गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा जनवोध माध्यमिक विद्यालय प्रथम भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुख्य नारासहित सुरु भएको सातौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा विभिन्न विधाका खेलकुद प्रतियोगितामा उत्कृष्ट हुँदै रानीवासस्थित जनवोध माध्यमिक विद्यालय प्रथम भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो।
यस गाउँपालिकाको वडा नम्बर-४, मा रहेको घिउबेंसी खेलमैदानमा तीन दिनसम्म सञ्चालन भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको यस विद्यालयले खेलका विभिन्न विधामा १४ स्वर्ण, चार रजत र पाँच कांस्य पदक प्राप्त गरेको हो। लगातार तीन पटक प्रथम हुन सफल भएर विद्यालले शिल्ड नै आफ्नो पक्षमा पारेको छ। प्रतियोगितामा द्वितीय भएको ग्वादी माध्यमिक विद्यालयले सात स्वर्ण, एक रजत र ११ कांस्य पदक प्राप्त गरेको छ । तृतीय भएको जनज्योति माध्यमिक विद्यालयले पाँच स्वर्ण, १३ रजत र तीन कांस्य पदक प्राप्त गरेको छ।
प्रतियोगितामा यस पालिकाभित्रका नौ वटा विद्यालयको सहभागिता रहेको शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले जानकारी दिनुभयो। सहभागी विद्यालयहरुमध्ये प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पुरस्कार हस्तान्तरण गर्नुभयो। प्रतियोगितामा प्रथम भएको जनवोध माध्यमिक विद्यालयलाई दश हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र, द्वितीय भएको ग्वादी माध्यमिक विद्यालयलाई सात हजार रुपैयाँ नगद र तृतीय भएको जनज्योति माध्यमिक विद्यालयलाई पाँच हजार रुपियाँ नगदसहित मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो।
प्रतियोगितामा विभिन्न १५ विधामा भएका खेलहरु सञ्चालन गरिएको थियो। पुरस्कार वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष ज्ञवालीले पुरस्कृतसंगै सहभागी सबै खेलाडीलाई बधाईसहित शुभकामना दिनुभयो। त्यस अवसरमा उहाँले खेल क्षेत्रसंगै समग्र क्षेत्रको विकासहित रुरुक्षेत्र शैक्षिक क्षेत्रको अगुवा पालिका बन्ने विश्वास लिएको बताउनभयो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच