काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले शिखर इन्स्योरेन्सलाई गोल्ड पार्टनरका रूपमा अनुबन्ध गरेको छ । राजधानीमा आयोजित कार्यक्रमका क्रममा दुवै संस्थाबीच सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दीपप्रकाश पाण्डेले हस्ताक्षर गर्नुभयो । दुवै पक्षले सम्झौतानुसारको आर्थिक मूल्य भने सार्वजनिक गरेका छैनन् ।
सम्झौता अनुसार, आगामी एनपिएल सिजनमा काठमाडौं गोर्खाजको जर्सीका दुवै पाखुरामा शिखर इन्स्योरेन्सको लोगो रहनेछ । गतवर्ष सम्पन्न पहिलो सिजनमा पनि शिखर इन्स्योरेन्स काठमाडौंको सह-प्रायोजक रहँदै आएको थियो । यसवर्ष भने कम्पनीले प्रायोजनको स्तर बढाउँदै गोल्ड पार्टनरको रूपमा हात मिलाएको हो ।
यसअघि नै काठमाडौंले मुख्य प्रायोजकका रूपमा वल्र्ड लिंकसँग सम्झौता गरिसकेको छ । साथै, टोलीले टुलिप होटललाई अफिसियल हस्पिटालिटी पार्टनरका रूपमा चयन गरेको छ । दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले गतवर्षका केही प्रमुख खेलाडीहरूलाई निरन्तरता दिएको छ ।
मार्की खेलाडी करण केसी, साथै भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठ पुनः टोलीमा रहनुभएको छ । यसबाहेक, मिनी अक्सनमार्फत टोलीले नयाँ खेलाडीका रूपमा मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई अनुबन्ध गरेको छ । काठमाडौं गोर्खाज यस सिजनमा नेपाली राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा मैदानमा उत्तर्नेछ । देसाई नेपाली क्रिकेटमा नयाँ रणनीतिक दृष्टिकोण र खेल शिस्तका लागि चिनिँदै आउनुभएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा गत वर्षदेखि सुरु भएको एनपिएलले देशव्यापी फ्रेन्चाइज क्रिकेटको स्वरूप स्थापित गरेको छ । लिगमा देशका विभिन्न शहरका प्रतिनिधित्व गर्ने आठ फ्रेन्चाइज टोलीहरू सहभागी हुनेछन्- काठमाडौं गोर्खाज, जनकपुर बोल्ट्स (साविक विजेता), सुदूरपश्चिम रोयल्स (साविक उपविजेता), कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज र लुम्बिनी लायन्स ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने तालिका छ । लिगमा आकर्षक खेल प्रदर्शनका साथै युवा खेलाडीहरूका लागि ठूलो अवसर हुने आयोजकले जनाएको छ ।







ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य