चितवन । शिक्षक, शिक्षाविद्, समाजसेवी र राजनीतिज्ञ- यी चार शब्दमा जगदीश्वर खनालको परिचय समेट्न सकिन्छ । तर, उहाँको जीवन केवल यतिमात्र थिएन । शिक्षा र समाजलाई निरन्तर उज्यालो दिने दीपशिखा बन्नु भयो, र अन्ततः त्यो दीपशिखा २०८२ असोज १९ गते साँझ निभ्यो । चितवनको शैक्षिक क्षेत्रमा एउटा दृढ नेतृत्व, सादगी र प्रेरणाको प्रतीक बन्नुभएका बालकुमारी क्याम्पस, नारायणगढका क्याम्पस प्रमुख जगदीश्वर खनाल अब हामीबीच हुनुहुन्न । फोक्सोको क्यान्सरको लामो उपचारपछि उहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा निधन भएको हो । उहाँको असामयिक निधनले चितवनको शैक्षिक, सामाजिक र राजनीतिक वृतमा गहिरो शोक र रिक्तता छाएको छ ।
शिक्षामा जीवन अर्पण
विसं २०२२ साल माघ ५ गते तनहुँको चुँदीमा जन्मनुभएका खनालले बाल्यकालदेखि नै अध्ययन र शिक्षाको मूल्य बुझ्नुभएको थियो । मामाघरका हजुरबुवा र हजुरआमाको सानिध्यमा हुर्किँदै उहाँले त्रिभुवन मावि मानेचौका हुँदै विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरबाट स्नातक र त्रिवि केन्द्रीय विभाग, काठमाडौंबाट अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गर्नुभयो । शिक्षण यात्रा धरमपानीस्थित हुस्लाङ माध्यमिक विद्यालय, तनहुँबाट सुरु भयो । त्यसपछि उहाँको अध्यापनयात्रा चितवनका प्रमुख शिक्षण संस्थाहरू : वीरेन्द्र बहुमुखी क्याम्पस, मैयादेवी कन्या कलेज हुँदै बालकुमारी क्याम्पस, नारायणगढमा स्थिर भयो ।
बालकुमारी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.सुशील घिमिरे भन्नुहुन्छ, ‘खनाल सरको ढोका सधैं विद्यार्थीका लागि खुला हुन्थ्यो । उहाँ निर्देशन होइन, प्रेरणा दिनुहुन्थ्यो । सादगी र समर्पण उहाँको पहिचान थियो ।’ उहाँको नेतृत्वमा बालकुमारी क्याम्पसले शैक्षिक गुणस्तर, अनुसन्धान, र विद्यार्थीमैत्री वातावरणमा उल्लेखनीय सुधार ल्याएको छ । उहाँका सहकर्मीहरू भन्नुहुन्छ, ‘खनाल सर रहुञ्जेल कलेजले सधैं अनुशासन र आत्मीयताको मिसाल कायम ग¥यो ।’
संघर्ष र नेतृत्वको यात्रा
विद्यार्थी जीवनदेखि नै शिक्षा र शिक्षक अधिकारका पक्षमा सक्रिय रहनुभएका खनाल २०७५ सालमा नेपाल शिक्षक महासंघ, चितवनका अध्यक्ष बन्नुभयो । त्यसपछि उहाँले २०७९ देखि २०८१ सम्म महासंघका केन्द्रीय उपमहासचिवका रूपमा नेतृत्व गर्नुभयो । शिक्षकको मर्यादा, शैक्षिक सुधार र पेशागत अधिकारका लागि उहाँको आवाज सधैं निडर र सुस्पष्ट रह्यो ।
समाजसेवामा पनि उस्तै समर्पण
शिक्षामात्रै होइन, समाजप्रति पनि उहाँको योगदान उत्तिकै गहिरो थियो । उहाँ नेपाल रेडक्रस सोसाइटी, अरोमा एजुकेशन बोर्ड, एशिया एजुकेशन बोर्ड, नवचितवन बचत तथा ऋण सहकारी संस्था, र भरतपुर सामुदायिक अस्पताल लगायतका संस्थामा सक्रिय रहनुभयो । यसैगरी उहाँ प्रजातन्त्रिक विचार समाजको केन्द्रीय सदस्यसमेत हनुुहुन्थ्यो । राजनीतिसँगै समाजसेवामा क्रियाशील उहाँको एउटा स्थायी बानी थियो, ‘जसरी विद्यार्थीलाई ज्ञान बाँडिनुहुन्थ्यो, त्यस्तै सहानुभूति र सहयोग पनि बाँडिनुहुन्थ्यो ।’ जगदीश्वर खनाल अब भौतिक रूपमा हामीसँग हुनुहुन्न तर उहाँले जगाएको शिक्षा, सेवा र सादगीको भावना चितवनको हरेक कक्षा र कलेजमा अझै जीवित रहनेछ । उहाँका श्रीमती एक छोरा र एक छोरी हुनुहुन्छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…