नमागिएको सल्लाह :
भादौ २३ को आन्दोलन र २४ गतेको अराजक विध्वंशपछि कसैलाई सबैथोक प्राप्त भएको र ठूलो विजय भएको महसुस भएको छ । कसैलाई भने मुलुकमा केही भएको छैन, सबै सामान्य अवस्थामा छ जस्तो लागेको बुझ्न सकिन्छ । यी दुवै सोच अवास्तविक हुन् । न सबै थोक प्राप्त भएको छ, न त यथास्थितिमा नै देश चलिरहेको छ । देशमा भएको जनधनको क्षतिको अनुपातमा प्राप्ति र उपलब्धि कम भएको छ । सामान्यतः हेर्दा संवैधानिक सरकार विस्थापित भएको छ । संविधानसँग टाढाको साइनो गाँसेर नयाँ सरकार बनेको छ । फागुन २१, २०८२ मा प्रतिनिधिसभाको चुनाव हुने मिति तय भएको छ । अरू निकाय यथावत् छन् । सरकार अरू विषयमा नलागेर निर्वाचन केन्द्रित नहुने हो भने निर्वाचन नभएर मुलुक अन्यौलग्रस्त अवस्थामा पुग्ने सम्भावना छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमध्ये माओवादीले आन्दोलनको बारेमा तुरुन्त समीक्षा गरेर समयानुसार बदलिने संकेत गरेको छ । नेता प्रचण्डलाई संयोजक तोकेर महाधिवेशनमा होमिएको छ । जेन-जीको, आफ्नो भावना तथा लक्ष समान भएको बताउँदै आएको छ र पार्टीभित्र जेन-जी समूह पनि बनाएको छ ।
जीन-जी युवाहरूको टुटफुट, नीतिगत अस्पष्टता, नेतृत्वविहीनता र परनिर्भरतालाई दृष्टिगत गर्दा मुलुकले सुशीला कार्की जत्तिको परिपक्व र राजनीतिक चेत भएको व्यक्ति प्रधानमन्त्री पाउनुलाई सकारात्मक रूपमा लिनुपर्दछ । किनभने भादौ २४ पछि जो-कोही अपरिपक्व अल्लारे व्यक्ति पनि प्रधानमन्त्री बन्ने सम्भावना थियो । नियतिले भनौं वा कोही जिम्मेवार मानिसको सल्लाहबाट सुशीला कार्कीको अन्तरिम नेतृत्व मुलुकले पाएको छ । गृहमन्त्री सुरुवाती दिनमा आन्दोलनकारी जस्तो र केही अपरिपक्व देखिए तापनि अहिले आएर उनी पनि चुनावी वातावरण बनाउन लागिपरेको विषय उनका पछिल्ला अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।
पुराना पार्टीहरूको मनोदशा
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमध्ये माओवादीले आन्दोलनको बारेमा तुरुन्त समीक्षा गरेर समयानुसार बदलिने संकेत गरेको छ । नेता प्रचण्डलाई संयोजक तोकेर महाधिवेशनमा होमिएको छ । जेन-जीको, आफ्नो भावना तथा लक्ष समान भएको बताउँदै आएको छ र पार्टीभित्र जेन–जी समूह पनि बनाएको छ । हुन त प्रचण्ड नै संयोजक बनेकोमा आलोचनाका स्वर पनि सुनिएका छन् तर उनले समयको चापलाई बुझेर महाधिवेशन सामना गर्ने रणनीति बनाए, यसलाई सकारात्मक पहल मान्नुपर्दछ । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूले उनीलाई नै अध्यक्ष बनाए पनि ताजा पार्टी पंत्तिको आदेश लिएर आएको भन्ने तम्तयार जवाफ बन्ने अवस्था रहन्छ । यसो हुने सम्भावना ज्यादा छ । जनार्दन शर्माहरूले नेतृत्व परिवर्तनको विषय उठान गरे तापनि उनी अल्पमतमा रहेको परिस्थिति देखिएको छ ।
नेकपा एमालेले पनि आफ्ना कमिटीहरूको बैठक बसालेर मंसिर अन्तिमतिर महाधिवेशन गर्ने मिति तय गरेको छ । सरकारबाट विस्थापित केपी शर्मा ओलीको जति नै विरोध गरे तापनि उनको महाधिवेशनको सामना गर्ने मनसायलाई अन्यथा भन्न मिल्दैन । महाधिवेशनबाट नयाँ नेता चयन गर्ने अवसर एमालेजनहरूले पनि पाएका छन् । यसरी हेर्दा एमालेले परिवर्तित समयको पहिचान गरेर अघि बढेको भन्ने अवस्था छ । तिकडम गरेर पदलोलुप देखिनुभन्दा विश्राम लिने उपयुक्त अवसर पनि ओलीका लागि यही हो तर उनको हठले उनलाई यसो गर्न दिनेछैन । संसद् पुनःस्थापना गर्न अदालती प्रक्रियामा जाने कुरा जायज भए तापनि चुनावमा भाग नलिने विषयले मुलुकको परिस्थितिलाई थप जटिल बनाउँने निश्चित छ तर एमालेको यो अडान स्थायी रूपमा नरहने बलियो सम्भावना छ ।
अब चर्चा गरौं : माउ पार्टी नेपाली कांग्रेसको विषयमा
कांग्रेस सभापति शेरबहादुर देउवाले उपाध्यक्ष पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी सुम्पिएका छन् । यो कदमको सबै पक्षबाट तारिफ भएको छ । यो घटनापछि कांग्रेसभित्र गुटगत चलखेल तीव्र भएको छ । करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि निवेदन बुझाएका छन् । विशेष महाधिवेशनको प्रस्ताव र मंसिर महिनाभित्र नियमित महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वयको प्रस्तावको कारण कांग्रेस संस्थापन पक्ष बेचैन देखिएको छ । उसको चाहना अहिलेकै लथालिंगे अवस्थामा निर्वाचनमा जानेछ । यो पक्ष अधिवेशन विशेष अधिवेशन जे भए पनि नराम्रो पराजय भोग्नुपर्ने परिस्थितिको कारण भयग्रस्त छ । यस्तै अवस्थामा पार्टी चुनावमा होमिने पक्षमा छ । टिकट बाँड्ने प्रलोभनमा छ ।
संस्थापन पक्ष, कांग्रेसको टिकट बोकेर को आउला र मतदान गरौंला भनेर स्वस्तिक छाप मसीमा चोबेर मतदाता कुरिरहेका छन् जस्तो ठानिरहेको छ । यो पक्षलाई मुलुकमा कुनै घटना घटेको आभास नभएको जस्तो देखिन्छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरू सके मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्ने पक्षमा जोडतोडले लागेका छन् । ५४ प्रतिशतले विशेष महाधिवेशन माग गरेका कारण यो पक्षमा बहुसंख्यक महाधिवेशन प्रतिनिधि छन् भनेर बुझ्न कठिन छैन । यद्यपि, विशेष महाधिवेशनको हस्ताक्षरकर्ताहरूमा नेता शेखर कोइरालाका प्रतिनिधिहरू पनि छन् ।
नेता शेखर कोइराला नियमित महाधिवेशनको कर्यतालिका ल्याएर शीघ्र महाधिवेशन गर्ने पक्षमा छन् । महामन्त्रीद्वयको सक्रियता र महाधिवेशन प्रतिनिधिहरूको रुझान् बुझेर उनी संस्थापनसँग धेरै टाढिन चाहेका छैनन् । बाहिरी रूपमा उनी नियमित महाधिवेशनको पक्षमा नै देखिएका छन् । माउ पार्टी कांग्रेस, मुलुकमा उत्पन्न यस्तो अभूतपूर्व तरल राजनीतिक अवस्थामा विचारशून्य र विवेकशून्य जस्तो देखिएको छ । जति सक्यो चाँडो महाधिवेशन गरेर अरू पार्टीहरूलाई पनि नेतृत्वदायी भूमिका लिएर सकारात्मक सन्देश दिँदै अघि बढ्नुपर्ने पार्टी, महाधिवेशन गर्ने कि टार्ने भन्ने विवादमा रुमल्लिएको छ । एमालेसमेतका पार्टीले महाधिवेशनको मिति तोकेर निर्वाचनमा होमिँदा कांग्रेस भुइँबाट उठ्न नसक्ने परिस्थितिमा देखिँदैछ ।
देउवा पक्षमा रहेका नेताहरूको पहिले फागुनको प्रतिनिधसभा चुनाव अनि निर्वाचन भन्ने भनाइ सर्वनाशको बाटो बन्न सक्दछ । जीन–जी आन्दोलनको सन्देश र परिणाम दिन नसक्ने पहिलो पुस्ताका दलपतिहरूको बहिर्गमनसँगै मुलुकमा भ्रष्टाचाररहित र सुशासनयुक्त समाज बनाउँ भन्ने हो । अराजनीतिक मागहरूपछि थपिएका हुन् । यसको सम्बोधन चुनावपछिको जनादेशप्राप्त सरकारबाट मात्र सम्भव छ ।
नेपाली कांग्रेस जीन-जी लगायतका मतदातालाई हामी सुध्रिएर आएका छौं । हामीले सक्षम नेतालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा खडा गरेका छौं भन्नु पर्दैन ? सबै पार्टी बद्नामीको सिकार भएको अवस्थामा त्यो बद्नामी चिर्ने नेतृत्व लिएर जनतामाझ जानुपर्छ कि पर्दैन ? त्यसका लागि महाधिवेशन आवश्यक छ नि । कांग्रेसभित्र यथास्थितिमा रमण गर्नेहरूमा विवेक पलाउन अनिवार्य छ । आफ्नो बहुमत भएको केन्द्रीय कार्यसमितिको अवधि कायम रहने तर महाधिवेशन प्रतिनिधको अवधि सकियो भन्ने कुतर्कबाट यो पक्ष, पार्टीसत्ता गुम्न लागेकोमा कति हतप्रभ छ भनेर बुझ्न सकिन्छ ।
जेन-जी आन्दोलन युवा पुस्ताको परिवर्तनप्रतिको आवाज हो । भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधार होस् भन्ने चाहना हो । यो चाहना पूरा गर्ने जेन-जी उमेर समूह नै चाहिन्छ भन्ने छैन । जीन-जी आन्दोलनको चाहना बुझ्ने र तदनुरूप परिवर्तनका लागि व्यवस्थापन गर्नसक्ने नेतृत्वको आवश्यकता हो ।
गएको चुनावमा कांग्रेस संस्थापनप्रतिको मतदाताको वितृष्णाका कारण बहालवाला गृहमन्त्रीलगायतलाई छानीछानी पराजित गराइएको हो, अपवादबाहेक जसले जितेका छन्, झिनो मतले जितेका छन् । राजनीतिक चेतना कम भएको स्थानबाट जितेका छन् । कांग्रेसजनहरूले विगत, वर्तमान र भविष्यको विश्लेषण गर्नु अनिवार्य छ । विगतबाट पाठ सिकेर भविष्यको रणनीति बनाउन नचाहने बेढंगाहरू जनताबाट बढारिएका धेरै परिघटनाको हेक्का राख्न जरुरी छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राजा फर्काउने मुद्दामा देखापरेको मतमतान्तरका कारण गहिरो विवादमा परेको छ । उग्र राजावादीहरू अध्यक्ष लिङ्देनलाई तह लगाउँन लागिपरेका छन् भने अध्यक्ष लिङ्देन भित्री रूपमा पार्टीको लोकतान्त्रीकरणको पक्षमा देखिएका छन् । यद्यपि, उनी पनि राजतन्त्रको वकालत गर्नेमध्येमा नै पर्दछन् । मुलुकमा नेतृत्व परिवर्तनका लागि अभूतपूर्व आन्दोलन र विध्वंश भइसक्दा पनि यस पार्टीले पनि आफूलाई सुधार्ने लक्षण देखाएको छैन ।
अन्य पार्टीहरूको अवस्था
पुराना पार्टीलाई दोष थोपर्दै गर्दा नयाँ भनिएका पार्टीहरू झनै पदलोलुप, लोभी र स्वार्थी देखिएका छन् । राष्ट्रिय स्वतन्त्रपार्टी विवाद नै विवादले घेरिएका र सहकारी ठगीमा गहिरोसँग मुछिएका सभापतिको टोपी उतार्न नसकेर दिनप्रतिदिन खस्किँदो अवस्थामा छ । भादौ २४ को जीन-जी आन्दोलनपछि मच्चाइएको उपद्रवमा रवि लामिछाने विजयी भावमा कारागारबाट गैरकानुनी रूपमा निस्केपछि देशभरि कैदी भाग्ने क्रम सुरु भएको बद्नामी खेप्नुपरेको छ । त्यतिमात्र होइन अदालतलाई विध्वंशको शिकार बनाउने सन्दर्भमा पनि रास्वपाको नाम जोडिने गरेको छ । यो पार्टीबाट असल मानिस पलायन हुने क्रम जारी छ ।
जनमत पार्टीले तराई मधेसमा भरोसा जगाएको थियो । विज्ञान र अध्यात्मको ज्ञान भएका अध्यक्षले तराई मधेसमात्र होइन मुलुकलाई नै मार्गनिर्देश गर्नसक्ने अपेक्षा गरिएको थियो । व्यवहारमा, उडाए सपना सबै हुरीले भन्ने परिस्थिति बनेको छ । पार्टी विभाजन भएको छ, मधेस सरकारको नेतृत्वबाट विमुख भएको छ । विभाजित अवस्थाको पार्टीले सुध्रिनुको साटो उल्टो बाटो तय गरेको छ ।
जीन–जी आन्दोलन युवा पुस्ताको परिवर्तनप्रतिको आवाज हो । भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधार होस् भन्ने चाहना हो । यो चाहना पूरा गर्ने जीन–जी उमेर समूह नै चाहिन्छ भन्ने छैन । जीन-जी आन्दोलनको चाहना बुझ्ने र तदनुरूप परिवर्तनका लागि व्यवस्थापन गर्नसक्ने नेतृत्वको आवश्यकता हो । नेपालका सबै आन्दोलनपछिका नेतृत्वले परिवर्तनलाई व्यवस्थित गर्न नसकेको र जनचाहना बुझ्न नसकेका कारण पटक–पटक ठूला आन्दोलन गर्नुपर्ने अवस्था आएको हो । समयको दबाबलाई बुझेर बदलिन चाहनेहरूका लागि भविष्य नराम्रो छैन तर मुलुकमा केही नै भएको छैन म जहाँ छु ठीक छु भन्नेहरूलाई समयको ज्वारभाटाले मृतसागरमा पुर्याउने निश्चित छ ।
अबको सजिलो बाटो भनेको सबै पक्षले आगामी फागुनमा हुने निर्वाचनबाट प्रतिनिधिसभाको गठन गरेर मुलुकलाई दिशानिर्देश गर्ने हो । जीन-जी आन्दोलनको नेतृत्व र दलहरूबीच सम्वाद सुरु भएको छ । यो शुभसंकेत हो । कोठाभित्र बसेर दलहरूलाई गालीगलौज गर्ने र अराजनीतिक शक्तिलाई मित्र ठान्ने प्रवृत्ति लोकतन्त्रका लागि सहज अवस्था होइन । सामाजिक सञ्जालमा स्टाटस पोष्ट गरेजस्तो सजिलो छैन वास्तविक जीवनमा मुलुकको व्यवस्थापन गर्न । यस तथ्यलाई परिवर्तन पक्षधर हुँ भन्नेहरूले बुझ्नु जरुरी छ । यसैगरी तीन दशकभन्दा बढी समयदेखि राज्यसंयन्त्रमा हावी भएर जनताका न्यूनतम चाहना पूरा गर्न नसक्नेहरूले पनि यथास्थितिवादी वकालत गर्नुभनेको समाप्त हुने मूलबाटो हो भन्ने बुझून् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच