काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पुनः आन्तरिक विवाद चर्किएको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले मंगलबार आफूनिकट नेताहरूको भेला गर्नुभएको हो । महामन्त्री राणा पक्षले विकसित परिस्थितिमा पार्टीको संस्थागत उपस्थिति नदेखिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको शैलीप्रति प्रश्न उठाएको छ । भेलाले पछिल्लो राजनीति घटनाक्रममा राप्रपा मध्यस्थकर्ता हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेको छ । गत १५ चैत र जेठमा भएको राजसंस्था पुनःस्थापनाका आन्दोलनहरू तुहाउने कार्यमा नेतृत्व लागेको भन्ने आमधारणा बन्न गएको असन्तुष्ट पक्षको जिकिर छ । असन्तुष्ट पक्षको भेलाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन देखिनुलाई विरोधाभाषी तर्कको संज्ञा दिएको छ ।
राजा र अन्य सरोकारवालाबीच मध्यस्थताको पुल बन्न नसक्नुले राप्रपाको उपादेयता र विश्वसनीयतामाथि नै पार्टीभित्र र बाहिर एकैपटक प्रश्नचिह्न खडा भएको छ । मन नपरेको मान्छेलाई आन्तरिक चुनावमा हराउने पूर्ण छुट हुँदाहुँदै निर्वाचनसंहिता र विधान पालना नगरी नेता कार्यकर्तालाई किनारा लगाएको भन्दै असन्तुष्ट पक्षले आक्रोश व्यक्त गरेको हो ।
असन्तुष्ट पक्षले अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण गराइएको पत्रमा भनिएको छ, ‘हाम्रो पार्टी कहिले सचेत भएन । यस्ता असंगत कार्यबाट सबैमा निराशा बढ्न गयो साथै देशको अभिभावक संवैधानिक राजसंस्था राष्ट्रप्रमुख रहने प्रचलित संसदीय व्यवस्थामा विना अध्ययन, हचुवाका भरमा अध्यक्षात्मक राज्य प्रणालीमा मात्रै हुने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग राख्नु अमिल्दो र विरोधाभाषी कुरा हो ।’ अध्यक्ष लिङ्देनले जिम्मेवार नेताहरूलाई विधानविपरीत पदमुक्त गरेको आरोप लगाउँदै पत्रमा भनिएको छ, ‘यस्ता स्वेच्छाचारी कारबाहीको लामो सूची बनिसकेको छ । एकता भाँड्ने, पार्टीमा विग्रह ल्याउने यस्ता गलत रवैया सच्याउनु जरुरी छ ।’
महामन्त्री राणा पक्षका नेताहरूले महाधिवेशनको मिति तोक्न, विधानविपरीत भएका निलम्बन, निष्कासन र कारबाहीसम्बन्धी निर्णय फिर्ता गर्न, निष्पक्ष र सरल रूपमा महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम हुनेगरी सदस्यहरू थप्न र पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्ष सहितको विवाद समाधान समिति गठन गर्न माग गरेका छन् । भेलाको प्रस्तावनामा भनिएको छ, ‘संविधानभन्दा बाहिरबाट राष्ट्रपतिले अन्तरिम सरकार गठन गरी २०८२ फागुन २१ गते निर्वाचन गर्नेगरी जिम्मेवारी प्रदान भएबाट संविधानसँग सहकार्य गर्ने राप्रपाको पूर्व-रणनीतिक निर्णयको उपादेयतामाथि पनि अब प्रश्न उठेको छ । विकसित नयाँ परिस्थितिमा राप्रपाको संस्थागत उपस्थिति देखिएको छैन । ‘जेन-जी’ आन्दोलनको भावना सम्बोधन गर्न जनचाहनाअनुकूल संविधान संशोधन, पुनर्लेखन नभएसम्म निर्वाचनले मात्र समाजको चुरो समस्या समाधान गर्न र बढ्दो राष्ट्रिय संकटको निदान खोज्न सक्दैन ।’
भेलाले गत भदौ २३ र २४ मा ‘जेन-जी’ विद्रोहबाट अपदस्थ भएका राजनीतिक दलहरूबीच २०६३ साल मंसिरमा गरिएको १२ बुँदे सम्झौताको राजनीतिक औचित्य समाप्त भएको दाबीसमेत गरेको छ । महामन्त्री राणाले नियमित महाधिवेशन मंसिर १७ गतेभित्रै गर्नुपर्ने अडान राख्नुभएको छ । तर, पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला र प्रदेश अधिवेशनकै लागि मंसिर मसान्तसम्मको समय तोक्नुभएको छ । २०७८ मंसिरमा भएको महाधिवेशनबाट निर्वाचित राप्रपाको वर्तमान नेतृत्वको कार्यकाल आगामी मंसिर १८ गते सकिँदै छ ।
गुटका भेला बन्द गर्न शाहीको चेतावनी
पार्टीभित्र आन्तरिक किचलो बढिरहेका बेला नेता ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले पार्टी नेतृत्वलाई गुटबन्दी छोडेर एकजुट हुन चेतावनीसहितको आग्रह गर्नुभएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणालाई लक्षित गर्दै शाहीले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै आफ्नो असन्तुष्टि र आक्रोश व्यक्त गर्नुभएको हो । नेताहरूलाई व्यक्तिगत स्वार्थ र अहम् त्याग्न तथा राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गर्दै शाहीले भन्नुभएको छ, ‘राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन होस् वा पार्टी महामन्त्री धवलशमशेर राणा होस्, यसरी गुट–उपगुटका भेला तत्काल बन्द गर । यस्तो अवस्थामा राष्ट्रवादीहरू एक ढिक्का हुने हो, फुटेर होइन, जुटेर अगाडि बढ्ने हो । यदि तिमीहरू मिलेर जान सक्दैनौँ भने युवाहरूको भविष्य बर्बाद गर्ने तिमीहरूको अधिकार छैन ।’ शाहीले नेताहरूलाई राष्ट्रवादी शक्तिलाई कमजोर नबनाउन र जनताको आशामाथि तुषारापात नगर्न चेतावनीसमेत दिनुभएको छ ।
राप्रपा नेपालद्वारा एकता प्रस्ताव
समान विचार भएका राजनीतिक दल र शक्तिहरूसँग सहकार्य र एकता गर्नका उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालद्वारा गठित वार्ता समितिले मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरी औपचारिक रूपमा पार्टी एकताको प्रस्ताव गरेको छ । राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा रहेको समितिले ललितपुरको लामाटारस्थित लिङ्देन निवासमा भेटघाट र छलफल गरेको हो ।
वार्ता समितिका सदस्य तथा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार छलफल सकारात्मक रूपमा अघि बढेको छ । उहाँले मुलुकको पछिल्लो राजनीतिक अवस्था, ध्रुवीकरण र समान विचारधाराका शक्तिबीच एकता तथा सहकार्यको आवश्यकताबारे गम्भीर छलफल भएको जानकारी दिनुभयो ।
‘राप्रपा अध्यक्ष लिङ्देनले एकता प्रस्तावलाई सकारात्मक रूपमा लिनुभएको छ । उहाँले पार्टीभित्र छलफल गरी चाँडै पुनः वार्तामा बस्ने बताउनुभयो’, बर्तौलाले भन्नुभयो । लिङ्देनसँगको भेटमा वार्ता समितिका संयोजक पराजुलीसँगै सदस्यद्वय तेज कुरुङवाङ र राजाराम बर्तौला सहभागी हुनुहुन्थ्यो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच