मुनामदन !
नेपाली साहित्यको एउटा कोशेढुङ्गा, जसका रचयिता महाकवि लक्ष्मीप्रसाद देवकोटा ।
भ्याउरे लयमा रचित, नेपाली जनजीवनद्वारा अत्याधिक मनपराइएका यो रचनाका बारेमा अरू परिचय सुनिरहन कोही पनि बाध्य छैन । बस्, सत्य यही हो । यसबाहेक अर्को सत्य केही छैन ।
तर, यही ‘मुनामदन’जस्तो लोकप्रिय साहित्यका बारेमा जब-जब अलिक फरक ढङ्गका अर्थात् नकारात्मक किसिमका टीका- टिप्पणीहरू सुन्नमा आउँछन् त्यस्ता बेलामा तीप्रति चासो बढ्नु स्वाभाविक हुन जान्छ ।
जस्तो कि एउटा चासोको विषय, ‘मुनामदन मौलिक रचना होइन’ भन्ने धेरै जमघटहरूमा सुन्ने गरिएको वाक्य हो ।
तर, यसको वास्तविकता के हो ? के, ‘मुनामदन’को सत्यता हामीले मानिआएको भन्दा अर्कै छ ??
नेवारीको ‘सिन्हाज्या’ वा ‘असारे गीत’ पढ्दै गर्दा र महाकवि देवकोटाका मित्र सी.बी श्रेष्ठको भनाइलाई दृष्टिगत गर्दै गर्दा हठात् हामीले महाकवि देवकोटाद्वारा लिखित ‘मुनामदन’ पढ्यौँ भने केही क्षण हामी पक्कै पनि रनभुल्लमा पर्न सक्छौँ । कारण, ‘सिन्हाज्या’ र ‘मुनामदन’को कथावस्तु करिब–करिब समान लाग्छ हामीलाई ।
महाकवि देवकोटाका अनन्य मित्र सी.बी. श्रेष्ठ (चन्द्रबहादुर श्रेष्ठ) ले देवकोटाको संवेगात्मक विचारको उद्गार (अङ्ग्रेजी)मा लेखेका छन्- ‘‘नेवारी भाषा र साहित्यको विषयमा देवकोटा सरल/स्वाभाविक ढङ्गमा कुराकानी गर्दै थिए..., यस्तै बेला उनले मलाई अनायास प्रश्न गरे, ‘के नेवारी साहित्यमा यस्तो कुनै सरल/प्रचलित गीतिकाव्य पनि छन् त ?’ मैले भनेँ, ‘यस्ता गीतिकाव्य/कविता अनेकौँ छन् ।’ अनि यसैबेला मैले उनलाई ‘एक जना उदास व्यापारी र भर्खरै विवाहिता उनका दुलहीको कथा’ सुनाएँ । ती दुलहीले भर्खरै विवाहित आफना श्रीमान्लाई त्यो वर्ष ‘ल्हासा नपठाउनुहोस्’ भनी आफ्नी सासूसँग अनुनय–विनय गरिन् । तर, सासू आफ्ना छोरालाई ल्हासा पठाउनमा अडिग थिइन् ।
यसैले बुहारीको अनुनयप्रति उनले कुनै वास्तै नगरी सुन्या नसुन्यै गरिन् । भर्खरै विवाहित दुलहीका पति हृदयव्यथाकै मर्माहत पीडा लिएर, शोकाग्निमा डुबेकी दुलहीसँग छुट्टिएर ल्हासा गए । तर, ती यौवनाका लागि दुलाहासँग छुट्टिनुको मर्मान्तक व्यथा तिनको सहिष्णुताभन्दा बढी असह्य पीर थियो । यसैले तिनी हर रात आफ्नो आँसुको दहमा डुबिरहिन् । नवविवाहित दुलाहा कठोरतम् यात्रामा गएको देखेर तिनलाई अनिष्टकारी घटनाको सङ्केतको आभास भयो ।...
केही वर्षपश्चात् दुलाहाका उपद्र्याहा साथीहरूले (दुलाहा ल्हासामा जीवित हुँदाहुँदै पनि) तिनका पति त मरेछन् भनेर उपद्रवी खबर सुनाए । यस्तो दुःखद् तर झूठो खबरले तिनी हृदयविदारक अवस्थामा परी मरिन् ।...
यो दुःखद् हृदयविदारक गीतले देवकोटाको मुटुमा गहिरो प्रभाव पार्यो । यसैको प्रभावमा देवकोटाले आफ्नो एउटा नयाँ तर शिष्ट सुगम्य सर्वोत्कृष्ट ‘मुनामदन’को सिर्जना गरेका हुन् ।’ (-अनुवाद : वंशी श्रेष्ठ)
उपर्युक्त भनाइले ‘मुनामदन’ नेपालभाषाको लोकरचनाबाट प्रभावित रहेछ भन्ने सामान्यतयाः आधार खडा गर्न सक्छ । तथापि, त्यो लोकरचना कुन हो भन्ने जिज्ञासाको निरूपण नभई यो तथ्यलाई पुष्टि गर्न सकिन्न ।
अयले तिरि हाय ताकाल चोने मखु
दछि निदँ जक चोना वय न्हां
-सिन्हाज्या
ए मेरी प्रिया, म धेरै समय बस्दिनँ
एक दुई वर्ष मात्रै बसेर आउँछु है )
(अनुवाद : पूर्ण वैद्य)
Oh wife, I shall not stay long in Tibet
I shall returnasfter staying one or two years
(Trans: Siegfried Lienhard;"Songs of Nepal
म बीसै दिन बसूँला ह्लासा, बाटैमा बीसै दिन,
चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन,)
-मुनामदन
झा वगु पिला खुला दत लिसन मदुनि
-सिन्हाज्या
गएको चार छ महिना भइसक्यो, खबर केही छैन
(अनुवाद : पूर्ण वैद्य)
धेरै नै भयो, खबर केही आएन ह्लासाको
-मुनामदन
अयले माजु हाय सुथ न्हापां कवसि वना
क्वखन लाय बुया वन न्हां ।
-सिन्हाज्या
ए सासूमा, बिहान सबेरै कामैसीमा गएँ
कागले पनि चिच्याई चिच्याई कराएर गयो है)
(अनुवाद : पूर्ण वैद्य)
In the early morning I went,
oh mother, to the Kavasi
A crow fiew by and mocked
(Trans: Siegfried Lienhard;"Songs of Nepal")
कुतीमा यौटा पीपल ठूलो हावाले हल्लायो
हाँगामा आई कागले चुच्चो खोलेर करायो,...
अथवा
हाँगाको काग ओह्र्लेर आयो, नजिकै करायो,
नजर छड्के त्यो घाँटी कर्के गरेर करायो)
-मुनामदन
नेवार समुदाय आफ्नो संस्कृतिमा निकै धनी छ । नेपालका अन्य जनजातिको दाँजोमा सबैभन्दा धेरै चाडबाड र रीतिरिवाज रहेको उसको आफ्नै मौलिक संस्कृति छ । यही संस्कृतिअन्तर्गत धेरै प्रकारका लोकगीत एवम् लोकनाचहरू प्रचलनमा छन् । ‘राग सिन्हाज्या’एउटा त्यस्तै प्रचलित लोकसंस्कृति हो । ‘सिन्हाज्या’ (मरिमेटेर गरिने काम, अर्थात् रोपाइँ गरिने काम) को बेला यो ‘असारे गीत’ गाउने चलन छ । र, यो गीतको उत्पत्तिका बारे यस्तो तथ्य रहिआएको छ-
नेवारहरू स्वभावतः व्यापारव्यवसाय गर्ने वर्ग (जाति) हुन् । उहिले यो जाति आफ्नो व्यापारिक प्रयोजनका लागि खास गरेर भोट (ल्हासा/तिब्बत ) जान्थे । र, जाँदा पुरुषहरू मात्रै जान्थे । पुरुष जो विवाहिता हुन्थे ती आफ्नी पत्नीलाई घरमै छाडेर जाँदा पत्नी वियोगमा छटपटाउँथिन् । यही विषयमा आधारित छ ‘सिन्हाज्या’, जसको भाषालाई अध्ययन गर्दा ‘अढाइ–तीन सय वर्षअघि नै यसको रचना भएको सहजै अनुमान लगाउन सकिने’ प्राध्यापक नर्मदेश्वर प्रधानको मत छ ।
यही ‘असारे गीत’ पढ्दै गर्दा र महाकवि देवकोटाका मित्र सी.वी श्रेष्ठको भनाइलाई दृष्टिगत गर्दै गर्दा हठात् हामीले महाकवि देवकोटाद्वारा लिखित ‘मुनामदन’ पढ्यौँ भने केही क्षण हामी पक्कै पनि रनभुल्लमा पर्न सक्छौँ । कारण, ‘सिन्हाज्या’ र ‘मुनामदन’को कथावस्तु करिब-करिब समान लाग्छ हामीलाई । ‘सिन्हाज्या’ र ‘मुनामदन’का मूलपात्र तीन जना छन्- आमा, छोरा र बुहारी । दुवैको कथावस्तुमा, छोरा ल्हासा (भोट) जान्छन् । आफ्ना पति जाने बेला (विछोड हुने बेला) को उसकी पत्नीको विरह एउटै छ, उनी आफ्ना पतिलाई नजानका लागि अनेक अनुनय (सासूमार्फतबाट समेत) गर्छिन् । पति ‘केही समय बसेर फर्किहाल्छु’ भन्छ । यतिसम्म कि, पति ल्हासामा भएको बखत यता काग कराएर अशुभ सङ्केत दिएको वर्णनसमेत दुवै रचनामा समावेस छ ।
नेवारजातिको खास वर्ग विशेषमात्रै व्यापार गरेर सम्पत्ति आर्जन गर्ने प्रयोजनले भोट जाने गर्थे । ऐतिहासिक लेखोटहरूले यही तथ्यलाई पुष्टि गर्छन्, अन्य जातजातिहरू व्यापार गर्न भोट जाँदैनथे । जब कि ‘मुनामदन’का मदन सुनका दुई थैला बोकेर भोटबाट फर्कन्छन् र बाटैमा बिरामी पर्छन् तब उनीसँगै आएका उनका साथीहरू जङ्गलबीचमै उनलाई अलपत्र छाडिदिन्छन् ।
त्यसो त, दुई सिर्जनाको अन्त्य नितान्त भिन्न छ । ‘सिन्हाज्या’मा पतिको निधनपछि पत्नी सती जान लागेको प्रसङ्ग छ भने ‘मुनामदन’मा मदन जिउँदै घर फर्कन्छ । (हुन त ‘मुनामदन’मा पनि मदन मरेको झुटो खबरको चर्चा छ ।)
वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्-‘जोकोही व्यक्ति कुनै पनि समाजका मार्मिक विषयबाट प्रभावित हुन्छ नै । त्यसमाथि, कविहृदयको संवेदनशील व्यक्ति एक युगल जोडीको वियोगमा प्रभावित हुनु स्वाभाविक छ । देवकोटा पनि प्रभावित भए । यो कुनै असामान्य विषय भएन ।’ जोशी प्रश्न गर्छन्, ‘के कुनै पनि विषय कसैको पेवा हुन्छ र ? देवकोटाले पनि लेखे, आफ्नै भाकामा लेखे, जुन नेपाली साहित्यमा अत्यन्त लोकप्रिय भयो । कुरा यत्ति मात्रै हो कि, देवकोटाले आफू प्रभावित भएको त्यो स्रोत बताइदिएका भए आज आएर मुनामदनप्रति यस्तो प्रश्न उठ्नुपर्ने ठाउँ रहने थिएन ।’
सन्दर्भवसः ‘मुनामदन’कै संरचनाको विषयमा सत्यमोहन जोशी थप्छन्, ‘बरु प्रश्नै उठ्ने हो भने मुनामदनको कथावस्तुका जुन पात्रहरू छन् त्यसमा पो उठ्नुपर्ने जस्तो लाग्छ मलाई ।’
- ‘किन ??’
रहस्य बडो रोमाञ्चक छ ।
नेवारजातिको खास वर्गविशेष मात्रै व्यापार गरेर सम्पत्ति आर्जन गर्ने प्रयोजनले भोट जाने गर्थे । ऐतिहासिक लेखोटहरूले यही तथ्यलाई पुष्टि गर्छन्, अन्य जातजातिहरू व्यापार गर्न भोट जाँदैनथे । जब कि ‘मुनामदन’का मदन सुनका दुई थैला बोकेर भोटबाट फर्कन्छन् र बाटैमा बिरामी पर्छन् तब उनीसँगै आएका उनका साथीहरू जङ्गलबीचमै उनलाई अलपत्र छाडिदिन्छन् । त्यस्तो विपत्तिको बेला मदन आमालाई सम्झन्छन्, मुनालाई सम्झन्छन्, ईश्वरलाई पुकार्छन् । बाँच्ने लालसा लिएर रुन्छन्, चिच्याउँछन् । ठीक त्यसैबखत मानवीय धर्म भएका शेर्पाजातिका एक व्यक्तिले उनलाई मद्दत गर्छन् । बदलामा मदनको उद्गार यस्तो रहन्छ-
क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन
यिनै दुई पङ्क्ति नै वास्तवमा ‘मुनामदन’ मुटु हुन् । र, यिनै दुई पङ्क्रि नै मानवतावादको साँच्चो सन्देश हुन् । र, यिनै दुई पङ्क्तिले मान्छेका स्वभाव बिर्सेकालाई वास्तविक मान्छे हुन सिकाउँछन् ।
तर, जहाँसम्म ‘मुनामदन’ काव्यको प्रसङ्गमा यी पङ्क्ति उद्गार गर्ने पात्रलाई हामी ‘मुनामदन’मा भेट्छौँ त ‘सिन्हाज्या’ थाहा हुने व्यक्ति वा भोटसँग नेवार समुदायको विशेष वर्गको मात्रै व्यापारिक सम्बन्ध थियो भन्ने तथ्य थाहा पाउने जो कोही व्यक्ति आश्चर्यचकित हुन पुग्छ । किनकि, ‘मुनामदन’का मदन ‘क्षेत्रीका छोरा’ भनेर स्पष्टै स्वयम् बोलेका छन् । त्यसैले यहाँनिर ‘मुनामदन’को संरचनाप्रति प्रश्न उठ्नु स्वाभाविक छ । कथाको विषयवस्तु एउटा जातविशेषमा केन्द्रित छ तर मूलपात्र भने अर्कै जातका बनेर उपस्थित हुन्छन् । के यो आफैँमा विरोधाभास छैन र ?
यो जिज्ञासा राखिनु महाकवि देवकोटा वा लोकप्रिय ‘मुनामदन’प्रति विवाद खडा गर्ने आशय किञ्चित होइन । र, यसरी प्रश्न उठाइँदा उनको व्यक्तित्वमा रत्तिभर पनि कमी आउँछ भन्नेमा कदापि विश्वास गर्न सकिन्न । देवकोटा त चुम्बक थिए र हुन्, फलामकै । घोटेर जतिसुकै केवल फलाम मात्रै नै बनाउन खोजे पनि उनी चुम्बक नै रहिरहन्छन् । नेपाली साहित्यको सबैभन्दा आकर्षक चुम्बक । यसर्थ पनि, उनी र उनका कृतिप्रति आकर्षित भएकै कारण ‘मुनामदन’को कथावस्तुमाथि चासो रहनु अस्वाभाविक होइन । त्यसरी चासो राख्न खोज्नु त नेपाली साहित्यानुरागीको अधिकार पनि हो ।
लाग्छ, उनी यतिखेर जिउँदा हुँदा हुन् त उनी स्वयम्ले यस प्रकारका सयौँ-हजारौँ खुल्दुलीहरूका निरूपणका निमित्त धेरै घोरिइरहनु पर्दैनथ्यो होला ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच