँक्नुभएको थियो ।
फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा २० राष्ट्र सम्मिलित आइसिसी टी-२० विश्वकपको १०औँ संस्करण आयोजना हुँदैछ । नेपाल र ओमान यस संस्करणका लागि छनोट हुने क्रमशः १८ र १९औँ राष्ट्र हो । भारत र श्रीलंका आयोजक राष्ट्र भएका कारण टी-२० विश्वकपमा सोझै छनोट भएका छन् । गत संस्करणको टी-२० विश्वकपबाट अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका, वेष्ट इण्डिज तथा आइसिसी वरीयताबाट आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तानले भारत र श्रीलंकामा हुने ग्लोबल इभेन्टमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए । क्षेत्रीय छनोटमा अमेरिकी क्षेत्रबाट क्यानडा, युरोपबाट नेदरल्याण्ड्स र इटाली तथा अफ्रिकाबाट जिम्बावे र नामिबिया यस टी-२० विश्वकपमा पुगेका थिए ।
छनोट हुँदाको खुसी शब्दमा बयान गर्न सक्दिनँ : कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले लगातार दोस्रोपटक टी-२० विश्वकप खेल्ने सपना पूरा भएको र यसलाई शब्दमा बयान गर्न नसक्ने बताउनुभयो । अब क्वालिफायरको ट्रफी जित्ने लक्ष्य रहेको र विश्वकपमा अझ राम्रो खेल्ने उहाँले बताउनुभयो । ‘हामीले झण्डै एक वर्षदेखि यो सपना देखेका थियौं, आज पूरा भएको छ, यसलाई म शब्दमा बयान गर्न सक्दिनँ,’ उहाँले भन्नुभयो, ‘यो क्षणले टिमलाई नै खुसी बनाएको छ । यो सफलतमा खेलाडीदेखि अफिसियल सबैको महत्वपूर्ण भूमिका छ, सबैजनालाई धन्यवाद । अब हाम्रो लक्ष्य भनेको क्वालिफायर च्याम्पियन बन्ने हो । ओमानसँग खेल्नुअगाडि नै हामीलाई विश्वकपमा पुगिसकेको थाहा भएको थियो । तर, हामी उपाधिका लागि खेलिरहेका थियौं ।’
आइसिसी वरीयतामा एक स्थान माथि उक्लियो नेपाल
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)द्वारा घोषित पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । नेपाली टोलीले लामो समयपछि आइसिसी वरीयतामा प्रगति गरेको हो । पछिल्लो आइसिसी पुरुष टी-२० वरीयतामा नेपाली टोली १७औँ स्थानमा छ । अघिल्लो वरीयतामा नेपाली टोली १८औँ स्थानमा थियो । पछिल्लो वरीयतामा अमेरिका एक स्थान तल खस्किएको छ । नयाँ वरीयतामा अमेरिका १८औँ स्थानमा पुगेको छ । नेपाली टोलीले पछिल्लो समय टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच