काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको दुईवटा कार्यतालिका पेस गरिएको छ । संस्थापन र संस्थापन इतर समूहले १५औँ महाधिवेशन नियमित गर्ने तर फरक-फरक मितिमा गर्न प्रस्ताव गरेका हुन् । पार्टी महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले पार्टी महाधिवेशनको दुई फरक कार्यतालिका पेस गर्नुभएको छ । मंगलबारदेखि पुनः सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टी महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेभित्र नियमित महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएको छ । बैठकको सुरुवातमा सम्बोधन गर्दै उहाँले पुस १६ देखि १९ सम्म १५औँ महाधिवेशनको प्रस्ताव राख्नुभएको हो । थापाले पुस ५ र ६ गतेदेखि वडा, पालिका र प्रदेश अधिवेशन सुरु गरेर पुस १६ देखि १९ गतेभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका पेस गर्नुभएको छ । थापाले मंसिर १० गतेसम्म क्रियाशील सदस्यता टुंग्याउने, २४ गतेसम्म अन्तिम सूची प्रकाशित गर्ने र २७ गते वडा तहको अधिवेशन गर्न प्रस्ताव गर्नुभएको छ ।
यस्तै, पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्न महामन्त्री थापाको प्रस्ताव छ । यसअघि, जिल्ला र प्रदेशको पहिले गर्ने गरिएको भए पनि यसपटक महाधिवेशनपछि प्रदेश र जिल्लाका अधिवेशन गर्न सकिने थापाले उल्लेख गर्नुभएको छ ।
महामन्त्री थापाको काउण्टरमा संस्थापन पक्षले भने पार्टीको १५औँ महाधिवेशन आगामी २७-३० वैशाखसम्म नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले वैशाखको अन्तिम साता पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राख्नुभएको हो । सहमहामन्त्री यादवको कार्यतालिकामा मंसिर २० गतेसम्म क्रियाशील सदस्यता नवीकरण गर्ने पुस ५ गतेसम्म नयाँ सदस्यता वितरण गर्ने उल्लेख छ । पुस २० गतेसम्म क्रियाशील सदस्यता छानविन सम्पन्न गरी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने यादवको कार्यतालिकामा उल्लेख छ ।
चैत्र १ गते वडा अधिवेशन गर्ने, चैत्र ५ गते पालिका अधिवेशन गर्ने, चैत्र १२ गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने, चैत्र २० गते संघीय क्षेत्रीय अधिवेशन गर्ने, चैत्र ३० गते जिल्ला अधिवेशन गर्ने र वैशाख १५ गते सात प्रदेशको अधिवेशन गर्ने उल्लेख छ । वैशाख २७-३० गते १५औँ केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ । संस्थापन इतरका नेताहरूले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसमेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन् ।
निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नैपर्छ : महामन्त्री थापा
महामन्त्री थापाले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन गर्नैपर्ने अडान राख्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले कुनै पनि हालतमा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने अडान राख्नुभएको हो । निर्वाचन अगाडि नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले भन्नुभयो, ‘निर्वाचन अगाडि पार्टीको महाधिवेशन हुनैपर्छ । नियमित महाधिवेशन गर्नुपर्छ भन्ने मेरो भनाइ हो । यदि नियमित महाधिवेशन हुन सक्दैन भने विशेष भए पनि गरौँ ।’
सबै एजेण्डा सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको छ : कावा सभापति खड्का
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र आएका सबै विचारहरूलाई सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको जानकारी दिनुभएको छ । मंगलबारदेखि पुनः सुरु भएको केन्द्रीय समिति बैठकलाई सुरु गर्दै कार्यवाहक सभापति खड्काले कार्यसम्पादन समिति बैठकमा अनौपचारिक छलफल गरेको जानकारी दिँदै भन्नुभयो, ‘सबै एजेण्डाहरूलाई सहमतिमा टुंग्याउने गरी वातावरण बनाउने प्रयत्न भइरहेको छ । सहमतिका लागि अनौपचारिक बैठकहरू बस्दै जान्छ ।’
महामन्त्री थापालाई सिटौलाको प्रश्न- ‘नेतालाई गाली गर्ने फेसबुक सचिवालय बन्द गर्ने कि नगर्ने ?’
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महामन्त्री गगन थापाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउनुभएको छ । सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा महामन्त्री थापामाथि फेसबुक केन्द्रित पाँच प्रश्न गर्दै पूर्वमहामन्त्री सिटौलाले भन्नुभयो, ‘तपाईंले सामाजिक सञ्जालमा लेखेर पार्टी कब्जा गर्न खोज्नुभएको हो ? फेसबुकबाट सभापति छान्ने हो ? तपाईं आफू महामन्त्री हो भन्ने कुरा थाहा छ कि छैन ?’ उहाँले महामन्त्री थापालाई चरित्र सुधार्नसमेत आग्रह गर्नुभएको छ । जे कुरा भएपनि पार्टी बैठकमा राख्न र बाहिर गएर फेसबुकमा लेख्न नलगाउन पनि सिटौलाले आग्रहसमेत गर्नुभएको छ ।
पार्टी सिंगापुरबाटै चल्यो : जगदीश्वरनरसिंह केसी
नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता जगदीश्वरनरसिंह केसीले पार्टी केन्द्रीय कार्यालय सानेपा निरीह बन्न पुगेको आरोप लगाउनुभएको छ । काठमाडौंको थापागाउँमा महाधिवेशन पक्षधरले आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै नेता केसीले सिंगापुरबाट पार्टी चलेको आरोप लगाउनुभएको हो । ‘जेन-जी’ आन्दोलनपछि गम्भीर घाइते हुनुभएका पार्टी सभापति शेरबहादुर देउवा र पत्नि डा. आरजु राणा अहिले उपचारका लागि हाल सिंगापुर रहनुभएको छ । कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर देउवा थप उपचारका लागि सिंगापुर जानुभएको हो । त्यसतर्फ इंकित गर्नुभएका नेता केसीले पार्टी सिंगापुरबाटै निर्देशित हुन पुगेको टिप्पणी गर्दै भन्नुभयो, ‘सानेपा निरीह छ । सिंगापुरबाट चलेको छ । सिंगापुरबाटै निर्देशित छ । सिंगापुर शक्तिशाली र बलियो भएको छ । निर्वाचनमा आफूअनुकूल टिकट वितरण गर्न सिंगापुरबाट फर्कने अनि चुनावमा जानेगरी फर्कने तयारी छ ।’
विशेष महाधिवेशन माग्दै थापागाउँमा विशेष भेला
विशेष महाधिवेशन माग राखेर हस्ताक्षर गर्ने नेताहरूले पार्टी नेतृत्वलाई निर्वाचन अगाडि नै विशेष महाधिवेशनको निर्णय लिन आह्वान गरेका छन् । नेतृत्व र नीति परिवर्तन नगरी निर्वाचनमा जान नसकिने भन्दै उनीहरूले अब नियमित महाधिवेशन नभएर विशेष महाधिवेशन बोलाउनुपर्ने बताएका छन् । काठमाडौंका थापागाउँमा मंगलबार आयोजना गरिएको संस्थापन इतरपक्षको महाधिवेशन प्रतिनिधिको भेलामा बोल्ने अधिकांश नेताहरूले कुनै पनि बहानामा विशेष महाधिवेशन टार्न नमिल्ने बताएका छन् । केन्द्रीय कार्यसमितिमा निर्वाचन अगाडि कि पछाडि भन्ने विवाद बढिरहेका बेला यता संस्थापन इतरपक्षका महाधिवेशन प्रतिनिधिको भेलाले भने तत्काल विशेष महाधिवेशनको तिथि तोक्ने दबाब दिएका हुन् । काठमाडौंमा उपलब्ध महाधिवेशन प्रतिनिधिको भेला बोलाइए पनि देशभरबाट महाधिवेशन प्रतिनिधि जम्मा भएको दाबी गरिएको छ । विशेष महाधिवेशनको अगुवाइ गरिरहनु भएका नेता देवराज चालिसेका अनुसार काठमाडौंमा उपलब्ध महाधिवेशन प्रतिनिधिको भेलामा करिब एक हजारको सहभागिता रहेको थियो ।
६ लाखले गरे सदस्यता नवीकरण, दुई लाखले लिए नयाँ सदस्यता
६ लाख सदस्यले कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गरेका छन् । महामन्त्री गगन थापाले पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म ६ लाखले क्रियाशील सदस्यता नवीकरण गरेको जानकारी दिनुभएको हो । थापाले बैठकमा ६,७४३ वडामध्ये अधिकांश वडामा नवीकरण सम्पन्न भएको बताउनुभएको छ । केही वडामा आन्दोलन, विवाद र निर्वाचन क्षेत्रीय समस्या जस्ता कारणले ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म दुई लाख १७ हजार ९०० नयाँ सदस्यता वितरण भइसकेको जानकारी दिँदै थापाले भन्नुभयो, ‘यसपटक पार्टीले डिजिटल प्रणाली प्रयोग गर्दै क्रियाशील सदस्यता व्यवस्थापन गरेको छ । अब वडाको मतदाता संरचनाअनुसार महिला, युवा, समुदायगत सन्तुलन मिलाएर सदस्यता दिनुपर्छ ।’
प्रकाशमान सिंह निकटका नेता विशेष महाधिवेशन पक्षमा
निर्वाचनअघि कुनै हालतमा नियमित महाधिवेशन गर्न नहुने पक्षमा नेता प्रकाशमान सिंह उभिइरहेका बेला काठमाडौंका नेता कार्यकर्ता विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । १४औँ महाधिवेशनका ४७४३ प्रतिनिधिमध्ये ५४ प्रतिशत अर्थात् २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै निवेदन दर्ता गराएका छन् । सोही पक्षले मंगलबार काठमाडौंमा गरेको भेलामा सिंह निकटका नेताहरू पनि पुगेका हुन् । काठमाडौं कांग्रेस सभापति सबुज बानियाँ भेलामा पुगेका हुन् । त्यस्तै, संस्थापन र प्रकाशमान निकटका ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठ पनि भेलामा सहभागी भएका छन् । बानियाँ सिंह निकटका नेता हुनुहुन्छ । काठमाडौंमा अरू थुप्रै नेता कार्यकर्ता महामन्त्री थापाको पक्षमा खुल्दा काठमाडौंमा सिंह रक्षात्मक बन्नुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच