परिचय
पत्रकार वसन्त पराजुलीको चौथो कृत्ति ‘बखान’ उपन्यास केवल एउटा पात्रको जीवनकथा होइन, नेपालकै सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणको साक्ष्य हो । गुरुङ समुदायका पात्र प्रजातन्त्र सेनानी बखानसिंह गुरुङको जीवनीमार्फत लेखकले नेपालको इतिहास, भूगोल, समाज, प्रकृति र प्रेमका अनेक तहहरू खोलेका छन् । यो उपन्यास इतिहास, जीवनी र आख्यानको त्रिकोणीय रूप हो-जसमा यथार्थ र कल्पनाको सन्तुलन मिलाएर नेपाली माटोको गन्ध भर्ने प्रयास गरिएको छ ।
इतिहास र भूगोलको गहिराइ
कथा बखानसिंहको मृत्यु संस्कार (अर्घु)बाट सुरु भई नाति चन्द्रध्वजले हजुरबुबाको सपना पूरा गर्ने संकल्पमा टुङ्गिन्छ । २००७ सालको क्रान्तिदेखि सत्र सालको शाही कदमसम्म, बन्दीपुरको ऐतिहासिक आन्दोलनदेखि चितवनको बस्ती विकाससम्म-यो उपन्यास नेपालकै राजनीतिक नक्सामा यात्रा गर्छ । चितवनको भूगोल उपन्यासको आत्मा हो । एक समय जङ्गल र मलेरियाको आतङ्क (औलोज्वरो) ले भरिएको यो भूभागमा मानिसले साहस र श्रमका साथ नयाँ जीवन बसाले । मलेरियाको नियन्त्रणका लागि अमेरिकी सरकारको सहयोगमा चितवनमा विशेष अभियान चलाइएको ऐतिहासिक तथ्यलाई लेखकले सजीव रूपमा समावेश गरेका छन् ।
‘बखान’ राजनीतिक इतिहासको जीवित दस्ताबेज हो । लेखक वसन्त पराजुलीले बखान सिंहको व्यक्तिगत जीवनलाई मात्र होइन, राजतन्त्र र प्रजातन्त्रबीचको सङ्घर्ष, दलभित्रको विघटन र जनआन्दोलनको आत्मालाई पनि समान संवेदनासँग चित्रित गरेका छन् । बीपी कोइरालाको नेतृत्वमा बनेको जननिर्वाचित सरकारलाई राजा महेन्द्रले २०१७ सालमा विघटन गरी पञ्चायती व्यवस्था लागु गरेको प्रसङ्ग उपन्यासमा सजीव रूपमा पुनस्र्मरण गरिएको छ ।
त्यो समय नै भरतपुर हेल्थ सेन्टर मलेरिया नियन्त्रणका उद्देश्यले स्थापना भएको हो- यस प्रसङ्गले लेखकको गहिरो अध्ययन, अनुसन्धान र यथार्थप्रेम देखाउँछ । यस्तै नारायणगढलाई व्यापारिक थलोको रूपमा विकास गर्न नेवार समुदायको भूमिका र उनीहरूको संस्कृतिलाई थोरै भए पनि जात्रामार्फत उजागर गर्ने प्रयास भएको छ । बन्दीपुरमा गरिएको आन्दोलनमा भानुभक्तको प्रसङ्गलाई लेखकले बढो चलाखीपूर्ण तरिकाले पस्केका छन् । त्यस्तै, राजा महेन्द्रकी रानीलाई गोली लागेपछि रात्रिकालीन हवाई सेवा सुरु गर्ने राजकीय आदेशको प्रसंगले इतिहासमा वास्तविकता र संवेदनाको समिश्रण ल्याएको छ ।
काठमाडौँदेखि नेपालगञ्जसम्म सुरु भएको पहिलो रात्रिकालीन हवाइसेवा केवल घटनामात्र होइन, नेपालको स्वास्थ्य र आपत्कालीन-सेवा इतिहासमा एक महत्वपूर्ण मोडको रूपमा प्रस्तुत गरिएको छ । यसैगरी, चितवन राष्ट्रिय निकुञ्जमा राजाहरूले विदेशी पाहुनालाई खुशी पार्न गरेको शिकार अभियानको प्रसङ्ग अत्यन्त प्रभावशाली छ । बाघ, गैँडा, भालु, मृग जस्ता वन्यजन्तु मारेको विवरणले त्यति बेलाको राजनीतिक अहंकार र प्रकृतिप्रतिको अवहेलनाको भयावह दृश्य प्रस्तुत गर्छ ।
यस प्रसङ्गले केवल आक्रोश होइन, भावुकता र आत्ममन्थन पनि जगाउँछ जहाँ राज्य-केन्द्रित सोच र प्रकृतिको पीडाबीचको सङ्घर्ष उजागर हुन्छ । उपरदाङगढीको प्रसङ्ग आउँदा लेखक हालसालै गएर आएपछि लेखिएको जस्तो भान हुन्छ तर सोमेश्वरगढी पुग्दा भने उही बेलाको बखानबा नै पुगेका हुन् कि भन्ने झल्को मेटाइदिन्छ । यी सबै घटनाले ‘बखान’ लाई इतिहासको पृष्ठसँग जोडेर, यथार्थ र कल्पनाको गहिरो संवाद बनाउँछन् ।
राजनीतिक चेतना र सङ्घर्षको चित्रण
‘बखान’ राजनीतिक इतिहासको जीवित दस्ताबेज हो । लेखक वसन्त पराजुलीले बखान सिंहको व्यक्तिगत जीवनलाई मात्र होइन, राजतन्त्र र प्रजातन्त्रबीचको सङ्घर्ष, दलभित्रको विघटन र जनआन्दोलनको आत्मालाई पनि समान संवेदनासँग चित्रित गरेका छन् । २०१७ सालमा बीपी कोइरालाको नेतृत्वमा बनेको जननिर्वाचित सरकारलाई राजा महेन्द्रले विघटन गरी पञ्चायती व्यवस्था लागू गरेको प्रसङ्ग उपन्यासमा सजीव रूपमा पुनःस्मरण गरिएको छ । त्यस घटनाले नेपाली जनताको आशा, विश्वास र स्वाधीनताको भावनामा कस्तो घाउ पुर्यायो भन्ने कुरा बखानसिंहको चरित्रबाट उजागर हुन्छ ।
यसैगरी २०१८ मा काङ्ग्रेसको नेतृत्वमा गरिएको सङ्घर्षमा भरतपुर कब्जा गरिएको प्रसङ्गलाई पनि बढो रोचकतरिकाले प्रस्तुत गरिएको छ । बखानसिंह कुनै काल्पनिक पात्र होइन, उनी राजनीतिक चेतना र आदर्शप्रतिको समर्पणको प्रतीक हुन् । बीपीको आग्रहमा सेनाको जागिर छोडेर प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिनु, तर पछि त्यही नेताबाट टिकट नपाउनु, पार्टीभित्रको विभाजन र विश्वासघातले निरास हुँदै अन्ततः पार्टी छोड्नु, यी प्रसङ्गहरूले नेपालको पार्टी राजनीति र नेतामुखी संरचनाको यथार्थ चित्र कोरेका छन् । बखानबाले आफ्नो सम्पत्ति, जीवन र परिवार सबै आहुति दिएका छन्, दुई छोराको बलिदानले कथा र पाठक दुवैलाई हल्लाउँछ तर यस्तो महान् योगदानपछि पनि पार्टीले उनलाई विस्मृतिमा फ्याँक्नु, राजनीतिक आन्दोलनले आफ्नै निष्ठावान सिपाहीलाई चिन्दैन भन्ने पीडा, उपन्यासको सबभन्दा गहिरो राजनीतिक–मानवीय त्रासदी हो ।
लेखकले यस पीडालाई केवल भावनात्मक रूपमा होइन, राजनीतिक व्यङ्ग्य र यथार्थको सन्तुलनमा प्रस्तुत गरेका छन् । राजाको शासनका बेला भएका विकासका काम, सडक, पुल, स्वास्थ्य केन्द्र, मलेरिया नियन्त्रण अभियान, चितवनको बस्ती विकासका लागि राप्तीदुन परियोजना यी सबैका सकारात्मक पक्षहरू पनि उपन्यासले बेवास्ता गरेको छैन तर ती सबै उपलब्धिहरू पनि जनताको स्वतन्त्रता कुण्ठित भएको सन्दर्भमा अधुरो देखिन्छन् । त्यसैले ‘बखान’ मा राजनीति केवल शासन-सत्ताको कथा होइन, जनताको बलिदान, नेताको स्वार्थ र राष्ट्रनिर्माणको अपूर्ण सपनाको कथा हो ।
बखानसिंहको चरित्रले बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद जस्ता नेताहरूको सङ्घर्षलाई सम्मान गर्छ तर त्यही आन्दोलनमा हराएका साधारण कार्यकर्ताको पीडा र उपेक्षा पनिउजागर गर्छ । यस अर्थमा ‘बखान’ केवल ऐतिहासिक वा सामाजिक उपन्यास होइन, यो राजनीतिक चेतनाको महागाथा हो, जसले राज्य, शक्ति र जनताको सम्बन्ध पुनर्परिभाषित गर्न खोज्छ ।
सांस्कृतिक र सामाजिक बहस
‘बखान’ उपन्यास गुरुङ समुदायलाई केन्द्रमा राख्छ, तर चितवनको विकासमा अन्य समुदायहरूको योगदान पनि उत्तिकै छ भन्ने कुरा समीक्षकको दृष्टिबाट उल्लेखनीय छ । थारु समुदायको सहयोग, उदारता र सहनशीलता लेखकले सुन्दर रूपमा उतारेका छन् ।
चित्रसारी मन्दिरको बारम्बार प्रयोगले चितवनको धार्मिक-सांस्कृतिक पहिचानको खोजलाई देखाउँछ । यद्यपि, अन्य धार्मिक धरोहरहरूको कम चर्चा र चित्रसारीको अत्यधिक जोडले अलि ‘द्विविधा’ बनाउने ठाउँ पनि छ । थारू समुदाय चित्रसारी र यसको धार्मिक महत्वसँग चितवनको इतिहास जोडिएको प्रसङ्ग आउँदा यसले चितवनलाई जीवन्तता दिएको अनुभूति भने उपन्यास पढ्दा गर्न सकिन्छ ।
प्रकृति र जीवनबीचको सम्बन्ध
‘बखान’ मा केवल मानिसका कथा छैनन्, प्रकृतिका पनि कथा छन् । जङ्गलमा गैँडा, हात्तीलगायत जनावरहरूको रतिक्रीडाको प्रसङ्ग लेखकको दृष्टिले कामुकता होइन, जीवनशक्ति र सृष्टिको निरन्तरताको प्रतीक हो । गैँडा, हात्ती, नदी, माटो र बस्ती-यी सबै पात्र झैँ छन् जसले मानव सभ्यताको पृष्ठभूमि निर्माण गर्छन् । यसरी लेखकले प्रकृति र मानवबीचको सह-अस्तित्वलाई उजागर गर्दै, वातावरणीय चेतनालाई कलात्मक रूपमा पस्केका छन् । थारू समुदायको जङ्गल-जीवन, बस्ती बसाउनेहरूको सङ्घर्ष र प्रकृतिसँगको आत्मीय सम्बन्ध—यी सबैले उपन्यासलाई स्थानीय र राष्ट्रिय दुवै तहमा अर्थपूर्ण बनाएका छन् ।
महिलावादी दृष्टिकोणबाट ‘बखान’
‘बखान’ का महिलाहरू सधैँ कथाको केन्द्रमा नभए पनि, उनीहरूको मौन उपस्थितिले कथालाई गहिरो अर्थ दिन्छ । मैयादेवी श्रेष्ठ, जो आफ्नो उम्मेदवारी त्यागेर पुरुष सहकर्मीको समर्थन गर्छिन्-त्यस प्रसङ्गले तत्कालीन राजनीतिक परिवेशमा महिलाको अदृश्य योगदान र नेतृत्व सम्भावना उजागर गर्छ । लेखकले यस प्रसङ्गलाई विस्तृत रूपमा अघि नबढाए पनि त्यसले महिलाको सह-सङ्घर्षको चेतना जगाउँछ ।
बखानसिंहकी श्रीमती विष्णुकुमारी र कान्छी बुहारी, यी पात्रहरू केवल घर सम्हाल्ने होइनन्, आवश्यक पर्दा सेनासँग भिड्ने र आफ्ना घर-अभिमानको रक्षाका लागि उभिने साहसी नारी हुन् । कान्छी बुहारीको बहादुरी महिलाको आत्मसम्मान र शक्ति-चेतनाको प्रतीक बनेको छ । तर, अर्कोतर्फ, ‘जेठीले घर धानिन्, कान्छीले मन’ भन्ने वाक्यांशले समाजमा गहिरिएको पितृसत्तात्मक दृष्टिकोण उजागर गर्छ । यो वाक्यले महिलालाई अझै पनि पुरुषको दृष्टिबाट व्याख्या गरिने नेपाली यथार्थलाई प्रष्ट पार्छ । महिलावादी दृष्टिले हेर्दा, ‘बखान’ महिलाको मौनता र विद्रोह दुवैको कथा हो-जहाँ महिलाको उपस्थितिले पनि पृष्ठभूमिमा होस् तर कथाको आत्मा उनीहरूमै निहित छ ।
यथार्थ र कल्पनाको सन्तुलन
उपन्यासमा धेरै प्रसङ्गहरू ऐतिहासिक यथार्थमा आधारित छन्, चितवनको बस्ती बसाइ, नेपालमा पहिलो बखान सहकारीको स्थापना, सहादत पाएका छोराहरू, बन्दीपुरको राजनीतिक आन्दोलन आदि । तर, बीचबीचमा आएको कल्पना—जस्तै, कान्छी मनमायाको चिठी, रात्रिकालीन उडान, सेनासँगको भिडन्त-ले उपन्यासलाई साहित्यिक जीवन्तता दिएको छ । लेखकले इतिहास र कल्पनाको सन्तुलन मिलाएर साहित्यिक यथार्थवादको नयाँ स्वरूप प्रस्तुत गरेका छन्, जसले पढ्दापढ्दै इतिहासलाई उपन्यास र उपन्यासलाई इतिहासमा रूपान्तरण गर्छ ।
समीक्षकको दृष्टि
समीक्षकका रूपमा ‘बखान’ पढ्दा, यो केवल ऐतिहासिक दस्ताबेज होइन, नेपालको आत्मा पढ्ने कृति जस्तो लाग्छ । उपन्यासले बस्ती बसाउनेहरूको दुःख, रोगसँगको सङ्घर्ष, राजनीतिक परिवर्तन र प्रकृतिसँगको आत्मीयता, यी सबैलाई सजीव पार्छ । तर, महिलाको आवाज अझ स्पष्ट, आफ्नै स्वरमा आएको भए, उपन्यासको सामाजिक गहिराइ अझ सशक्त बन्ने थियो । त्यसैगरी, अन्य समुदायहरूको योगदान पनि समान रूपमा उजागर गरिएको भए ‘बखान’ अझ सन्तुलित ऐतिहासिक आख्यान बन्न सक्थ्यो ।
निष्कर्ष
वसन्त पराजुलीको ‘बखान’ नेपाली समाजको विकास–यात्रा, इतिहास, राजनीति र प्रकृतिको सजीव मिश्रण हो । यस उपन्यासले पाठकलाई केवल विगत सम्झाउँदैन बरू आफ्नो पहिचान, जिम्मेवारी र भविष्यप्रतिको चेतना पनि जगाउँछ । बखानसिंहको जीवन केवल एउटा व्यक्तिको कथा होइन-त्यो नेपालकै कथा हो र प्रत्येक महिला पात्र, हाम्रा आमा, दिदी, बुहारी, उनीहरूकै मौन र बहादुर अस्तित्व हो जसले यो इतिहास सम्भव बनाएको छ । ‘बखान’ पढ्दा माटोको सुगन्ध आउँछ, जङ्गलको हरियाली देखिन्छ, अनि नेपाली समाजको नारी स्पन्दित हुन्छ । त्यसैले यो उपन्यास केवल पढ्ने होइन, महसुस गर्ने कृति हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच