काठमाडौं । नेपालले अपराजित रहेर आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनको विशाल अन्तरले हराउँदै नेपाल विश्वकप छनोटको च्याम्पियन बनेको हो । नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जित्यो । अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २११ रन बनाएको थियो । छनोट प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो दोस्रो ठूलो स्कोर हो । निकै ठूलो लक्ष्यसहित जवाफी ब्याटिङमा ओर्लिएको सामोआले भने निर्धारित ओभरमा सात विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा सबैभन्दा कम रन अन्तरको र सबैभन्दा बढी रन अन्तरको जित दुवै नेपाली टोलीले निकाल्यो । सामोआविरुद्धको जित सबैभन्दा ठूलो रन अन्तरको जित हो ।
नेपाललाई ओपनर ब्याट्सम्यान असिफ शेख र कुशल भुर्तेलले गतिलो सुरुवात दिनुभयो । दुवै ओपनरले ६३ रनको साझेदारी गर्नुभएको थियो । आसिफ शेखले उत्कृष्ट अर्धशतक बनाउनुभयो । आसिफले टोलीका लागि ६९ रनको योगदान गर्नुभयो । यस क्रममा उहाँले ४१ बलको सामना गरी चार छक्का र सात चौका हिर्काउनुभयो ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०औँ अर्धशतक बनाउनुभएका उहाँले एक हजार ६ सय रन पनि पूरा गर्नुभयो । अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाउनुभयो । कुशलले १५ बलमा एक छक्का र दुई चौका प्रहार गर्नुभयो । तेस्रो नम्बरमा क्रिज समाल्न आउनéएका दीपेन्द्रसिंह ऐरीले पनि टोलीका लागि अर्धशतकीय योगदान गर्नुभयो । ५३ रन बनाउनéएका ऐरीले केवल ३३ बलको सामना गरी चार छक्का र दुई चौका प्रहार गर्नुभयो । चौथो नम्बरका ब्याट्सम्यान आरिफ शेख भने नौ रन बनाउँदै पेभेलियन फर्किनुभयो ।
यसैगरी, पाँचौँ नम्बरमा ब्याटिङ गर्न आउनुभएका कप्तान रोहित पौडेलले पनि अविजित २१ रन बनाउनुभयो । उहाँले केवल १२ बलमा एक छक्का र एक चौका प्रहार गर्नुभयो । दीपेन्द्र पेभेलियन फर्किएपछि उहाँको स्थान लिन आउनुभएका लोकेश बमले पनि आक्रामक पाली खेल्दै अविजित ३९ रनको योगदान गर्नुभयो । लोकेशले केवल १२ बलमा चार छक्का र दुई चौका पनि हिर्काउनुभयो । सामोआका बलर ड्यानियल बर्गेस, साउमानी तिआई, डारियस भिसेर र नोह मेडले एक-एक विकेट लिनुभयो ।
जवाफी ब्याटिङमा सामोआका लागि ओपनर सिन सोलियाले सर्वाधिक ३९ रन बनाउनुभयो । उहाँले ३५ बलमा एक छक्का र दुई चौका हिर्काउनुभयो । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
नेपाली टोलीका बलर ललित राजवंशीले तीन विकेट लिनुभयो । उहाँले चार ओभरमा एक मेडन राख्दै केवल १३ रन खर्चिनुभयो । करण केसीले पनि दुई विकेट लिनुभयो । कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले पनि एक/एक विकेट लिनुभयो ।
नेपाली टोली प्रारम्भिक चरणको खेलबाट दुई अंकसहित प्रतियोगिताको ‘सुपर-६’ चरणमा प्रवेश गरेको थियो । पहिलो खेलमा कुवेतलाई ५८ रन र दोस्रो खेलमा जापानलाई पाँच विकेटले हराउँदै नेपाली टोली समूह ‘बी’ को विजेता बनेको थियो ।
त्यसपछि नेपाली टोलीले ‘सुपर-६’ चरणको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको रोमाञ्चक जीत हासिल गरेको थियो । दोस्रो खेलमा पनि नेपालले कतारमाथि पाँच रनको अविश्वासिलो जित हासिल गरेको थियो । यसैगरी, नेपाली टोलीले ‘सुपर-६’ चरणको आफ्नो तेस्रो खेलमा आयोजक ओमानलाई ३८ रनको फराकिलो अन्तरले हराएको थियो ।
नेपाली टोली ‘सुपर-६’ चरणको तालिकामा १० अंकसहित पहिलो हुँदै आगामी टी-२० विश्वकपमा पनि छनोट भयो । नेपाली टोली समग्रमा तेस्रोपटक र लगातार दोस्रोपटक आइसिसी टी-२० विश्वकपमा छनोट भएको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा टी-२० विश्वकप खेलेको थियो ।
यसैगरी, छनोट प्रतियोगिताबाट ‘सुपर-६’ चरणको तालिकामा दोस्रो हुँदै आयोजक ओमान पनि आगामी विश्वकपमा पुग्न सफल भयो । ओमानले आठ अंक बटुल्यो । यसैगरी, अंक तालिकामा तेस्रो हुँदै युएई पनि आगामी टी-२० विश्वकपमा पुग्न सफल भयो । युएईले ६ अंक बटुल्यो । चौथो स्थानमा रहेको कतार, पाँचौँ भएको जापान र छैटौँ स्थानमा रहेको सामोआको भने विश्वकप खेल्ने सपना चकनाचुर भयो ।
छनोट प्रतियोगितामा आफूले खेलेको सबै खेल जित्ने नेपाल एक मात्र टोली बन्न पुग्यो । सामोआ ‘सुपर-६’ चरणको सबैभन्दा कमजोर टोली बन्यो । आइसिसी टी-२० विश्वकपको आगामी संस्करण सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदै छ । एसिया-प्रशान्त क्षेत्रको छनोट प्रतियोगितासँगै विश्वकपमा सहभागी हुने २० वटै टोलीको पनि टुंगो लागिसकेको छ ।
हरेक खेलाडीले साढे १९ लाख पाउने
आइसिसी टी २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट प्रतियोगिताको उपाधि जितेका खेलाडीले जनही साढे १९ लाख रुपैयाँ पाउने भएका छन् । सरकारी पुरस्कार ऐनको विधानअनुसार हरेक खेलाडीले १९ लाख ५० हजार पाउने भएका हुन् । राष्ट्रिय खेलाडी विकास नियमावली २०७९ अनुसार महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजनबाट विश्वकपमा छनोट भएमा हरेक खेलाडीलाई १९ लाख ५० हजार नगद पुरस्कार दिने व्यवस्था छ । त्यस्तै, प्रशिक्षकलाई ६ लाख २५ हजार, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियो वा चिकित्सकलाई ३ लाख २५ हजार र खेल संघलाई ६ लाख ५० हजार पुरस्कार दिने व्यवस्था गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले यसअघि नै खेलकुद विकास नियमावली २०७९ अनुसार उक्त नगद पुरस्कार रकम दिने घोषणा गरिसकेको छ । नियमावलीको अनुसूची ४ अन्तर्गतको व्यवस्थाअनुसार यदि नेपालले विश्वकप नै जिते खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पाउँछन् । यस्तै, उपविजेता भएमा जनही २६ लाख रुपैयाँ र तेस्रो भएमा १९ लाख ५० हजार नगद पुरस्कार दिने व्यवस्था गरिएको छ ।
यही नियमावलीअनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए । नेपालले ११ वर्षपछि पहिलोपटक आइसिसीका प्रतियोगितामा उपाधि जितेको हो । यसअघि सन् २०२३ मा विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपरओभरमा पराजित भएको थियो । पछिल्लोपटक नेपालले सन् २०१४ मा आइसिसी डिभिजन फोरको उपाधि जितेको थियो । त्यसअघि सन् २०१० मा डिभिजन ४ को उपाधि जितेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच