काठमाडौं । माघमा १४औं संस्करणको नेपाल-अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल हुने भएको छ । नेपाल-अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल-२०२६ आगामी माघ महिनाको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको हो । फेष्टिभल कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहआयोजनामा हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार फेष्टिभलका लागि विभिन्न देशका चलचित्र प्राप्त भइरहेका छन् । नेपाली, अफ्रिकी तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीबीचको सहकार्य र सांस्कृतिक आदान–प्रदानलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो चलचित्र महोत्सव नियमित रूपमा सञ्चालन हुँदै आएको हो । फेष्टिभलका लागि नेपाली चलचित्र, आदिवासी चलचित्र, वृत्तचित्र, लघु चलचित्र र म्युजिकल चलचित्र समावेश गर्न सकिनेछ । चलचित्र दर्ता मंसिरको पहिलो साताभित्र गर्न सकिने आयोजकले जनाएको छ ।
फिल्म दर्ता नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिभलको आधिकारिक वेबसाइटमार्फत गर्न सकिनेछ । यस्तै, चलचित्र विलक्षण क्रियसनको कार्यालयमा सम्पर्क गरेर पनि समावेश गराउन सकिनेछ । फेस्टिभलकी अध्यक्ष तथा कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा.मञ्जु मिश्रले नेपाल-अफ्रिका फिल्म फेष्टिभलले दुई महादेशबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउँदै आएको बताउनुभयो ।
फेष्टिभल निर्देशक डब्बु क्षत्रीका अनुसार मंसिर दोस्रो साताबाट निर्णायक टिमले चलचित्र छनोट प्रक्रिया सुरु गर्नेछ । छनोट भएका चलचित्रहरूको सूची मंसिरको अन्तिम साता सार्वजनिक गरिनेछ । उहाँका अनुसार यस वर्षको संस्करणमा नृत्यसम्बन्धी प्रशिक्षण, ‘जेन जेड’ पुस्ताबारे अन्तक्र्रिया, माष्टर क्लास तथा कलाकारको चित्र प्रदर्शनी पनि आयोजना गरिनेछ ।
१५ वर्षअघि सुरु गरिएको नेपाल-अफ्रिका फिल्म फेष्टिभलले अफ्रिका र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँदै आएको छ । आयोजकको विश्वास छ- यो संस्करणले नेपाली र अफ्रिकी चलचित्रकर्मीलाई अझ नजिक ल्याउनेछ र विश्वमा नेपाललाई सिर्जनात्मक केन्द्रका रूपमा स्थापित गर्नेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच