झापा । मोन्था चक्रवातका कारण बिहीबार बेलुकाबाट झापामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण सबैभन्दा बढी मारमा किसान परेका छन् । छोटो तथा लामो दुरीका सवारी साधन कम मात्र सञ्चालनमा आएको सम्बन्धित यातायात व्यवसायीले जनाएका छन् ।
निरन्तर मध्यम वर्षा भइरहे पनि हावाहुरी भने चलेको छैन । जसका कारण थप क्षति हुन जोगिएको छ । शिवसताक्षी नगरपालिका - ६ शिवगञ्जका सीताराम भेटवालले निरन्तरको वर्षाका कारण किसान चिन्तामा रहेको बताउनुभयो । उहाँ किसान वर्ष दिनको मेहनत, श्रम र लगानी खेर जाने अवस्था सिर्जना भएको सुनाउनुभयो ।
'धेरै क्षेत्रफलमा किसानले लगाएको धान पाकेको छ,तर किसानले थोरैथोरै मात्र काटेका छन्' भेटवालले भन्नुभयो, 'हावा बचलेको र मध्यम वर्षा भएकोले ठूलो क्षति भएको छैन, सखाप चाहिँ भइगएको छैन ।' हाव चल्यो भने किसानको धान खत्तम हुने उहाँले बताउनुभयो । झापाको सो क्षेत्र साविक शिवगञ्ज, पाँचगाछी, महाभरा, बैगुनधुरा, जुरोपानी, कोहोबरा, तोपगाछी, कुमरखोद, शरणामती, राजगढ, जलथल, गौरादह लगायत बढी धान खेताहुने स्थान हुन् ।
असोजको बाढीले झापाको सयौं बिघा धानखेती पुरेको तथा बगाएको थियोे । त्यसबेला जोगिएको धान अहिले पाकेको र काट्ने बेलामा पानी परेकोले किसानलाई कहर थपिएको गौरादहका बब्लु सोरेनले बताउनुभयो । चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, 'रोप्ने बेलामा पानी पर्दैन, मलबीऊ पाइदैन, बल्लतल्ल रोपेको धान बाढीले बगाउँछ, डुबाउँछ, पाकेको धान काट्ने बेलामा यसरी पानी परेपछि किसानको हालत के हुन्छ ।'
पानीका कारण साविकमा भन्दा कम सवारी चलेको सगरमाथा यातायात प्रालिका अध्यक्ष नवीन कोइरालाले बताउनुभयो । लामो तथा छोटो दुरीका सवारी साधन आंशिक रुपमा चलेको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायी र प्रशासनले नै रात्रीकालीन र लामो दुरीका सवारी साधन नचलाउन आग्रह गरेको उहाँ बताउनुभयो ।
झापाबाट पहाडी जिल्ला, पश्चिम क्षेत्र र काठमाडौँ जाने सवारी साधनलाई त्यहाँको मौसमको जानकारी लिएर मात्रै गन्तव्यमा जान र उच्च सतर्कता अपनाउन भनिएको बताउनुभयो । हायस यातायात प्रालिका सवारी साधन निक्कै कम चलेको छ । इलाम प्रशासनले यातायात संकलनमा निगरानी बढाएको छ ।
झापा अहिले बिहान ८ बजेसम्म कतैपनि बाढी र डुबान नभएको नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकालले जानकारी दिनुभयो । उहाँले झापा गाउँपालिकाको सुगाबथान क्षेत्रबाट कनकाइमाई बस्तीमा पस्ने अवस्थामा पुगेको सूचना आएको जनाउनुभयो । सो क्षेत्र असोज १८ र १९ को वर्षाले तहसनहस भएको क्षेत्र हो ।
अन्यत्रको अवस्था सामान्य रहेको उहाँको भनाइ छ । रेडक्रसको संयन्त्र जिल्लाभर क्रियाशील र जोखिम क्षेत्रमा परिचालित भइसकेको जानकारी दिनुभयो । मध्यम वर्षा भइरहेको अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । कनकाइमाई, मेची, बिरिङ लगायतका नदी तथा खोलामा पानीको सतह सामान्य बढेको तर जोखिम बिन्दुमा पुगिसकेको अवस्था नरहेको बताउनुभयो ।
झापामा पानी रोकिएको छैन । मौसम धुम्म छ । निरन्तरको वर्षाले बाँजो जमिनमा समेत पानी जमेको छ । करिब एक महिना अघिको वर्षाले विस्थापित मानिसले घर फर्किनसकेको अवस्था यो वर्षाले थप संकट निम्त्याएको पीडितहरुको भनाई छ । पानी नरोकिए आफूहरूको अवस्था नाजुक हुने झापाका बाढी पीडितले बताएका छन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच