काठमाडौं । मुक्तककार गोपीकृष्ण थापाको ‘स्पन्दित मन’ मुक्तकसंग्रह लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको १९औं वार्षिक साधारणसभाको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, विशिष्ट अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, समाजका संरक्षक पवन आलोक, सल्लाहकारहरू वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, प्राडा.लक्ष्मणप्रसाद गौतम, पूर्वअध्यक्ष विधान आचार्यलगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा भएको लोकार्पण कार्यक्रममा साहित्यिक पत्रकारहरू नगेन्द्रराज शर्मा, रोचक घिमिरेलगायत समाजका संरक्षक, सल्लाहकारहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको कार्यक्रममा मुक्तककार थापाले लेखकीय मन्तव्य प्रस्तुत गर्नुभएको थियो । लोकार्पित कृतिबारे डा.शान्तिमाया गिरीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । मुक्तककार थापाले जीवन भोगाइका सुख-दुःख मुक्तकको माध्यमबाट सुन्दर रूपमा प्रस्तुत गरेको डा.गिरीले बताउनुभयो । उहाँले सचित्र मुक्तकले कृतिको ओज थपेको पनि बताउनुभयो ।
त्यस्तै साहित्यकार विधान आचार्यले मुक्तक लेख्न सहज नभए पनि मुक्तकार थापाले सुन्दर मुक्तक लेख्न सफल भएको भन्दै बधाई दिनुभयो । मधु पाठक चलाएको कार्यक्रममा समाजका सचिव प्रकाश घायलले सांगठनिक प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष तारा सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्राडा.लक्ष्मणप्रसाद गौतमले समाजले आफ्नै छुट्टै पहिचान बनाउन सकेको धारणा राख्नुभयो । रञ्जना निरौलाले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रममा नाट्यकर्मी अशेष मल्लले नेपाल स्रष्टा समाजले नेपाली साहित्यमा उल्लेख्य काम गरेको बताउनुभयो । उहाँले संस्थालाई शुभकामना दिँदै एआई युगमा चुनौती सामना गर्दै सबै स्रष्टाले गुणात्मक काम गर्दै जानुपर्नेमा जोड दिनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच