नेपाली चलचित्र क्षेत्रमा महिलाको उपस्थिति विस्तारै बढ्दै गएको छ । तर, अझै पनि एक्सन निर्देशनजस्तो शारीरिक र मानसिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा महिलाको प्रतिनिधित्व दुर्लभ छ । यस अपवादलाई तोड्दै किरण दाहाल नेपाली चलचित्र क्षेत्रमा एक्सन निर्देशकका रूपमा विशेष स्थान बनाउन सफल हुनुभएको छ । उहाँले चलचित्र ‘सारंक’, ‘तरंग’, ‘कुइनेटो’, ‘अगापे प्रेम’, ‘बाह्रमासे’, ‘पसले’, ‘चिठ्ठी’ ‘नमेटिने घाउ’ जस्ता एक दर्जन जति चलचित्रमा एक्सन निर्देशन गरिसक्नुभएको छ । किरणको यात्रा सजिलो भने कहिल्यै थिएन । तर, उहाँ दृढ इच्छाा, कठोर मिहिनेत र आत्मविश्वासका साथ नेपाली सिनेमाको पर्दामा महिलाको उपस्थिति एक फरक कोणबाट स्थापित गर्न सफल हुनुभएको छ । हालै उहाँको एक्सन निर्देशन रहेको चलचित्र ‘कुमुदे हिँड्यो हिरो बन्न’को छायांकन सकिएको छ । उहाँका बुबा आर्मीमा हुनुहुन्थ्यो । त्यसको छाप किरणमा पनि पर्यो । उहाँ आर्मीमा जाने भनेर पहिलैदेखि कराँते सिक्नुभएको थियो । तर, उहाँलाई आर्मीले लिएन । त्यसपछि आफूलाई थप पोख्त पार्न उहाँ काठमाडौं आउनुभयो र कला क्षेत्रतर्फ मोडिनुभयो । सर्लाहीबाट २०५८ सालमा एसएलसी दिएपछि काठमाडौं आउनुभएकी उहाँ यतिबेला द्वन्द्व निर्देशकका रूपमा आफ्नो परिचयलाई थप अग्ल्याइरहनुभएको छ । महिला भएर पुरुषहरूले भरिएको फाइट ग्रुपमा उभिनु, निर्देशन गर्नु र नाम कमाउनु सहज पक्कै थिएन । यस्तै चुनौतीको बीच बाटो कोर्दै आउनुभयो किरण । सर्लाहीको लालबन्दीबाट काठमाडौंको रंगशाला हुँदै ‘लुट’ जस्ता चलचित्रको सहायक द्वन्द्व निर्देशन अनि ‘सारंक’बाट पहिलो महिला द्वन्द्व निर्देशकको परिचय बनाउनुभएकी किरण दाहालसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
रंगशालाबाट तपाईंको द्वन्द्व निर्देशनको यात्रा कसरी सुरु भयो ?
रंगशालामा कराँते सिक्दै गर्दा म मेरा गुरुहरूलाई मलाई पनि काममा लैजानु न भन्थेँ । तर, त्यतिबेलाको समाज यस्तो थियो, जसमा पुरुष गुरुहरूले महिलालाई सिकाइरहेका छन् भन्ने कुरा पनि आलोचित हुन्थ्यो । त्यसैले गुरुहरू आफैं डराउँथे । मलाई त्यो बेला साह्रै गाह्रो लाग्थ्यो । कहिलेकाहीँ त मलाई छोरी भएर किन जन्मिएछु भन्ने पनि लाग्थ्यो । सुरुमा त मेरो आत्मबल कमजोर थियो तर मैले योगेन्द्र श्रेष्ठ सरलाई भेटेँ । उहाँलाई चलचित्रमा काम गर्ने इच्छा सुनाएँ अनि उहाँसँगै स्टार एकेडेमीमा तीन वर्ष द्वन्द्व निर्देशन सिकेँ । म ३० जना केटाबीच एक्ली महिला थिएँ । तर, म पछि हटिनँ । पछि त मैले त्यही एकेडेमीमा सिकाउन पनि थालेँ ।
नेपाली चलचित्र क्षेत्रमा एक्सन निर्देशनको क्षेत्रमा एक विशेष स्थान बनाउने पहिलो महिला हुनुहुन्छ किरण दाहाल । सात वर्षसम्म सहायक द्वन्द्व निर्देशकका रूपमा काम गर्नुभयो उहाँले । चलचित्र ‘लुट’, ‘छड्के’, ‘पुन्टे परेड’ जस्ता चलचित्रहरूमा सहायकको भूमिका निभाउनुभएकी दाहाल २०७४ सालमा चलचित्र ‘सारंक’मार्फत् मुख्य द्वन्द्व निर्देशकका रूपमा आफूलाई उभ्याउनुभयो । उहाँले चलचित्र ‘तरंग’, ‘कुइनेटो’, ‘अगापे प्रेम’, ‘बाह्रमासे’, ‘पसले’, ‘चिठ्ठी’ ‘नमेटिने घाउ’ जस्ता एक दर्जन जति चलचित्रमा एक्सन निर्देशन गरिसक्नुभएको छ । दृढ इच्छा, कठोर मिहिनेत र आत्मविश्वासका साथ नेपाली सिनेमाको पर्दामा महिलाको उपस्थिति एक फरक कोणबाट स्थापित गर्न सफल हुनुभएको छ किरण ।
पर्दामा देखिएका ठूला कलाकारलाई सिकाउँदा कस्तो अनुभव भयो ? डर लाग्दैनथ्यो ?
सुरुमा त डर लाग्थ्यो । सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठजस्ता कलाकारलाई क्लास लिनु सजिलो थिएन । तर, विस्तारै म आफैं पनि ढुक्क हुन थालेँ । मैले दुई वर्षभन्दा बढी समय कलाकारहरूलाई द्वन्द्व सिकाएँ तर अझै पनि फिल्ममा आफैं निर्देशन गर्ने मौका भने पाएकी थिइनँ ।
तपाईंलाई द्वन्द्व निर्देशनतिर लाग्न प्रेरणा कसरी मिल्यो ?
मेरो मूल उद्देश्य त आर्मीमा जाने थियो, त्यसैको तयारी स्वरूप कराँते सिकेकी थिएँ । तर, आर्मीमा छनोट नहुँदा आफूलाई अझ पोख्त बनाउने सोचले काठमाडौं आएँ । यहाँ आएपछि संयोगवश योगेन्द्र श्रेष्ठ र मुकुन्द थापासँग भेट भयो । उहाँहरू चलचित्रमा द्वन्द्व निर्देशन गर्नुहुन्छ भन्ने थाहा पाएपछि मेरो पनि चासो बढ्यो । त्यहीँबाट मेरो यात्रा सुरु भयो ।
तपाईं नेपाली चलचित्र क्षेत्रको पहिलो महिला द्वन्द्व निर्देशक बन्नुभयो । सुरुवात कति चुनौतीपूर्ण रह्यो ?
निकै गाह्रो थियो । पुरुषहरूले भरिएको क्षेत्रमा महिला भएर आफूलाई स्थापित गर्नु सजिलो थिएन । धेरैले केटी मान्छेले द्वन्द्व निर्देशन गर्न सक्छ ? भनेर प्रश्न गर्थे । सुरुवातमा न घरको साथ थियो, न समाजको समर्थन । तर, म दृढ थिएँ । मेरो कामले नै जवाफ दिन्छ भन्ने सोचले अघि बढेँ ।
चलचित्र क्षेत्रमा महिला द्वन्द्व निर्देशकका रूपमा स्थापित हुने यात्रा कति लामो रह्यो ?
सात वर्षसम्म सहायक द्वन्द्व निर्देशकका रूपमा काम गरेँ । ‘लुट’, ‘छड्के’, ‘पुन्टे परेड’ जस्ता चलचित्रहरूमा सहायकको भूमिकामा थिएँ । अन्ततः २०७४ सालमा चलचित्र ‘सारंक’मार्फत् मुख्य द्वन्द्व निर्देशकको अवसर पाएँ । त्यो मेरो करिअरको टर्निङ पोइन्ट थियो ।
‘सारंक’बाट तपाईंले पहिलोपटक स्वतन्त्र द्वन्द्व निर्देशन गर्नुभयो । त्यो अनुभव कस्तो रह्यो ?
सुरुमा त ‘एक्सन कट’ भन्न पनि डर लाग्थ्यो । तर, योगेन्द्र सरले सिकाउनुभएको ज्ञान अनि आफ्नै अभ्यासले गर्दा म विस्तारै आत्मविश्वासी बनेँ ।
द्वन्द्व निर्देशनको सुरुवातमा तपाईंले आर्थिक र सामाजिक तवरमा कस्ता चुनौतीहरू भोग्नुभयो ?
सुरुमा तीन हजार तलबमा काम गर्थें । त्यसबाट एक हजार तिर्थेँ प्रशिक्षणका लागि । बाँकीले काठमाडौंमा बाँच्नुपथ्र्यो । घरबाट पनि त्यो बेला समर्थन थिएन । कराँते सिकेको भनेर बुबा-आमा वर्षौं बोल्नुभएन । समाजमा पनि केटीले यस्तो गर्छ भनेर हेप्ने सोच थियो ।
तपाईंको करिअरको एउटा अविस्मरणीय क्षण कुन हो ?
‘सारनकोट’ चलचित्रको क्लाइमेक्स दृश्य चोभारमा सुटिङ हुँदै थियो । त्यतिबेला अर्को चलचित्रको टिम महिला द्वन्द्व निर्देशकको भनेर हेर्न आयो । त्यो पल म कहिल्यै बिर्सन सक्दिनँ । त्यो गर्वको क्षण थियो ।
द्वन्द्व निर्देशनमा महिलाहरूलाई के-के चुनौतीहरू हुन्छन् ?
मुख्य चुनौती भनेकै मानसिकता हो । महिलालाई कमजोर ठान्ने प्रवृत्ति अझै छ । कतिपयले महिलालाई बाहिरी जिल्लामा सुटिङका लागि लैजान पनि चाहँदैनन् । कहिले यो काम महिलाले गर्न सक्दैन भन्ने सोचले बाँध्न खोजिन्छ । तर, अब त्यो सोच परिवर्तन हुनु जरूरी छ ।
चलचित्र क्षेत्रमा महिला निर्देशक बन्न चाहने नयाँ पुस्तालाई तपाईंको सुझाव के छ ?
सिकेर आउनुपर्छ । कराँतेजस्तो आधारभूत सीप चाहिन्छ । अझै पनि चुनौतीहरू छन् तर समय फेरिँदैछ । महिलाहरूले पनि एक्सन निर्देशनमा अवसर पाउन सक्छन् । आत्मविश्वास, लगनशीलता र समर्पण हुनु जरुरी छ ।
तपाईंले आफ्नो करिअरमा लिंग भेद पनि अनुभव गर्नुभयो ?
अवश्य । महिला हुँ भन्ने आधारमा कैयौंपटक अवसर गुमाउनुपर्यो । कतिपयले कामको मूल्यभन्दा पनि लिंग हेरेर निर्णय गरे । तर, म सधैं सोच्थेँ मेरो काम नै मेरो परिचय हो । अब भने समाजले अलि–अलि परिवर्तन स्वीकार गर्न थालेको देखिन्छ ।
अबका योजना र लक्ष्यहरू के छन् ?
म अझै धेरै फिल्ममा काम गर्न चाहन्छु । द्वन्द्व निर्देशनमा एक सफल नाम बन्ने सपना छ । साथै, भविष्यमा नयाँ पुस्तालाई पनि प्रशिक्षण दिन चाहन्छु । विशेष गरी महिलालाई, जसले यो क्षेत्र अझै चुनौतीपूर्ण ठान्छन् ।
तपाईं सर्लाहीको लालबन्दीमा जन्मिनुभएको हो, परिवारको साथ सुरुमा कस्तो थियो ?
म घरकी जेठी छोरी हुँ । सानैदेखि खेलकुदमा रुचि थियो तर परिवारबाट त्यति साथ पाइनँ । कराँते खेल्न छोड्नुप¥यो । पछि काठमाडौं आएपछि फेरि रंगशालामा सिक्न थालेँ । अहिले भने परिवारले पनि सकारात्मक रूपमा हेरिरहेका छन् ।
अन्तिममा, तपाईंका लागि सफलता के हो ?
सफलताका लागि अरूको मान्यता आवश्यक छैन, जब तपाईं आफूलाई चिन्दै जानुहुन्छ, आफ्ना सपनालाई पूरा गर्दै जानुहुन्छ, त्यही नै सफलता हो । म अहिले पनि सिक्दैछु, बढ्दैछु । यात्रा लामो छ तर म अघि बढिरहेकी छु ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच