जेन-जी विद्रोहको दुई महिना भयो । २३ भदौको हत्याकाण्ड र २४ भदौको विध्वंशले आघातमा परेको मुलुकको नुर अझै उठ्न सकेको छैन । समाजका सबै व्यक्ति, वर्ग, समुदाय, पेशा, व्यवसाय, संस्था स्वाभाविक गतिमा फर्कन सकेका छैनन् । यस विद्रोहले नेपाल राज्य सञ्चालनमा पुगेका दल, कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र, जासुसी सूचनाको अवस्था, मौका कुरेर बसेका देशीविदेशीका दाउ सबै छताछुल्ल बनाइदियो । युवाद्रोहको मार तीन दशकदेखि राज्यसत्ताको हालीमुहाली चलाइरहेका दलहरूमा यति पर्यो कि उनीहरूको अवस्था झण्डै-झण्डै बेहोस् जस्तो छ । युवा विद्यार्थीको अग्निज्वालाले गठबन्धन सत्ता चलाइरहेका विघटित संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित सबैजसो दललाई पानीपट्टी लगाउनुपर्ने अवस्थामा पुर्याइदिएको छ । यस लेखमा भने २०७९ को चुनावी परिणाममा पहिलो दल बनेको कांग्रेसका बारेमा चर्चा गरौं ।
नेपाली कांग्रेसमा यति बेला निकै ठूलो हलचल छ । अझ भनौं वैचारिक मन्थनभन्दा शक्ति प्राप्तिका लागि कलह छ । तीन दशकदेखि पार्टी-राज्यसत्तामा रहेकाहरूको यथास्थितिवाद र पार्टी र देशमा नयाँ सोच र अग्रगमन चाहनेहरूबीच निकै ठूलो रस्साकस्सी चलेको छ । परिवर्तनको हावा बलियो कि यथास्थितिको किलो जड भन्ने देखिएको छ । २४ भदौको विध्वंश, शारीरिक रूपमा सांघातिक आक्रमण, घर तथा पार्टी कार्यालयसमेतको आगजनी र तोडफोडपछि पार्टीसभापति शेरबहादुर देउवाले सक्रिय नेतृत्व परित्याग गरेका छन् । कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्, उपसभापति पूर्णबहादुर खड्काले । देउवाले सक्रिय नेतृत्व परित्याग गर्दा नियमित अधिवेशन गर्दै पार्टीलाई अगाडि बढाउन खड्कालाई जिम्मेवारी दिएका हुन् ।
इतिहासमा पार्टी स्थापना गर्ने नेताहरूको लोकतान्त्रिक सोच, व्यवहार र प्रतिबद्धताका कारण नेपाली कांग्रेस नेपालमा हालसम्म पनि जनताले पत्याएको एक मात्र लोकतान्त्रिक पार्टीका रूपमा रहिरहेको हो । विडम्बना वर्तमानमा रहेका नेतृत्वको ध्यान फगत सत्ता, शक्ति र सम्पत्ति बन्दा पार्टी र नेतृत्वको दूरावस्था दुनियाँले देख्नुपरेको यथार्थ कांग्रेसका नेताहरूले बुझून् ।
उसो त नेपाली कांग्रेस चाहेर पनि जेन-जी वा नयाँ दलहरू जस्तो शतप्रतिशत युवावयमा भर पर्न सक्दैन । जसको इतिहास नै शताब्दी नजिक छ, उसले ४० मुनिकालाई मात्र पार्टीमा स्थान दिन्छु भनेर सम्भव छैन । तर, आवश्यकता परिवर्तनको हो । चेतको हो । युवा र प्रौढ दुबै समूहलाई मिलाएर लैजान सक्ने नेतृत्वको हो । समस्या उमेरको मात्र होइन । आचरणको हो । युवा भन्दैमा सबै निष्कलंक, पारदर्शी र जुझारु हुन्छन्, प्रौढ भन्ने सबै भ्रष्ट, अपारदर्शी वा गतिहीन भन्ने भाष्य सही हुँदैन । पुराना भनिएका र नयाँको शीरपोश पहिरिएर उत्रिएकाहरूको आचरण पनि समयले असान्दर्भिक बनाएका नेतृत्वको भन्दा धेरै भिन्न छैन ।
प्रश्न कहाँ हो भने, जुन कारण र आचरणले समाज उद्वेलित भयो, विद्रोह भयो, असन्तोषको ज्वाला भड्कियो त्यो प्रवृत्तिका नाइकेहरूलाई जस्ताको तस्तै राखेर परिवर्तित सन्दर्भमा ती व्यक्ति, संस्था र समाजको रूपान्तरण सम्भव छैन । यो तथ्य हो । कसैको अनुहार कसैलाई मन नपर्नु स्वाभाविक होला तर कांग्रेसभित्र आज जुन बहस चलिरहेको छ, यसलाई यथास्थितिमा राखेर जनतामा पुग्दा उसका प्रतिनिधिहरूलाई जनताले सहज स्वीकार्न सक्ने अवस्था छ ?
स्वाभाविक हो, परिवर्तनका समयमा संक्रमणमा वा अगाडि र पछाडि धकेलिँदाका समयमा घर्षण हुन्छ । तान्ने र धकेल्नेबीचको द्वन्द्वमा सकारात्मक ऊर्जाको बल सबल भयो भने त्यो समाज अगाडि बढ्छ । अन्यथा समाज जमेको पानीको नियतिमा पुग्दछ । कांग्रेसमा अहिलेको बहस र द्वन्द्वलाई त्यही रूपमा बुझ्नु जरुरी छ । पार्टी सभापति शेरबहादुर देउवाले सक्रिय जिम्मेवारी स्थगन गरेपछि धेरैले विश्वास गरेका थिए, कांग्रेस तत्काल महाधिवेशनमा केन्द्रित हुनेछ । यसै पनि कांग्रेसको विधानले दिएको स्वाभाविक चार वर्षे कार्यकाल सकिएको छ ।
इतिहासमा पार्टी स्थापना गर्ने नेताहरूको लोकतान्त्रिक सोच, व्यवहार र प्रतिबद्धताका कारण नेपाली कांग्रेस नेपालमा हालसम्म पनि जनताले पत्याएको एकमात्र लोकतान्त्रिक पार्टीका रूपमा रहिरहेको हो । विडम्बना वर्तमानमा रहेका नेतृत्वको ध्यान फगत सत्ता, शक्ति र सम्पत्ति बन्दा पार्टी र नेतृत्वको दूरावस्था दुनियाँले देख्नुपरेको यथार्थ कांग्रेसका नेताहरूले बुझून् । नीति, सिद्धान्त, विचार नमिल्ने दुई ध्रुवका दलबीच साँठगाँठ गरेर निर्वाचनमा जानु, संसद्को पहिलो ठूलो दल भएर पनि तेस्रो र दोस्रो दलसँग अप्राकृतिक सत्ता साझेदारीमा लाग्नु, सदनका दुई ठूला दलबीच गठबन्धन बनाएर सरकार बनाउनु, वर्तमान नेतृत्वको सैद्धान्तिक र नीतिगत रूपमा गम्भीर विचलन थियो ।
व्यवहारिक रूपमा भन्ने हो भने यो सबै सत्ता र सम्पत्तिमा लिप्त रहँदा गरिएका अनेकन भ्रष्टाचारजन्य कुकृत्यलाई छोप्ने खेलो थियो । सदनका दुई ठूला दल कांग्रेस र एमालेबीच सरकार गठनका लागि गरिएको गठबन्धन नै २३-२४ भदौको युवाद्रोहको कारण थियो । संविधान संशोधनको लेपन लगाएर बनाइएको गठबन्धन फगत त्यस समयमा जोडिएका दुई ठूला भ्रष्टाचारबाट जोगिन थियो । नक्कली भुटानी शरणार्थी र गिरि-बन्धु चियाबगानलगायत प्रकरणमा थालिएको अनुसन्धान ओली र देउवा निवासतर्फ जोडिन थालेपछि रातारात घोषणा गरिएको थियो, काङ-माले गठबन्धन ।
संविधान संशोधन त निर्वस्त्र भएको लाज ढाक्ने बाहना थियो । यसबीचमा संविधान संशोधन वा ठूला भ्रष्टाचारका प्रकरणको अनुसन्धानमा केही गरिएन । बरू ती अनुसन्धानमा संलग्न अधिकारीहरूको पजनी गरिए । कांग्रेस किनाराको लाचार साक्षी बनिरह्यो । त्यसैमा थपियो, भूराजनीतिक संवेदनशीलतामा प्रधानमन्त्री ओलीले देखाएको केटौले कम्युनिष्ट चरित्र । परिणाम, बिचौलियाले बोकेर लगेको पैसामा निदाउने नेतृत्वले घर–सम्पत्ति, इज्जत, प्रतिष्ठा, पार्टी, देश नै जलिरहँदा पनि सुइक्क सूचना पाएन । भ्रष्टाचार र सामाजिक सञ्जाल नियन्त्रणको विरोधमा उत्रिएका युवामाथि बर्बर राज्यआतंक भयो । दर्जनौं युवा मारिए । भोलिपल्ट विध्वंशको पराकाष्ठा देख्नुपर्यो ।
यस्तोमा कांग्रेस त्यही बासी नेतृत्व, विचार र घोषणा बोकेर जनतामा जाने सोच्दैछ ? वा परिवर्तनको शंखघोष गर्नेहरूलाई बासी बहुमतको डण्डा लगाउने सोच्दैछ ? सभापति देउवाले जति सुझबुझ देखाएर उपसभापति खड्कालाई कार्यबाहक सुम्पँदै महाधिवेशन मंसिरभित्रै गर्न अख्तियारी दिए, त्यो इमान पनि उनकै पक्षीय भन्ने बाँकी नेताले देखाइरहेका छैनन् । चार दशकयता मात्र पाँचपटक प्रधानमन्त्रीसहित देउवाले पार्टी र राज्यसत्ताको भोग गरे । त्यसैले अब कांग्रेसमा देउवा वा उनीसरहका जो २०४६ को परिवर्तनयता लगातार लाभको पदमा रहेका छन्, उनीहरूले स्वअवकाश लिनुपर्दछ । नयाँहरूलाई पार्टी ढोका खोलेर नयाँ ऊर्जा भर्न दिनुपर्दछ । त्यो इमान उनीहरूले देखाऊन् ।
अर्कातिर, कांग्रेसको गति रोक्न देउवालाई सघाउँदै अनवरत लाभको पद लिइरहेका ‘सातभाइ’ लागेको चर्चा छ । व्यवहारमा पनि त्यस्तै देखिँदो छ । कहिले सघाएर त कहिले धम्क्याएर लाभको पदमा आसीन उनीहरूको कर्मको समीक्षा त हुने नै छ । पार्टी र राज्यसत्ताको रस चार दशकयता अनवरत पिइरहेका हुन् । त्यसैले एकठ्ठा भएका सात भाइलाई दाइ देउवा जसरी निवृत्त हुन मन छैन भने महाधिवेशनमा कार्यकर्ता र चुनावमा जनताको मन जित्न जाने बाटो खुल्ला छ तर युग र परिवर्तनको मार्ग छेकेर इतिहासमा ऐतिहासिक योगदानले रंगिएको पार्टीलाई गत्यावरोध गरिरहने छुट छैन ।
पछिल्ला दशकहरूमा कांग्रेसमा पराक्रमीभन्दा प्रदक्षिणाकर्मीहरूले अवसर र अख्तियारी दुबै पाउने प्रवृत्ति मौलाउँदो छ । कांग्रेसको नर्सरी मानिएको विद्यार्थी युवालगायत संगठनमा दलालीमा पोख्तहरू पुरस्कृत भइरहेका छन् । भागबण्डाको कुसंस्कृतिले संगठन गुट होइन, गिरोहमा परिणत भएको छ । विद्यार्थी संगठनमा रहेकाहरू निजी विद्यालय सञ्चालकलाई धम्क्याएर रकम असुलीदेखि सरकारी क्याम्पसहरूमा स्ववियु कब्जा गरेर कमाउने धन्धामा छन् । युवा भनिएकाहरूको काम नै बिचौलियालाई नेताको दैलो देखाउने दरवानीमा सीमित छ । आक्रोश र निराशाको भट्टीमा पिल्सिएका ती युवा विद्यार्थीको मष्तिष्कमा आगो सल्काउन कुन गाह्रो भयो र ? कांग्रेसको कुनै बैठकमा यी र यस्तै जनतासँग जोडिएका कुनै मुद्दामा बहस हुन छाडेको कति दशक भयो ?
कार्यबाहक सभापति खड्काले पनि काँधमा इतिहासले दिएको गम्भीर जिम्मेवारीलाई केही थान नेताका स्वार्थ पूरा गर्न नरोकून् । कांग्रेसलाई चुनाव अगावै महाधिवेशनमा लगेर नयाँ ऊर्जासहित निर्वाचनमा लैजान सके त्यसको जस र प्रतिफल दुबै पाउने सुनौलो क्षितिजमा उनी छन् । यस्ता अवसर कांग्रेसको जीवनमा कमै नेताले पाएका छन् । खड्काले समयको आवाज सुनून् । पार्टी थानकोटको डिलमा पुगेका केही थानका लागि स्वाहा पार्ने कि ? सुन्दरीजलबाट उदाउँदै गरेका असंख्य किरणहरूका लागि जोगाउने ? ठण्डा दिमागले निर्णय लिऊन् ।
कांग्रेसका बाँकी नेताकार्यकर्ताले जाने जेन-जीका नाममा भएको द्रोहले कम्युनिष्टको दौरा च्याप्दै सत्यानाशको बाटोमा होमिएको कांग्रेसलाई ब्युँझाएर एक पटक फेरि जनताका बीचमा असली लोकतान्त्रवादीका रूपमा स्थापित गराउन सक्दछ तर त्यसका लागि उसले भ्रष्टाचार, कुशासन र दलतन्त्रबाट पार्टी र देशलाई मुक्त गराउने जिम्मेवारी निर्वाह गर्नुपर्दछ ।
कांग्रेसका बाँकी नेताकार्यकर्ताले जाने जेन-जीका नाममा भएको द्रोहले कम्युनिष्टको दौरा च्याप्दै सत्यानाशको बाटोमा होमिएको कांग्रेसलाई ब्युँझाएर एकपटक फेरि जनताका बीचमा असली लोकतान्त्रवादीका रूपमा स्थापित गराउन सक्दछ तर त्यसका लागि उसले भ्रष्टाचार, कुशासन र दलतन्त्रबाट पार्टी र देशलाई मुक्त गराउने जिम्मेवारी निर्वाह गर्नुपर्दछ । चिचिला बच्चाहरूलाई अन्धाधुन्ध बर्साइएका गोलीबाट हत्या गरिएपछि अराजक विध्वंशले देशलाई नै अग्निकाण्डमा होम्यो । आज देश र जनता दुबै अन्यौलको अवस्थामा छन् । सत्ता अपदस्थ एमाले र तिनका अध्यक्ष केपी ओली मुलुकलाई फेरि मुठभेडमा लैजान उद्दत छन् । मिलिट्यान्ट प्रवृत्तिका संगठन घोषणा र कार्यकर्तालाई उत्तेजनात्मक आदेश दिइरहेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले त २४ गतेको विध्वंशमा कार्यकर्ता नै परिचालन गरेको पुष्टि हुँदैछ । त्यसको हिस्सा पाउने आशामा रहेका उनी तत्काल त्यस्तो नदेखिएपछि समयले उत्तरार्धतिर मिल्काएका नेताहरूको भेला गराएर पार्टी एकताको नृत्य मञ्चन गरिरहेका छन् । ती भद्दा दृश्य देख्नु नपरोस् भन्दै उनकै पार्टीका नेताहरू विरक्तिएका छन् । राप्रपा राजाको नाम भजाएर रुढिवादी मत आफूतिर कायमै राख्ने खेलमा निरन्तर छ । मधेसका दलहरू क्षेत्रीयतावादको सोचबाट उक्लनै सकेनन् । रास्वपा रविको जेलकाण्डले बेहोस् छ । रविको भूतबाट उत्रन नसकेकाहरूले पार्टी बनाउने त टाढाको कुरा भयो ।
जेनजीलाई भौतिक र मनोवैज्ञानिक रूपमा सघाएको आशंका गरिएका र अन्टसन्ट अभिव्यक्तिबाटै भए पनि दलहरूलाई चुनौती दिइरहेका काठमाडौं महानगरका मेयर बालेनको पछिल्ला अभिव्यक्ति र व्यवहार समर्थक र शुभेच्छुकहरूकै लागि प्रतिरक्षा गर्न गाह्रो परिरहेको छ । त्यसमा पनि उनी स्वयं नेतृत्वमा उत्रने सम्भावना कम देखिएको छ । केही गरी उत्रिए पनि उनका राजनीतिक परिपक्वता र सोच कमजोर देखिँदो छ । यस्तोमा कांग्रेसले आफूलाई जिम्मेवार दलका रूपमा उभ्याउने हो भने दलभित्रको सुधार तथा रूपान्तरण गर्न ढिलो नगरोस् । केही बासी र अतृप्त आत्माहरूको लहैलहैमा सम्भावना र भविष्यलाई स्वाहा नबनाओस् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच