काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले पार्टीमा नेतृत्व परिवर्तनको आवश्यकता नरहेको बताउनुभएको छ।
दशौँ केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमार्फत बस्नेतले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टीलाई अझ सुदृढ, अनुशासित र एकताबद्ध बनाउँदै अघि बढाउनुपर्ने धारणा राख्नुभएको हो।
उहाँले भन्नुभयो, “संवेदनशील र जटिल समयमा पार्टीको स्थायित्व र कार्यदिशा सुनिश्चित गर्न अध्यक्ष कमरेड केपी ओलीलाई पोखरामा हुने ११औँ महाधिवेशनमा एक कार्यकालका लागि सर्वसम्मत रूपमा समर्थन गर्नु उपयुक्त हुन्छ।”
बस्नेतले विद्या भण्डारीलगायतका नेताहरूलाई वैकल्पिक नेतृत्वका रूपमा अगाडि सार्ने प्रयासले पार्टीभित्र अनावश्यक अन्तद्वन्द्व बढाउने चेतावनी दिनुभयो। उहाँका अनुसार अहिले पार्टीलाई सुदृढ बनाउनेतर्फ ध्यान दिनु आवश्यक छ।
प्रतिवेदनमा बस्नेतले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’लाई अन्तर्राष्ट्रिय शक्तिद्वारा प्रेरित योजनाबद्ध आक्रमणको रूपमा व्याख्या गर्नुभएको छ। उहाँका अनुसार उक्त आन्दोलनको उद्देश्य राष्ट्र, संविधान, समृद्धि र लोकतन्त्रमाथि प्रहार गर्नु थियो, जसमा नेकपा (एमाले) प्रत्यक्ष रूपमा लक्ष्य बनाइएको थियो।
“हाम्रो अध्ययनले देखाउँछ-यस्ता आन्दोलनहरू ११ देशमा भइसकेका छन्, जहाँ एउटै प्रतीक, एउटै एप्समार्फत योजना र एउटै किसिमका नेटवर्कहरू सक्रिय छन्,” उहाँको भनाइ थियाे।
बस्नेतले आन्दोलनको नाममा गरिएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउनुपर्ने, असंवैधानिक रूपमा बनेको वर्तमान सरकारले राष्ट्रको स्थायित्व कमजोर बनाइरहेको भन्दै प्रतिरोधात्मक जनआन्दोलनको तयारी गर्नुपर्ने सुझाव दिनुभएको छ।
उहाँले पार्टीभित्र निष्क्रिय र प्रभावहीन पदाधिकारीहरूको पुनर्मूल्यांकन गरी कमिटी पुनर्गठन गर्नुपर्ने, ‘जेनजी आन्दोलनमा मलजल गर्ने’ कार्यकर्ताहरूमाथि अनुशासनको कठोर कारबाही गर्नुपर्ने पनि उल्लेख गर्नुभएको छ।
बस्नेतले लोकतन्त्र, संविधान र राष्ट्रियता रक्षा गर्न अन्य लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “देशमाथि, एमालेमाथि र हाम्रो पार्टी अध्यक्षमाथि प्रहार हुँदा हामी ढाल भएर उभियौं, अब त्यसको प्रतिफल जनताले बुझेका छन्।”
उहाँले अध्यक्ष ओलीद्वारा प्रस्तुत विशेष प्रतिवेदनलाई पूर्ण समर्थन जनाउँदै सर्वसम्मत पारित गर्न आग्रह गर्नुभएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच