काठमाडौं । आठवटा कम्युनिष्ट पार्टी र समूहहरू एक हुने भएका छन् । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित आठवटा वामपन्थी पार्टीहरूले आइतबार साँझ एकता गर्ने सहमति गरेका हुन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले शुक्रबार मात्रै माओवादीसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । माओवादीले पनि शनिबार एकीकृत समाजवादीसहितका कम्युनिष्टहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।
प्रचण्ड माओवादलाई त्याग्दै माक्र्सवाद-लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउन तयार हुनुभएको छ । अर्थात् पार्टीको मार्ग निर्देशक सिद्धान्त-माक्र्सवाद-लेनिनवाद हुने सहमति पत्रमा उल्लेख छ । नेपाली क्रान्तिको कार्यक्रम : नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ । पार्टीको तात्कालिक कार्यनीति- पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिने सहमति पत्रमा उल्लेख छ ।
‘आन्दोलनको स्वरूप आन्दोलन मूलतः शान्तिपूर्ण हुने, परिस्थितिअनुसार सडक, सदन र सरकारलगायत आवश्यकता अनुसारका सबै मोर्चाहरू आन्दोलनको मोर्चा हुनेछन्’, सहमति पत्रमा भनिएको छ ।
एकता प्रक्रियामा रहेका दलका नेताहरूले एकता घोषणा गरी निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी गरेका छन् । आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्न भनेको छ । यसअघि २०७४ सालमा नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको थियो । तर, आन्तरिक मतभेद र सर्वोच्च अदालतको फैसलामार्फत दुई वर्ष नौ महिनापछि अलग अलग भएका थिए ।
माओवादी र एकीकृत समाजवादीबीच एकता हुने सहमति भए पनि दुवै दलमा यसबारे एकमत भने छैन । माओवादी उपमहासचिव जनार्दन शर्माले एकता प्रक्रियामा असन्तुष्टि जनाउनुभएको छ । एकीकृत समाजवादीमा त झन् ठूलै समूह एकता प्रक्रियामा सामेल नहुने भएको छ । नेता झलनाथ खनाल, घनश्याम भुसाल र रामकुुमारी झाँक्रीसहितका नेताहरू एकताको विपक्षमा उभिएका मात्रै होइनन्, पार्टी नै फुटाएर अलग भएका छन् । यसैगरी, चिरन पुन नेतृत्वको नेकपा पनि सिंगै आएको भने होइन । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट चोइटिएर चिरन समूह एकतामा सामेल भएको हो ।
१९ गते एकता घोषणा, ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन
एकता प्रक्रियामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा यही कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायत कार्यहरू गरिने सहमति पत्रमा उल्लेख छ । आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ । केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद हुनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजक व्यवस्था हुनेछ । एकता भएका आठ दलको चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ । एकता सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनीहरूले पार्टीको चुनाव चिह्न तारा रहने जानकारी दिएका हुन् । पार्टीको नाममा सहमति भइसकेको छैन । सहमति पत्रमा पनि पार्टीको नाम खाली राखिएको छ ।
हर्क साम्पाङको श्रम संस्कृति पार्टी दर्ता
निर्वाचन आयोगले सुनसरीस्थित धरान उपमहानगरपालिका प्रमुख(मेयर) हर्क साम्पाङको श्रम संस्कृति पार्टी दर्ता गरेको छ । साम्पाङले आइतबार आयोगमा पुगेर पार्टी दर्ताको प्रमाणपत्र लिनुभएको हो । आयोगमा २०४ नम्बरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा रहने प्रमाणपत्रमा उल्लेख छ । हाल उक्त पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य छन् । पार्टीको चुनाव चिह्न माटोको ढिस्को राखिएको छ । आफ्नो दलले औपचारिक मान्यता पाएपछि साम्पाङले देश विकासका लागि श्रमको परिचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने बताउनुभयो । पार्टीका अध्यक्ष साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताउनुभयो । श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रूपान्तरण र आर्थिक रूपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उहाँको भनाइ छ । देश अब नेपाली आफैँले बनाउनुपर्ने उहाँले बताउनुभयो । ‘जुन काम आजसम्म भएन, त्यो काम गर्ने हो । उत्पादन, निर्माण, सामाजिक रूपान्तरणका लागि, आर्थिक रूपान्तरणको लागि हामी अब फिल्डमा निस्केर काम गर्छौं,’ उहाँले भन्नुभयो, ‘अफिसका बसेर भाषणमा सीमित हुँदैनौँ । हामी चाहिँ पक्का फिल्डका काम गर्ने एउटा संगठन निर्माण गर्दै छौँ । पहिला त यो देशमा काम गर्नुपर्छ । उत्पादन बढाउनुपर्छ ।’ आफूहरूले दलको झण्डा नराख्ने उहाँले बताउनुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच