काठमाडाैं । हरिबोधनी एकादशीलाई वर्षभरमा पर्ने चौबीस एकादशीमध्ये सबैभन्दा पवित्र र महत्वपूर्ण एकादशी मानिन्छ। त्यसैले यो एकादशीलाई सामान्यतया ‘ठूलो एकादशी’ पनि भनिन्छ।
हिन्दू धर्मअनुसार एकादशीको दिन भगवान विष्णुको आराधना र उपासना गरिन्छ। भक्तजनहरू यस दिन उपवास बसेर विष्णुको नामस्मरण र पूजा–आराधनामा तल्लीन हुन्छन्।
धार्मिक मान्यताअनुसार, आषाढ शुक्ल एकादशीका दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने र कात्तिक शुक्ल एकादशीका दिन जाग्रत हुने विश्वास छ। त्यसैले पहिलोलाई ‘हरिशयनी एकादशी’ र दोस्रोलाई ‘हरिबोधनी एकादशी’ भनिन्छ।
भविष्योत्तर पुराणमा उल्लेख छ कि हरिबोधनी एकादशीमा भगवान विष्णुको उपासना गर्नाले अन्य सबै एकादशीभन्दा बढी पुण्य प्राप्त हुन्छ। यसै कारण हिन्दू धर्मावलम्बीहरू बिहानै स्नान गरी, ब्रत बसेर विष्णु भगवानको विशेष पूजा गर्छन्।
यस अवसरमा देशभरका तीर्थस्थलहरूमा मेलाको रौनक छाउँछ। विशेषगरी सुनसरीको बराह क्षेत्र, काठमाडौंको बूढानिलकण्ठ, चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण र शेषनारायण मन्दिरमा भक्तजनहरूको ठूलो भीड लाग्छ।
महाभारतका अनुसार, सधैं भोजन गर्ने भीमसेनले पनि यही दिन ब्रत बसेका थिए। त्यसैले अरू दिन उपवास गर्न नसक्नेहरूले पनि यस दिन ब्रत बस्नै पर्ने धार्मिक परम्परा रहिआएको छ।
चार महिना अघि आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई यसै दिन मठ सिँगारेर विष्णु भगवानको प्रतीक पिपलसँग विवाह गराउने चलन पनि छ। यसलाई ‘तुलसी विवाह’ भनिन्छ।
भोलिपल्ट द्वादशीका दिन तुलसीको विशेष पूजन गरेर चातुर्मासभर चल्दै आएको तुलसी पूजा विधिवत् सम्पन्न गरिन्छ र तुलसीको बिसर्जन गरिन्छ।
यस दिन भक्तजनहरूले भगवान विष्णुलाई सख्खरखण्ड, पिँडालु, कन्दमूल र फलफूल अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्छन्। हिन्दू धर्मग्रन्थहरूमा तुलसी, पिपल, दूबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मानिएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच