काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(इन्टरनेसनल सोलार अलाइन्स-आइएसए ) को आठौं सभामा भाग लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट सोमबार अपराह्न भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँदिल्लीमा १०-१३ कात्तिकसम्म हुँदैछ । आइएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जामन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालका तर्फबाट सहभागिता जनाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत् स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो । मन्त्री घिसिङले बृहत्स्तरको स्वच्छ ऊर्जा रूपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआबद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा मुख्य/विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ । सन् २०१५ को नोभेम्बरमा पक्ष राष्ट्रले आफ्ना आवश्यकताअनुरूप सौर्य ऊर्जाको अभिवृद्धि गर्ने साझा चुनौतीलाई संयुक्तरूपमा सम्बोधन गर्ने उद्देश्य राखी आइएसएसम्बन्धी पेरिस घोषणा जारी भएको थियो ।
सन् २०३० सम्ममा सौर्य ऊर्जाको व्यापक प्रयोग गरी आवश्यक पर्ने एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्न र भविष्यमा प्रयोग हुने प्रविधि अनुकूल मार्गनिर्देश गर्नेलगायतका काम गर्न आइएसए स्थापना भएको थियो ।
आइएसएको स्थापना सम्बन्धमा संरचना सम्झौतालाई प्रतिनिधिसभाले अनुमोदन गरेपछि नेपाल १०१औँ सदस्य राष्ट्रका रूपमा २०८१ को भदौमा आइएसएमा आबद्ध भएको थियो । मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच