२०७९ मंसिर २७ गते लोकप्रिय पत्रिका हिमालय टाइम्समा नै ‘नेताहरू समक्ष अन्तिम विकल्प : सच्चिने कि सक्किने’ शीर्षकमा यो स्तम्भकारको लेख प्रकाशित भयो । त्यसपछि नेपालका गिनेचुने भनिने पत्रिकाहरूले पनि ‘सच्चिने कि सक्किने’ शीर्षकमा विस्तृतमा समाचार प्रकाशित गरे । अब ‘सच्चिने कि सक्किने’ शब्द बहुप्रचलित भयो । सच्चिने कि सक्किने शब्दलाई केन्द्रबिन्दु बनाएर यो शब्दावलीको स्वामित्व हिमालय टाइम्स र स्तम्भकारको हुने भन्ने आसयको हिमालय टाइम्सकै प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहालले सम्पादकीय लेख्नुभयो । उक्त शीर्षकको विषयवस्तु र स्वामित्व बारे सम्पादकीयमा स्थान दिनुभएकोमा प्रधान सम्पादक प्रा.दाहालप्रति आभार प्रकट गर्दछु । अब सच्चिनुपर्छ ।
सच्चिएनौ भने तिमीहरूसँग सक्किनुको अर्को विकल्प छैन भनेको र सच्चिनलाई सुझाव दिएको, सच्चिन विशेष अनुरोध गरेको हिजोजस्तो लाग्छ, तीन वर्ष पुग्न लाग्यो । भ्रष्टाचार, अनियमितता, कमिसन र राज्यदोहनको लत बसेका ओली, दाहाल र देउवाहरू सच्चिनभन्दा सक्किन अग्रसर भए । सच्चिनुपर्छ भन्ने सुझाव दिनेहरूलाई बैरी ठाने । पार्टीभित्र दोस्रो पुस्ताले नेताहरूबाट भएको भ्रष्टाचारको सशक्त विरोध गर्नुपर्दथ्यो त्यो नगर्नु तिनीहरूको अक्षम्य अपराध हो । तसर्थ अहिले यी पार्टीहरूका दोस्रो पुस्ताका भनिने नेताहरू जनताको दृष्टिमा अविश्वसनीय छन् । राज्यदोहन, भ्रष्टाचार, कुशासन, मानव बेचविखन र लुट शासकीय चरित्र बन्यो । २०७२ को संविधानअन्तर्गत ओली, दाहाल र देउवाहरूले देश लुट्ने गठबन्धनरूपी नयाँ सिद्धान्त आविष्कार गरे ।
भाषणमा समाजवादी व्यवहारमा सबै चरम व्यक्तिवादी, अवसरवादी र भ्रष्ट भएको विषयमा जनता अब अनभिज्ञ रहेनन् । आवधिक निर्वाचन संस्कृतिमा निर्वाचनको नाटक निश्चित अवधिमा मञ्चन हुने, भ्रष्टाचारबाट आर्जित मनी र मसलका आधारमा यिनीहरूले निर्वाचन सधैं जित्ने, पदमा टिकिरहने र देश लुट्ने क्रम रोकिएन ।
त्यो गठबन्धन, भ्रष्टबन्धन वा ठगबन्धनको नीतिले देशमा भ्रष्टाचार, कुशासन र लुटको धन्दा झन् फष्टायो । आफूले गर्दा गठबन्धन र अरूले गर्दा ठगबन्धन भन्दै बाहिर द्वन्द्व देखाउँदै भित्रभित्रै लुट्न तीनैजना व्यस्त, मस्त मात्रै होइन ऐक्यबद्ध रहे । गठबन्धन नामको ठगबन्धन अन्ततः यिनीहरू सबैको सक्किने गन्तव्य भयो । सत्तामा पुगेपछि भ्रष्टाचारबिना बाँच्न नसक्ने रोगबाट तीनैजना ग्रसित भए । संसारमा अधिकांश राजनेताहरूको पतनको मुख्य कारण नै भ्रष्टाचार र कुशासन हो । यिनीहरू पनि भ्रष्टाचार र कुशासले नै सक्किए ।
हिजो हातमुख जोड्नसम्म हैसियत नहुनेहरूसँग करोडौं मूल्य पर्ने घडी, घरघरमा करोडौंका पजेरो, यिनका छोरीहरूका लाखौंलाखका ब्याग, आलिसान महलहरू नै यिनीहरूको ओरालो यात्राको कारण बन्यो । अहिले माओवादी पार्टीभित्र अध्यक्षको र परिवारको विलासी जीवनशैलीप्रति युवाहरूको आलोचनाका कारण पुष्पकमलकी छोरी गंगाले लाखौंलाखका सामान जन्मदिनमा साथीबाट पाएको गिफ्ट हुन् भन्ने अपत्यारिलो सफाइ नै भ्रष्टाचारको प्रमाण बन्यो । जनताको प्रश्न छ, हिजो किन दिएनन् तिम्रा साथीहरूले गिफ्ट ? आज किन दिए ? रहस्य यहाँ नै छ भन्ने कुरा अब नेपाली जनतालाई घाम झैँ छर्लंग छ । यतिसम्म भ्रष्टाचारमा निर्लिप्त भए कि यिनीहरूलाई भ्रष्टाचार नगर्न सल्लाह दिनुभनेको पेशेवर जड्याहालाई जाँड नखा भनेजस्तै भयो ।
गठबन्धनमा हुँदा मिलेर भ्रष्टाचार र अनियमितता तथा पदको पजनी गर्दै आएका हुनाले यी तिनैजनालाई तीनैजनाको कमजोरी थाहा नहुने कुरै भएन । आखिर उखान नै छ ‘सर्पको खुट्टा सर्पले मात्रै देख्छ’ । तीनैजनालाई तीनैजनाको कमजोरी थाहा भएको हुनाले आफूलाई चोखो भएको भ्रम छर्न मलाई भ्रष्टाचारमा कारबाही गर भन्नेसम्मको नाटक प्रहसन गर्न पछि परेनन् । मुखले भ्रष्टाचार गर्दिन भन्दै रहे तर भ्रष्टाचारलाई सबैले आफ्नो मूलगन्तव्य बनाउँदा भ्रष्टाचार संस्थागत भयो । म भ्रष्टाचार गर्दिन र गर्न दिन्नभन्ने सूत्र प्रयोग गरेर जनताको आँखामा छारो हाल्ने काम अविछिन्न गर्दै आए । आफ्नो राजनीतिक गन्तव्य, संस्कार र नैतिकता नै भ्रष्टाचार, अनियमितता र घोटाला साथै भाइभतिजावाद, फरियावाद र गर्लफ्रेन्डवादलाई बनाए ।
भाषणमा समाजवादी व्यवहारमा सबै चरम व्यक्तिवादी, अवसरवादी र भ्रष्ट भएको विषयमा जनता अब अनभिज्ञ रहेनन् । आवधिक निर्वाचन संस्कृतिमा निर्वाचनको नाटक निश्चित अवधिमा मञ्चन हुने, भ्रष्टाचारबाट आर्जित मनी र मसलका आधारमा यिनीहरूले नै निर्वाचन सधैँ जित्ने, पदमा टिकिरहने र देश लुट्ने क्रम रोकिएन । बोल्यो जनताको मतको धाक लगाउँछन् तर यथार्थमा भ्रष्टाचार, अनियमितता र मानव बेचबिखन जस्ता घृणित कामहरूबाट इतिहासमै जनताकाबीचमा अत्यन्तै अलोकप्रिय हुँदाहुँदै पनि घोटाला, तिगडम र छलछामको शैलीमा हुने निर्वाचनलाई ढाल बनाए । यसले जनतामा दिनप्रतिदिन बेचैनी, असन्तोष, आक्रोश र निराशा अक्कासियो । सच्चिने सम्भावना कतै नदेखेपछि त्यसपछि जेन-जीको नाममा उत्पन्न आगोले यिनीहरूमात्रै सक्किएनन् देशसमेत खरानी बनाउन यिनीहरूकै मुख्य भूमिका रह्यो ।
यो आगजनी, लुटपाट तथा राष्ट्रिय र व्यक्तिगत सम्पत्तिको विनाश गर्ने मुख्यपात्र ओली हुन् भने किनाराका साक्षी देउवा र दाहालको भ्रष्टाचारजन्य राजनीति हो । जब जेन-जी जागे ओली भागे । अनि राजनीतिक रिक्ततासिर्जना भयो । त्यसपछिको विनाशलाई रोक्न नसक्ने राष्ट्रपति र प्रधानसेनापति पछिल्लो चरणमा कम दोषको भागी छैनन् । यसको नैतिक र कानुनी जिम्मेवारी यिनीहरूले लिनुपर्छ । कानुन सबैलाई समान हुन्छ भन्ने नजिर स्थापित गर्नुपर्छ । अपराध र राजनीतिलाई दशकौं पर्यायवाची शब्द बनाउने त्रिमूर्ति हुन् ओली, दाहाल र देउवा । हालको विद्रोहको मूल ध्येय र गन्तव्य नै राजनीति र अपराधबीच झ्यागिँदै आएको विषाक्त सम्बन्धलाई नांगेझार पार्नु थियो । अझै जेनजीको विद्रोह गन्तव्यमा पुग्छ पुग्दैन थाहा छैन ।
अपराध र राजनीतिलाई पर्यायवाची शब्द बनाउनेहरूलाई भने जेन-जी पुस्ताले अन्त्यन्तै छोटोे समयमा टाउकोमै प्रहार गरेर केही दिनका लागि कोमामासम्म पुर्यायो तर यत्तिकैमा पद युवाहरूलाई हस्तान्तरण गर्ने लक्षण ओली र दाहालमा देखिएन । आन्दोलनबाट पराजित भएको अनुभूतिसम्म व्यवहार र क्रियाकलापमा नदेखिएको हुँदा जेन-जी पुस्ताले यिनीहरूलाई दण्डित गर्ने विषयमा छुट्टै रणनीति र गृहकार्य अविलम्ब बनाउनुपर्छ । शेरबहादुरले भने कांग्रेस सभापतिको पदबाट राजीनामा नदिएर कार्यभार हस्तान्तरण गरेर आफू फरक छु भन्ने सकारात्मक सन्देश दिए तर अनुकूल परिस्थितिमा अझै सत्ताको आश उनमा टुटेको छैन ।
भ्रष्टहरूलाई अविलम्ब भ्रष्टाचारमा कारबाही भएन भने यिनीहरूले अहिलेसम्म त पुच्छर हल्लाएका छन् कतै टाउको उठाउने र फेरि उल्टै जेन-जी पुस्तालाई नै नडस्लान् भन्न सकिन्न । सधैं भ्रष्टाचार र अनियमिततामा बानी परेका हुँदा कसरी पुनस्र्थापित हुने भनेर छट्पटी हुनु स्वाभाविकै हो । यिनीहरू ऐक्यबद्धमा सबै एकजुट हुने अवस्था आयो भने कतै जेन-जीहरूको भागाभागको अवस्था नआउला भन्न सकिँदैन । अहिले ओली, दाहाल र देउवालाई भ्रष्टाचारमा कारबाही गर्छौं भन्नेहरूले अन्तरिम संविधान अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री नबनाउँदा गल्ती गरेका छन् । त्यो गल्तीको सिकार सुशीला कार्की र जेन-जीहरू नहोलान् भन्न सकिन्न । यसमा दोष कार्कीको छ न कि जेन-जीहरूको । संसद् पुनर्वाहालीको मुद्दा न्यायालयमा पुगेको छ । न्यायालयमा यिनकै चौकिदारहरूको कब्जा भएकाले संसद् पुनःस्थापना भयो भने परिवर्तनकारी पुस्ता नै दण्डित हुने अवस्थामा चोरलाई चौतारो र साधुलाई जेल नहोला भन्न सकिँदैन ।
नेपालको इतिहासमा व्यवस्थाहरूको शृंखलाबद्ध परिवर्तनले देउवा, दाहाल, ओलीलाई जनताको अवस्था परिवर्तन गर्न अनगिन्ती अवसर दिए । ती सबै अवसरलाई यिनीहरूले इमानदार प्रयोग गरेनन् । यिनीहरूको मस्तिष्कमा कहिल्यै सच्चिनुपर्छ भन्ने नभएको निष्कर्षले जेन–जी आन्दोलनले विद्रोहको रूप लियो । परिणामस्वरूप कहिल्यै हुन नसकेको सत्तापलट अत्यन्तै छोटो समयमा कम रक्तपातबाट भयो । विद्रोहको नेतृत्व गर्ने व्यक्तिको नाम नै थाहा नभइकन सत्तापलट हुनुभनेको यिनीहरूद्वरा भएको शोषण, विलासी जीवनशैली, भ्रष्टाचार, अभिमान, अहंकार, प्रवृत्ति, राज्यदोहनको चरमोत्कर्षको परिणाम हो ।
सुधार हुन्छ भन्नुभनेको इतिहासलाई उल्टो पढ्ने दुर्बुद्धि हो, यिनीहरूले सच्चिने समय गुमाए । अहिले सक्किने समयलाई यिनीहरूले नै निमन्त्रणा गरेका हुन् । अब सुरु हुनुपर्छ यिनीहरूको आत्मालोचनाको शृंखला । राजनीति तबमात्र शुद्ध हुन्छ, जब पुराना आचरणका अनुयायीहरू मौन साधनामा जान्छन् ।
अबको पुस्ताले पक्कै सरकारमात्रै बदल्दैन संस्कार, व्यवहार, आचरण, जीवनशैली र कार्यशैली बदल्छ । ओली, दाहाल र देउवा नेपाली राजनीतिमा सर्वाधिक आलोचित र राजनीतिमा न्यूनतम नैतिकता निर्वाह गर्न पूर्णतः असफल र थकित अनुहार हुन् । दशकौंको सत्ता र स्वार्थको प्रहसनले जनताको सपनालाई च्यात्यो । नेपाल र नेपालीको आशा-भरोसालाई निराशाको गर्तमा फ्याक्यो । ओलीको राष्ट्रवाद, पानीजहाज र घरघरमा ग्यास मित्थ्या भाषण आदि घडी, जुत्ता, चश्मामा एकाकार भयो ।
दाहालको क्रान्ति, नयाँ नेपालकोको धमाका, आफ्नो र परिवारका साथै नातागोताको विलासी जीवन, विभिन्न स्थानमा महल र व्यवसायको विलासमा जोडिएको राजनीति अब कहिल्यै नउठ्ने गरी डुब्यो । देउवाको प्रजातान्त्रिक समाजवाद श्रीमतीको पद, कमिसन र नातावादको दलदलमा फस्यो र सधैंका लागि अस्तायो ।
यिनीहरूबाट सुधार हुन्छ भन्नुभनेको इतिहासलाई उल्टो पढ्ने दुर्बुद्धि हो । यिनीहरूले सच्चिने समय गुमाए । अहिले सक्किने समयलाई यिनीहरूले नै निमन्त्रणा गरेका हुन् । अब सुरु हुनुपर्छ यिनीहरूको आत्मालोचनाको शृंखला । राजनीति तबमात्र शुद्ध हुन्छ जब पुराना आचरणका अनुयायीहरू मौन साधनामा जान्छन् । अब देशको राजनीति हस्तान्तरण गर्न यिनीहरू सबै असफल भएकाले अहिले राजनीति पुस्तान्तरणको प्रसव वेदनामा छ । जेन–जी पुस्ताको चाहाना फगत सत्ता पुस्तान्तरण किमार्थ होइन कि प्रणालीगत सुधार निर्दिष्ट गन्तव्य हो । यो पुस्ता अघिल्लो पुस्ताले झैं झुटो भाषण बेच्दैन । उत्तरदायित्वलाई एकाधिकार नगरिकन सबैलाई बाँडफाँट गर्छ । आगामी निर्वाचनमा यस पुस्ताले न मतदाता खरिद गर्छ, न झुटो घोषणापत्र लेख्छ, न हिजो झैं मनगढन्ते नारा फुक्छ ।
आशा र विश्वास गरौं जनभावना र चाहनानुसारका सत्कर्ममै आफूलाई उत्सर्ग गर्छ । पद होइन उद्देश्य र भूमिका चाहियो, देश अब नेताको पेवा नभएर नागरिकको हो भन्ने विषयलाई युवापुस्ताले आचरण र व्यवहारमा अनुवाद गर्नेछ । यो विद्रोहले र पुरानाहरू अब सक्किएका कारण नेपाली राजनीतिमा सकारात्मक अध्याय प्रारम्भ हुन हिजो झैं पक्कै रोकिने- छेकिने छैन । जहाँ नयाँ चेतना, भावना र उत्साह आदि लोकप्रिय शीर्षक हुनेछन् । देशको वर्तमानलाई मात्रै लुटेनौ देशको भाग्य र सुदूर भविष्यसमेत लुट्यौ । सक्किने कर्म गर्यौ । तसर्थ तिमीहरू अन्ततः सक्कियौ ।







तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी
प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका
बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा
हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन