ब्रसिलिया । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको लक्ष्य स्पष्ट छ, आगामी विश्वकपमा टोलीलाई उपाधि दिलाउने । जापानविरुद्धको हारपछि आलोचना खेपिरहनुभएका एन्सेलोटी अहिले पनि नतिजाभन्दा तयारीमा केन्द्रित हुनुहुन्छ । उहाँका अनुसार उहाँको एकमात्र सपना २०२६ जुलाई १९ मा मेटलाइफ स्टेडियममा विश्वकप ट्रफी ब्राजिलको तर्फबाट उचाल्नु हो ।
रियो फर्किएपछि एक अन्तर्वार्तामा बोल्दै एन्सेलोटीले भन्नुभयो, ‘ब्राजिल फुटबलमा हारको ठाउँ छैन । विश्वकप सुरु हुनुअघि हामी पूर्णरूपमा तयार हुनेछौं भन्नेमा म समर्थकहरूलाई वाचा गर्छु । हामी त्यहाँ ट्रफी जित्नकै लागि जानेछौं ।’
२००२ को जापान–दक्षिण कोरिया विश्वकपपछि ब्राजिलले विश्वकप उपाधि जित्न सकेको छैन । कप्तान काफुले ट्रफी उचालेको २३ वर्ष बितिसक्दा पनि ब्राजिलले त्यसपछिका संस्करणहरूमा फाइनलसम्म पुग्न सकेको छैन ।
इतिहासमै पहिलोपटक विदेशी प्रशिक्षकको जिम्मा पाएको ब्राजिल टिमले एन्सेलोटीको नेतृत्वमा अहिलेसम्म तीन खेल जितेको, एक बराबरी र दुई हार बेहोरेको छ । पछिल्लो ३-० को जापानविरुद्धको हारले समर्थक निराश भए पनि एन्सेलोटी त्यसलाई तयारीको हिस्सा ठान्नुहुन्छ । ‘मैत्रीपूर्ण खेलहरू हाम्रो परीक्षणका लागि हुन् । वास्तविक लक्ष्य विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नु हो,’ उहाँले भन्नुभयो ।
रियल मड्रिडका पूर्वप्रशिक्षक एन्सेलोटीका लागि ब्राजिलको प्रशिक्षक बन्नु नै जीवनको सपना थियो । ‘सिबिएफले दिएको यो अवसर असाधारण हो । अब त्यो विश्वासको प्रतिफल दिने समय आएको छ,’ उउहाँले भन्नुभयो, ‘म ब्राजिललाई विश्वकप ट्रफी दिलाउन चाहन्छु ।’ संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा हुने आगामी विश्वकपमा ३२ होइन, ४८ टोली सहभागी हुनेछन् । एन्सेलोटीका अनुसार यसले फुटबलको दायरा अझ फराकिलो बनाउनेछ ।
अहिले उहाँ अन्तर्राष्ट्रिय ब्रेकको समयमा पनि तयारीमै व्यस्त छन् । उहाँले विश्वकपका खेल मैदानहरू निरीक्षण गर्ने र टोलीको प्रशिक्षण रणनीति तय गर्ने तयारी गरिरहनुभएको छ । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच