काठमाडौं । आठ कम्युनिष्ट दलबीच सोमबार एकता घोषणा हुँदै गर्दा राजनीतिक रूपमा नयाँ सम्भावनाको चर्चा चुलिएको छ । तर, एकताको घोषणासँगै ती दलभित्रको असन्तुष्टि र अलमल झन् बढेको छ । गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा भने मंगलबार माओवादी केन्द्रमा औपचारिक रूपमा विलय भएको छ । योसँगै नौ दलबीच एकता भएको छ । विशेषगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)भित्रका असन्तुष्ट समूह कता जाने र के गर्ने भन्ने अलमलमा छन् । एकीकृत समाजवादीभित्र झलनाथ खनाल, घनश्याम भुसाल र रामकुमारी झाँक्रीजस्ता नेताहरूले एकताको प्रक्रियाप्रति असहमति जनाउनुभएको छ । उहाँहरूबीच नेकपा (एमाले)मा फर्किने कि नयाँ कम्युनिष्ट धारको पुनर्गठन गर्ने भन्ने विषयमा बहस चलिरहेको छ । तर, त्यसमा पनि एकमत छैन, एकथरि एमालेमै फर्किनुपर्ने तर्क गर्छन् भने अर्कोथरि नयाँ धारको पुनर्निर्माणमा जोड दिइरहेका छन् ।
त्यस्तै, माओवादी केन्द्रभित्र पनि असन्तुष्टि उस्तै तीव्र छ । नेता जनार्दन शर्माले एकताप्रति खुला असहमति जनाउनुएको छ । दुई ठूला भनिएका दल मात्रै होइन, यसअघि संसदीय राजनीतिभन्दा पर रहेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको अवस्था पनि उस्तै छ । माओवादीसँग एकता गर्ने चर्चा चले पनि अन्ततः त्यो असफल भयो । विप्लव समूहका केही कार्यकर्ता मात्र माओवादीमा आउने तयारीमा छन्, तर विप्लव स्वयंले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । त्यस्तै, अन्य केही साना कम्युनिष्ट दलहरू न संगठनात्मक रूपमा सक्षम छन्, न त कसैसँग एकता गर्न तयार । यसले कम्युनिष्ट राजनीतिलाई एकीकृत शक्तिको सट्टा विभाजित धारको रूपमा चित्रित गरेको छ । यति हुँदा पनि एमाले भने अपेक्षाकृत एकताको केन्द्रमा देखिन्छ ।
एमालेमा फर्किन झलनाथका चार सर्त, नभए नयाँ पार्टी बनाउने
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा फर्कन ‘समाजवादी क्रान्तिको बाटो’ अपनाउनुपर्ने मुख्य सर्त राख्नुभएको छ । आफूलाई एमालेप्रति माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘सुस्थिर चिन्तन’ नदेखिएको उहाँको टिप्पणी छ । एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको उहाँको ठहर छ । नेता खनालले एमाले फर्कन चारवटा आधारभूत वैचारिक सर्तहरू अगाडि सार्नुभएको छ, जसलाई वार्ताको आधार बनाउन सकिने उहाँको भनाइ छ । ‘एमाले फर्कन तयार छौँ, तर समाजवादी क्रान्तिको बाटो अवलम्बन गर्नुपर्छ’, न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले भन्नुभएको छ, ‘जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौँ ।’ एमालेसँग वैचारिक एकता नभएको खण्डमा खनाल समूह नयाँ बाटोमा अघि बढ्न तयार छ । ‘हामी नयाँ ढंगले पुनर्गठित हुँदै छौँ । नयाँ पार्टी निर्माण गर्नु अवश्यम्भावी छ,’ उहाँले भन्नुभयो ।
झलनाथसहितका नेताहरू पुरानै पार्टीमा फर्किने वा नयाँ निर्माण गर्ने अलमलमा रहेका बेला नेतृ रामकुमारी झाँक्री भने एमालेमा जानेबारे छलफलमा हुनुहुन्छ । त्यसका लागि उहाँले एमाले नेताहरूसँग संवाद गरिरहनु भएको छ । खनाल-भुसाल समूहले छुट्टै वाम मोर्चा बनाएर जाने तयारी गरिरहेका बेला झाँक्री त्यो मोर्चामा नजाने हुनुभएको छ ।
घर फर्किन अनुमति लिनुपर्दैन : पोखरेल
एमालेका महासचिव शंकर पोखरेलले विगतमा पार्टी छाडेर गएकहरूलाई एमालेमा फर्किन कुनै अनुमति लिनु नपर्ने बताउनुभएको छ । प्रेस चौतारीको केन्द्रीय कार्यालयमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले सिधै पार्टीमा आउन आह्वान गर्दै योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिने बताउनुभएको हो । ‘घर फर्किनका लागि कुनै अनुमति लिनु पर्दैन । आउनुस् तपाईंहरूको योग्यता र क्षमताको आधारमा पार्टीले जिम्मेवारी दिन्छ,’ उहाँले भन्नुभयो, ‘तर सर्त एउटै छ, नीति र नेतृत्वमा चाहिँ सहमत भएर आउनुस् । फेरि बहस र विवाद गर्न आउने कुरामा सहमति हुन सक्दैन । नीति र नेतृत्वमा सहमत हुने जो कोहीलाई पनि एमालेको ढोका खुला छ, हामी स्वागत गर्न तयार नै छौँ ।’ उहाँले माओवादी र एकीकृत समाजवादीसहित साना दलहरूबीच हुन लागेको एकतालाई एजेण्डा र उद्देश्यहीन भएको बताउनुभयो । एजेण्डाविहीन एकताले कुनै तागत निर्माण नहुने उहाँको भनाइ छ । ‘विचारमा एकरूपता हुन्छ भने अलग बस्नुपदैन । तर, विचारमा एकरूपता छैन भने आन्दोलनलाई समाप्त पार्नु हो । के हुन्छ भन्ने भविष्यले देखाउँछ’, उहाँले भन्नुभयो ।
फेरि माओवादी विभाजनको नाटक दोहोरिँदै छ : गजुरेल
माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादी पार्टीमा पटक-पटक विभाजन गर्नेहरू पुनः उही घेरामा फर्किंदै गएको टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया पोस्ट गर्दै उहाँले माओवादी विभाजनहरू विचारगत कारणले नभएर व्यक्तिगत महत्वाकांक्षा, असन्तुष्टि र नेतृत्वत्वसँगको असमझदारीको परिणाम भएको बताउनुभएको छ । विभाजनहरूले कहिल्यै वैचारिक औचित्य प्रमाणित गर्न नसकेको उहाँको भनाइ छ । ‘यही कारणले ती विभाजनहरूले कहिल्यै वैचारिक औचित्य प्रमाणित गर्न सकेनन् । प्रचण्डलाई दोषारोपण गर्दै नयाँ बाटो खोज्नेहरू अन्ततः पुनः उही घेरामा फर्किंदै गएका छन्’, उहाँले लेख्नुभएको छ, ‘विडम्बना के छ भने आज फेरि त्यही विभाजनको नाटक दोहोरिँदै छ । यो केवल विडम्बना होइन, राजनीतिक अपरिपक्वताको चरम प्रदर्शन हो ।’ आठ वामपन्थी शक्तिबीचको एकताले समाजवादी क्रान्तिको नयाँ आधारहरू निर्माण गर्ने उहाँको दाबी छ ।
इतिहासमा असफल पार्टीको गठजोडले नयाँ युगलाई हाँक्न सम्भव छैन : आहुति
विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले ‘जेन-जी’ विद्रोहपछि वामपन्थी पार्टीहरूमा विघटनको अवस्थामा पुग्नु पुरानो कम्युनिष्ट आन्दोलनमा रहेको वैचारिक संकटको परिणाम भएको निष्कर्ष निकालेको छ । कात्तिक १२ देखि १५ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले इतिहासमा असफल भइसकेका पुराना कम्युनिष्ट पार्टी, व्यक्ति र समूहको गठजोडले नयाँ युगलाई हाँक्न नसक्ने निष्कर्ष निकालेको हो । ‘जेन-जी विद्रोह’पछि वामपन्थी पार्टीहरूमा देखिएको विघटन, भागदौड र हायलकायलको अवस्था वास्तवमा पुरानो कम्युनिष्ट आन्दोलनमा रहेको वैचारिक संकटको परिणाम हो’, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले भनेको छ, ‘त्यसैले इतिहासमा असफल पार्टी, व्यक्ति र समूहहरूको गठजोडद्वारा नयाँ युगलाई हाँक्न सक्ने शक्तिको जन्म सम्भव छैन ।’ विभिन्न समूहहरूमा रहेका सच्चा कम्युनिष्ट र क्रान्तिकारीहरूलाई नयाँ युगको क्रान्तिका निम्ति वैचारिक स्पष्टतासहित धु्रवीकरणको नयाँ यात्राको संकल्प लिएर अघि बढ्न बैठकले विशेष अपिल गरेको छ । यस्तै, ‘जेन-जी’ विद्रोहपछि उत्पन्न नेपाली समाजमा देखिएको राजनीतिक अन्तर्विरोध कुनै पनि खालको प्रतिगमन वा यथास्थितिबाट हल हुने सम्भावना नभएको पार्टीले निष्कर्ष निकालेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच