मिनु शर्मा (सपना) कार्यकारी निर्माता रहेको तथा टंक बुढाथोकीको निर्माण एवं निर्देशित चलचित्र ‘मनबिनाको धन’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई लिएर निर्माण पक्ष यतिबेला उत्साहित छ । सार्वजनिक चलचित्रका गीत र ट्रेलर एवं प्रचार सामग्रीमार्फत दर्शकमाझ बनाएको हाइपका कारण व्यापारिक रूपमा सुखद् ओपनिङ गर्नेमा निर्माणपक्ष आशावादी देखिएको छ । मुख्य भूमिकामा अशोक दर्जी हुनुहुन्छ । अशोकको संघर्षदेखि सफलतासम्मको कथामा यो चलचित्र निर्माण भएको हो । चलचित्रमा मनोरञ्जनसँगै सन्दैश रहेको शर्मा बताउनुहुन्छ । लामो समयदेखि ज्वलेरी व्यवसायमा आबद्ध कार्यकारी निर्माता सपनाले ज्वलेरी व्यवसायलाई काठमाडौंदेखि दुबईसम्म फैलाउनुभएको छ । नेपालकै लोकप्रिय जेएनडी ज्वलेरीको व्यावसायिक सफलतापछि उहाँले आफ्नो शाखा विस्तार गर्दै दुबईको बरदुबईमा पाँचौं शोरूम सञ्चालनमा ल्याउनु भएको छ । महिला उद्यमी उहाँले यसअघि केही प्रस्तुतिमा आफूलाई कलाकारको रूपमा पनि प्रस्तुत गर्नुभएको छ । सामाजिक सञ्जाल टिकटकमा लोकप्रिय शर्मा सामाजिक क्षेत्रमासमेत सक्रिय हुनुहुन्छ । चलचित्र ‘मनबिनाको धन’की कार्यकारी निर्माता मिनु शर्मा (सपना)सँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-
यही शुक्रबारदेखि यहाँले निर्माण गरेको चलचित्र ‘मनबिनाको धन’ प्रदर्शनमा आउँदैछ कतिको उत्साहित हुनुहुन्छ ?
यहाँले भनेजस्तै हामी सबैको मिहिनेतले निर्माण भएको एउटा राम्रो चलचित्र ‘मनबिनाको धन’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यतिबेला यो चलचित्रलाई लिएर उत्साहित छौ । चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । सेन्सर बोर्डबाट यो सर्टिफिकेट पाएसँगै यो चलचित्रलाई सबै उमेर समूहका दर्शकले सजिलै हेर्न पाउनुहुनेछ । सेन्सरका अधिकांश कर्मचारीहरूले अशोक दर्जीको विषयवस्तुमा निर्माण भएको ‘मनबिनाको धन’ धेरै राम्रो चलचित्र बनेको भन्दै खुलेरै प्रशंसा गर्नुभएको थियो । उहाँहरूले यो चलचित्रलाई व्यवसायिक सफलताको शुभकामनासमेत दिनुभएको छ । चलचित्रको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले हामीलाई ठूलो हौसला मिलेको छ । चलचित्रलाई पनि दर्शकले मन पराउने हामीले विश्वास लिएका छौ ।
चलचित्रले सुखद् ओपनिङ गर्नेमा कतिको अपेक्षा गर्नुभएको छ ?
एकदमै अपेक्षा गरेका छौ । चलचित्रको ट्रेलरलाई युट्युबमा पछिल्लो समयसम्म दश लाख बढी पटक हेरिसकिएको छ । यसका गीतलाई पनि श्रोता÷दर्शकले अत्यधिक मनपराइदिनु भएको छ । चलचित्रले प्रचार सामाग्रीमार्फत दर्शकमाझ बनाएको हाइपका कारण व्यापारिक रूपमा सुखद् ओपनिङ गर्नेमा हामीले अपेक्षा लिएका छौ ।
कस्तो चलचित्र हो यो ‘मनबिनाको धन’ ?
टंक बुढाथोकीले निर्देशन गरेको यो चलचित्रको मुख्य भूमिकामा अशोक दर्जी हुनुहुन्छ । अशोकको संघर्षदेखि सफलतासम्मको कथामा यो चलचित्र निर्माण भएको हो । यसै चलचित्रमार्फत संगीतकार तथा गायक टंक बुढाथोकीले निर्देशनमा डेब्यु गर्नुभएको छ । चलचित्रमा उहाँकै कथा र संगीत निर्देशन रहेको छ । ‘हिरोदेखि जिरोसम्मको कथा’ भनिएको छ । चलचित्रमा अशोकसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायत कलाकारको निकै राम्रो र सशक्त अभिनय गर्नुभएको छ । यसमा टंक स्वयंको कथा छ भने पटकथा शिवम् अधिकारीले तयार पार्नुभएको हो । विष्णुमाया मैनाली निर्माता रहेको चलचित्रमा जी.पी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा हुनुहुन्छ भने म मिनु शर्मा (सपना) कार्यकारी निर्माता रहेकी छु । टीकाराम बुढाथोकी यो चलचित्रका क्रियटिभ निर्देशक हुनुहुन्छ । चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ । यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ ।
यस चलचित्रमा यहाँको छोरीको पनि अभियन छ, होइन ?
हो, मेरो छोरी साम्राज्ञी थापा यस चलचित्रमा बालकलाकार रूपमा अभिनय गरेकी छन् ।
तपाईंले अभिनय गर्नुभएन ?
टंकजीले प्रस्ताव त गर्नुभएको थियो । तपाईं राम्रो कलाकार पनि हुनुहुन्छ यस चलचित्रमा तपाईंको पनि अभिनय रहन्छ है भन्नुभएको थियो । मेरो लागि रोल पनि थियो । तर, मैले नै समय दिन भ्याइन ।
यहाँ ज्वलेरी व्यवसायी हुनुहुन्छ यो चलचित्रमा निर्माताको रूपमा कसरी जोडिनुभयो ?
हो, तपाईंले भने जस्तै म व्यवसायमा संलग्न छु । चलचित्र क्षेत्रमा म पहिला पनि थिए । केही निर्माण र केही अभिनयमा जोडिएको छु । यस चलचित्रका विषयमा टंक बुढाथोकीले प्रस्ताव गर्नुभयो । उहाँ स्क्रिप्ट लिएर धेरै पटक म कहाँ आउँनुभयो । सुरु-सुरुमा लगानी नगरौ कि जस्तो लागेको थियो । तर, जब टंकजीका सबै कुरा सुने अनि लगानी गरे ।
यो चलचित्र अशोक दर्जीको बायोपिक हो ?
अशोक दर्जीको पहिलो लोकप्रिय गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ को नाममा यो चलचित्र निर्माण गरिएको हो । चलचित्रले अशोकको विगतदेखि वर्तमानसम्मको कथा प्रस्तुत गर्दछ । यो चलचित्र अशोकको वरीपरि घुमेपनि पूर्ण बायोपिक भन्न मिल्दैन । यो कथा पूर्णरूपमा अशोकको मात्र होइन । चलचित्रमा मनोरञ्जन पनि चाहिन्छ त्यसै हिसाबले बनाइएको छ । यो चलचित्रले नेपालको विद्यालमा केही सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ । यो पूर्णरूपमा घरका सबै सदस्य सिनेमाघरमा गएर हेर्ने चलचित्र निर्माण भएको छ । यसले दर्शकलाई भरपूर मनोरञ्जनका साथै केही सन्देश पनि दिन्छ । यो एउटा चलचित्रमात्रै नभए अभियान पनि हो ।
कति जति लगानीमा निर्माण भएको चलचित्र हो ?
सबै गरेर दुई करोड जति यस चलचित्रमा लगानी भएको छ ।
चलचित्रले व्यावसायिक सफलता हात पार्ला त ?
मैले माथि पनि भने हामी सबैले निकै मिहिनेत गरेर एउटा राम्रो नेपाली चलचित्र सिनेमाघरमा ल्याउँदै छौ । यसले व्यावसायिक सफलता पाउनेमा हामी आशावादी छौ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच