विगत चार दशकयता स्थापित मान्यता माओवाद वा विचारलाई मार्गदर्शक सिद्धान्त अन्त्य गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आठ कम्युनिष्ट पार्टीबीच एकताको निर्णय गरेको छ । मार्गदर्शक सिद्धान्त परिवर्तन गरे पनि गन्तव्य वा लक्ष्य परिवर्तन गरिएको छैन । गन्तव्य वा लक्ष्य वैज्ञानिक समाजवादमा पुग्ने नै भनिएको छ । माओवादी विचार परित्याग गर्दै अबदेखि यी आठ कम्युनिष्ट एकताले माक्र्सवादी-लेनिनवादी विचारलाई मार्गदर्शक सिद्धान्तलाई अवलम्बन गर्ने भनिएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादीको वर्तमान नेतृत्वले वितेको चारदशकमा अनेक आरोह-अवरोहको सामना गर्दै यहाँसम्म आइपुग्दा चिसै पानीले नुहाउने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।
०४७ सालमा तत्कालीन माले र लगत्तै मिलेको एकीकृत माक्र्सवादी-लेनिनवादी दल स्थापना हुँदा मार्गदर्शक सिद्धान्तका रूपमा आजभन्दा सैतीस वर्ष पहिले जे कुरालाई मदन भण्डारीले सशक्त रूपमा प्रस्तुत गर्नुभएको थियो, त्यही कुरालाई यो आठ दलीय एकताले पनि स्वीकार गरेको छ । सशस्त्र हिंसा, वर्ग संघर्ष र विद्रोहको मारुनी सपना मूर्त नहुनु स्वाभाविक थियो । त्यो सपना प्रारम्भमा पुष्पलालहरूको पनि नभएको होइन । विसं २००६ सालयता बागमतीमा जति र जुन रूपमा पानी बहेको छ त्यसैगरी संसारको विचार आन्दोलनमा पनि परिवर्तन भएको सन्दर्भमा नेपालका कम्युनिष्ट पार्टीहरूमा देखिएको सैद्धान्तिक, रणनीतिक र कार्यक्रमिक परिवर्तनको समीक्षा हुनसक्छ । भित्री गुदी वा सारतत्व सबै परित्याग गरे पनि र आन्तरिक रूपले सम्पूर्ण स्थापित मान्यता विसर्जन गरे पनि नेपालका कम्युनिष्ट पार्टीहरूले अन्तर्राष्ट्रिय झण्डा, कम्युनिष्ट नाम र माक्र्स, एन्गेल्स, लेनिन, माओ र अलि पर स्टालिनको तस्वीरलाई भने निरन्तरता दिइरहेका छन् ।
तीनबाट अझै उनीहरूको मोहमुक्ति हुनसकेको छैन । वैज्ञानिक समाजवादको सपना देखाएर राजनीति गर्ने र अहिले पनि विपन्न, शोषित, पीडित र भेदभावमा पर्नेहरूका मुक्तिदाता कम्युनिष्टमात्रै हुन् भन्ने सन्देश दिने प्रयास हो र त्यसैको निरन्तरताले मोहमुक्त हुनसकेको छैनन् भन्ने स्पष्ट छ । सुरुमा पुष्पलालले नेपालको सन्दर्भमा साम्यवादको वैचारिक व्याख्या गर्ने काम गरेपछि विकसित कम्युनिष्ट आन्दोलन राष्ट्रिय र अन्तर्राष्ट्रिय रणनीतिको खेलमा कहिले विभाजित र कहिले एकताको व्युहभित्र रुमल्ली रहेको छ । स्थापनाकालको पृष्टभूमिमा हेर्ने हो भने गएको आठदशकमा करिब सत्तरीवटा कम्युनिष्ट पार्टी नेपालको भूमिले व्यहोरी सकेको छ । ती मध्ये अस्तिका दिन आठ र हिजोमात्रै एकअर्को जोडिएर नयाँ कम्युनिष्ट पार्टीको नामकरण भएको छ । जसलाई अत्यन्त सकारात्मक मान्नुपर्दछ ।
सबै राजनीतिक दलहरू विभाजनको संघारमा पुग्नेगरी अन्तरविरोध झेलिरहेका छन् । तर अन्तरविरोध जति नै भए पनि नेपाल कम्युनिष्ट पार्टी एमालेले आफूलाई पुनर्संगठित र एकीकृत गरिरहेको छ । पार्टीकै रूपमा हेर्ने हो भने यतिखेर सबैभन्दा सुदृढ र सशक्त अभियन्ता नेकपा एमाले देखिन्छ । लोकतान्त्रिक आचरण र अभ्यासको प्रयोग, दलीय अनुशासन र संगठनको चरित्रको पाठ सिकाउँदै अरू दलहरूलाई लोकतन्त्रको मर्यादा सिकाउनुपर्ने नेपाली कांग्रेस जस्तो सबैभन्दा पुरानो पार्टी आफैं दिशाहीन भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेको युवापंक्ति राजनीतिमा अप्ठ्येरो परेको समय, पार्टीको नेतृत्व अपमानित भइरहेको क्षण र सम्पूर्ण कार्यकर्ता अस्तव्यस्त किंकर्तव्यविमूढ रहेको दृश्यलाई चिर्दै यस पार्टीका सदस्यहरूले प्रकट रूपमा पार्टी नेतृत्वको सुरक्षा र प्रतिरक्षामा जसरी आफूलाई उभ्याए त्यो प्रशंसनीय छ । तर लोकतान्त्रिक आन्दोलनको मियो रहेको भनिँदै हालसम्मको परिवर्तनका लागि ऐतिहासिक दायित्व पूरा गर्ने नेतृत्वकारी दल नेपाली कांग्रेसमा भने ठीक उल्टो अवस्था देखियो । सपत्निक सभापति मरणाशन्न अवस्थामा पुगेको समयमा नुनचुक लगाउन, शारीरिक रूपले कमजोर सभापतिको हातबाट तत्काल सत्ता खोस्न र आफ्ना लागि पार्टी नेतृत्व कब्जा गर्ने अभियानमा सक्रियता देखियो । माओवादीमा समेत अन्तरविरोध व्याप्त छ । तर नेतृत्वको घाउमा नुनचुक लगाउने काम तिनीहरूले सार्वजनिक गरेको अनुभव भएन । चरित्रगत यस भिन्ताको कुनै समयमा विशेष रूपमा समीक्षा होला । अहिले दुई ठूला कम्युनिष्ट पार्टीहरू एकअर्काको विकल्प बन्ने प्रयासमा अघि बढेको विषय महत्वपूर्ण भएको छ ।
यद्यपि लामो समयदेखि संसदीय राजनीतिलाई तिरस्कार गर्दै वर्गसंघर्षको रणनीतिमा लागेको दाबी गर्ने माओवादी पार्टीको अर्को एकचिराले निर्वाचन प्रक्रियामा सहभागी हुन दल दर्ता गरेको छ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादीको एक हाँगो पुष्पकमल दाहालसँग एकता गर्न पुगेपछि यसको अर्को एक हाँगो विप्लव नेतृत्वको कम्युष्टि पार्टी नेपालसँग पुग्ने देखिँदैछ भने अर्को हाँगो पुरानै घर नेपाल कम्युष्टि पार्टी एमालेमा प्रवेशको संकेत देखिँदैछ । अर्थात् नेपालले एमालेसँग फुट्दा निर्मित पार्टी तीनतिर पुगेको छ । तर नौ दलको एकताका लागि नाम भने कम्युनिष्ट पार्टी समाजवादी नै रहने प्रसंगले नेपालको औचित्य स्थापित भएको छ । नेपालसँगको एकतालाई अस्वीकार गर्ने माओवादीभित्रको एक पंक्ति अन्यमनसक छ । नयाँ एकतालाई अस्वीकार गर्नेहरूका सामु नयाँ पार्टी खोल्ने, एमालेतिर जाने वा विप्लवसँग जोडिने भन्ने विकल्प रहेको छ । यदि विप्लवसँग पुराना माओवादीहरू जुटे र अरू केहीसमेत मिले भने कम्युनिष्ट पार्टीमा अर्को सशक्त तेस्रोधार खडा हुने सम्भावना छ । यी धारबाहेक हाल अरू चार कम्युनिष्ट पार्टीहरू मोहनविक्रम सिंहको वैचारिक विद्यालय, मोहन वैद्यको विद्यालय, नारायणमान बिजुक्छेको शिक्षालय र सिपी मैनालीको प्रेक्षालय कतै न कतै अस्तित्वमा देखिन्छन् । तिनका बीचमा निर्वाचन तालमेल हुनेजति संभावना छ त्यति नै एकता असम्भव देखिन्छ । अर्थात् अझै कम्युनिष्ट आन्दोलन एक ठाउँ हुन सकेको छैन । सिद्धान्त र शक्तिबीचको संघर्ष यथावत् छ ।
बहुलवादी बहुदलीय व्यवस्थाको सौन्दर्य नै हो दलहरूको जागरण । सकेसम्म राष्ट्रको राजनीतिलाई विश्वसनीय, भरपर्दो र विकसित गराउन पार्टीहरूका बीचमा हुने एकता महŒवपूर्ण हुन्छ । नेपाल जस्तो चेतना, शिक्षा र समृद्धिले समेत दरिद्र जनता भएको देशमा धेरै दलभन्दा केही दलहरू सबल र ऐक्यबद्ध हुनु जरुरी हुन्छ । तथापि नेपालको वर्तमान संविधानले कुनै एक वा केही दलमात्रैको पक्षपोषण गरेको छैन । साना-ठूला सबै दलके संभावनालाई सुरक्षित गरेका छन् । एउटै दल भए निरंकुशता हुने र धेरै दलको सरकार भए अस्थिरता, अराजकता र अविकासको चरम समस्या भोग्नुपर्ने अहिलेको नेपाली जनताको नियति नै हो । तै पनि नवगठित दलहरू एकआपसमा मिलेर जानेछन्, आफूभित्रका अन्तरविरोधलाई लोकतान्त्रिक मर्यादा र राजनीतिक आवश्यकताका आधारमा समाधान गर्नेछन्, देशलाई अग्रगामी दिशातिर सशक्त रूपले बढाउनेछन् र जनतालाई समृद्ध तुल्याउने छन् भन्ने हाम्रो विश्वास छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच