काठमाडौं । अमेरिकामा आयोजित ‘अब गाउँछ अमेरिका’ कार्यक्रममा उत्पन्न विवादप्रति कार्यक्रम व्यवस्थापन संघ, नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ । संघका अध्यक्ष राजेन्द्र लुइँटेलले जारी गरेको विज्ञप्तिमा गायिका एलिना चौहान र कार्यक्रम आयोजक संस्था नेपफ्लाइका सञ्चालक विनोद अधिकारीबीचको विवादका समाचार र सामाजिक सञ्जालमा प्रसारित सामग्रीहरूले नेपाली मनोरञ्जन क्षेत्रमा नकारात्मक सन्देश पुर्याएको उल्लेख गरिएको छ ।
‘कलाकार र कार्यक्रम आयोजकबीचको सम्बन्ध अत्यन्त घनिष्ठ र सहयोगमूलक हुन्छ । यस्तो सम्बन्धलाई ‘नङ र मासु’ सरह अविभाज्य रूपमा लिने गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । संघका अनुसार कार्यक्रम सञ्चालनका क्रममा कहिलेकाहीँ समस्या वा असमझदारी आउनु स्वाभाविक भए पनि त्यस्ता विषयहरू संवाद, सहमति र संस्थागत माध्यमबाट समाधान गर्नु सबै पक्षका लागि हितकर हुने बताइएको छ ।
‘कुनै पनि सांगीतिक कार्यक्रम वा प्रस्तुति कलाकार र आयोजकबीचको आपसी समझदारी, पारदर्शिता र पेशागत आचरणमा आधारित हुनुपर्छ’, विज्ञप्तिमा उल्लेख छ, ‘व्यक्तिगत मनमुटाव वा आरोप-प्रत्यारोपले कलाकार र आयोजक दुवैको छविमात्र होइन, समग्र नेपाली मनोरञ्जन उद्योगको विश्वसनीयतामा पनि असर पुर्याउँछ ।’
संघले विवादमा संलग्न दुवै पक्षलाई पेशागत मर्यादा र आपसी सम्मान कायम राख्दै विवाद समाधान गर्न आग्रह गरेको छ । साथै, यस्ता घटना दोहोरिन नदिन सबै कलाकार, आयोजक तथा प्रवासमा रहेका संस्थाहरूप्रति जिम्मेवार र संयमित रहन आह्वान गरेको छ ।
संघले स्मरण गराएको छ कि असमझदारी वा विवादलाई सार्वजनिक रूपमा नकारात्मक रूपमा प्रस्तुत गर्नुले कलाकार, आयोजक र सम्पूर्ण कार्यक्रम व्यवस्थापन क्षेत्रको प्रतिष्ठामा प्रतिकूल असर पार्न सक्छ । यसले नेपालको मौलिक संस्कृति, कला र सिर्जनात्मक क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वासमा समेत नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ ।
अध्यक्ष लुइँटेलले संघ सधैं कलाकार, आयोजक र सिर्जनशील समुदायको सम्मान, हितरक्षा र पेशागत मर्यादा कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै भन्नुभएको छ, ‘भविष्यमा अझ व्यवस्थित, पारदर्शी र अनुशासित कार्य-समन्वयका लागि संघ निरन्तर पहल र सहयोग गर्न तयार रहनेछ ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच