काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले झण्डै चार वर्षपछि क्लबसँग ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा पदाधिकारी र ‘ए’ डिभिजनका क्लबका अध्यक्षबीचको बैठकले अर्को वर्षको पुस ३ गतेदेखि लिग गराउने सहमति गरेका हुन् । पछिल्लो सहमतिले साढे तीन वर्षभन्दा बढी समयपछि मात्र लिग आयोजना हुनेछ । पछिल्लोपटक २०७९ सालमा ‘ए’ डिभिजन लिग फुटबल आयोजना भएको थियो ।
असोज ६ गते एन्फाले परिमार्जित क्यालेण्डर सार्वजनिक गर्दै ‘ए’ डिभजिन लिग पुस ९ देखि असार २६ सम्म हुने जानकारी गराएको थियो । एन्फाले देशका विभिन्न जिल्लामा १४ मैदान प्रयोग गरेर ‘होम एण्ड अवे’का आधारमा लिग आयोजना गर्ने प्रस्ताव अघि सारेको थियो । तर, असोज २४ गते एन्फाले पत्रकार सम्मेलनमार्फत् ‘होम एण्ड अवे’ लिग तत्कालका लागि सम्भव नभएको निष्कर्ष निकाल्दै शीर्ष डिभिजन लिग नभए राष्ट्रिय लिग विकल्पका रूपमा रहेको बताएको थियो ।
उक्त संस्करणमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो । त्यसपछि एन्फाले लिग गर्न सकेको छैन । नयाँ सहमतिअनुसार लिग झण्डै चार वर्षपछि मात्र हुने भएको हो ।
क्लबहरूले समेत एन्फाको प्रस्तावअनुसार लिग खेल्न नपर्ने र ‘ए’ डिभिजन हैसियत पनि बाँकी नै रहने भएपछि सहमति जनाएर हस्ताक्षर गरेका छन् । ‘ए’ डिभिजन हैसियतका १४ क्लबले अर्को वर्ष हुने एन्फा चुनावमा भाग लिन पनि पाउने भएका छन् । ‘ए’ डिभिजनका १४ वटै क्लबलाई एन्फा निर्वाचनमा मताधिकार रहने व्यवस्था छ । एन्फाले यस वर्ष राष्ट्रिय लिग आयोजना गरेर ‘लिगको चक्र’ पूरा गर्ने भएको छ । राष्ट्रिय लिगमा भएपछि कुनै पनि क्लब रेलिगेसनमा जाने छैनन् भने २०७९ सालको लिगका शीर्ष ६ क्लबले मात्र लिग खेल्नुपर्नेछ ।
यसअनुसार राष्ट्रिय लिगमा लिग च्याम्पियन चर्च ब्वाइजसँगै मच्छिन्द्र, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) लिगमा सहभागी हुनेछन् । योसँगै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्वको चारवर्षे पहिलो कार्यकालमा एउटामात्र ‘ए’ डिभिजन लिग हुने भएको छ । लिगमा सहभागी टोलीले मंसिर ५ गते टिम तथा ९ गते खेलाडी दर्ता गर्नुपर्नेछ । यसैगरी लिगको खेल तालिका मंसिर १९ मा सार्वजनिक हुनेछ ।
फुटबल खेलाडी संघद्वारा संघर्षको चेतावनी
अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिगका क्लबहरूबीच भएको सहमतिअनुसार ‘ए’ डिभिजन लिग अझै एक वर्षभन्दा बढी समयपछि गर्ने निर्णयप्रति नेपाल फुटबल खेलाडी संघले असन्तुष्टि जनाएको छ । एन्फा र क्लबहरूले यो वर्ष पुस ९ गतेदेखि राष्ट्रिय लिग र अर्को वर्ष पुस ३ गतेबाट ‘ए’ डिभिजन लिग आयोजना गर्नेमा सहमति जनाउँदै संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
‘एन्फाले हाललाई गर्ने भनेको राष्ट्रिय लिगमा १० टोलीमात्र सहभागी हुने र यसले नेपाली फुटबल वृत्तमा रहेका अधिकांश खेलाडीहरूका लागि पर्याप्त अवसर नहुने हाम्रो बुझाइ हो,’ संघका अध्यक्ष विक्रम लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हरेक देशको फुटबलको मेरुदण्ड मानिने श्रेणीअनुसारको लिग नगर्दा यसले ‘ए’ डिभिजनका १४, ‘बी’ डिभिजनका १४ क्लब र ‘सी’ डिभिजनका १४ गरी कुल ४२ क्लबको उपस्थिति पुनः अर्को वर्ष नहुने पक्का भएको छ । यसो हुँदा हरेक क्लबबाट न्यूनतम ३० र अधिकतम ५० गर्दा १२५० देखि २१०० खेलाडी अर्को एक वर्ष खेल्नबाट वञ्चित भएका छन् ।’
यसपटक पनि ‘ए’ डिभिजन लिग नहुने हो भने राष्ट्रिय खेलाडीसहित शीर्ष डिभिजन लिगको अनुभव पाउनुपर्ने झण्डै एक हजार बढी खेलाडी व्यावसायिक फुटबल खेल्नबाट वञ्चित हुने संघको निष्कर्ष छ । ‘राष्ट्रिय लिगमात्र आयोजना गर्दा ए, बी र सी डिभिजनका अघिल्लो संस्करण खेलेका खेलाडीसँगै नेपालको उमेर समूहबाट खेलेका खेलाडीलगायत अन्य नयाँ खेलाडीले खेल्न नपाउने भएका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘एन्फाको पछिल्लो निर्णयले हामीलाई निकै दुखित र आक्रोशित पनि तुल्याएको उल्लेख गर्दै संघले भनेको छ, खेलाडीको मर्म र भावनामाथि खेलवाड नै गर्ने यस निर्णयको खेलाडी संघ घोर भत्र्सना गर्दै एन्फा र क्लबहरूको यो कदमविरुद्ध मौखिक, लिखित र सामाजिक सञ्जालबाट उठेर अब सडक संघर्षमै उत्रन बाध्य भएको महसुस गराएको छ । यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी एन्फा हुनेछ ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच