काठमाडौं । लामो अन्तरविरोध र संघर्षपछि अन्ततः माओवादीका ‘सुप्रिमो’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन ‘डेपुटी कमाण्डर’ जनार्दन शर्मा ‘प्रभाकर’ अलग हुनुभएको छ । हाल नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक रहनुभएका प्रचण्डले एकीकृत समाजवादीसहित नौ दलसँग एकता घोषणा गरेपछि उपमहासचिव प्रभाकर पार्टीबाट अलग हुनुभएको हो । एकता गर्ने निर्णयमा असहमति जनाउँदै प्रचण्डसँग राजनीतिक ‘डिभोर्स’ गर्नुभएका प्रभाकरले मंगलबार नयाँ राजनीतिक अवधारणासहित छुट्टै अभियान घोषणा गर्नुभएको हो । नयाँ अभियानमार्फत शर्माले ‘तेस्रो र नयाँ बाटो’ विकसित गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
माओवादीकै एक नेताअनुसार प्रचण्ड-प्रभाकरको राजनीतिक सम्बन्ध झण्डै ४० वर्ष पुरानो हो । प्रचण्ड र जनार्दनबीचको राजनीतिक सहयात्रा २०४२ सालमा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । विद्यार्थी आन्दोलन हुँदै जनयुद्धसम्म र शान्ति प्रक्रियापछि झण्डै ४० वर्ष उहाँहरूले सँगै राजनीतिक सहयात्रा गर्नुभयो । २०५२ सालमा जनयुद्ध सुरु भएपछि प्रचण्डले पार्टी कमाण्ड सम्हाल्दा जनार्दन संगठन र मोर्चामा खटिनुभएको थियो ।
नेकपा चौमबाट पूर्णकालीन राजनीतिमा क्रियाशील शर्मा २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा संयुक्त जनमोर्चाको उम्मेदवार (पराजित)समेत बन्नुभएको थियो । माओवादी सशस्त्र युद्धमा होमिँदा शर्मा पनि सैन्य फाँटको नेतृत्व गर्दै युद्धमा हिँड्नुभएको थियो । शर्मा २०५६ सालमा माओवादीको केन्द्रीय सदस्य हुनुभएको थियो । २०५७ सालमा पोलिटब्युरो तथा सेती महाकाली क्षेत्रीय ब्युरो इञ्चार्ज र कमिसार हुनुभयो । २०६० सालमा प्रचण्ड ‘जनमुक्ति सेना’को सुप्रिम कमाण्डर हुँदा शर्मा डिभिजन कमाण्डर हुँदै डेपुटी कमाण्डर हुनुभएको थियो । माओवादी शान्ति प्रक्रियामा आउँदा उहाँ ‘जनमुक्ति सेना’को डेपुटी कमाण्डर हुनुका साथै पार्टी पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो ।
प्रचण्ड पहिलोपटक भदौ २०६५ मा प्रधानमन्त्री हुँदा शर्मा शान्ति तथा पुनर्निर्माणमन्त्री भएर सिंहदरबार छिर्नुभएको थियोे । प्रचण्ड दोस्रोपटक २०७३ मा प्रधानमन्त्री हुँदा शर्मा ऊर्जामन्त्री हुनुहुन्थ्यो । उहाँले ऊर्जामन्त्री भएकै बेला नेपाललाई लोडसेडिङमुक्त गरिएको थियो । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उहाँले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । फेरि देउवाकै मन्त्रिपरिषद्मा अर्थ मन्त्रालय सम्हाल्नुभएको थियो । तर, पछिल्लो केही समयदेखि शर्माले प्रचण्डको नेतृत्व र कार्यशैलीमा प्रश्न उठाउँदै आउनुभएको थियो । ३६ वर्षदेखि माओवादी नेतृत्वमा रहनुभएका प्रचण्डले अब विश्राम लिनुपर्ने शर्माको मत थियो । ‘जेन-जी’ आन्दोलनपछि पनि शर्माले प्रचण्डलाई अब नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्नुभएको थियो । तर, प्रचण्ड टसमस नभएपछि अन्ततः शर्मा आफैँ पार्टीबाट अलग्गिनुभएको हो ।
प्रगतिशील अभियान घोषणा
प्रचण्डले एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गर्ने घोषणा गरेपछि माओवादी छोड्नुभएका नेता जनार्दन शर्माले प्रगतिशील अभियान नेपाल नामक अभियानको घोषणा गर्नुभएको छ । मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै शर्माले समाजवादी एकता र श्रमजीवी जनताको हितमा समर्पित नयाँ आन्दोलनको खाका प्रस्तुत गर्नुभएको हो । शर्माले घोषणा गरेको अभियानमा राम कार्की, अञ्जना विसंखे पनि सहभागी हुनुहुन्थ्यो । शर्मासहितका नेताले माओवादी आन्दोलनका बाँकी रहेका कार्यभार पूरा गर्दै वाम आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्ने बताएका छन् । अभियानले जारी गरेको विज्ञप्तिमा माओवादी आन्दोलनपछि नेपालमा कम्युनिष्ट आन्दोलन दिशाहीन बनेको र नेताहरू सत्ता तथा स्वार्थमा अल्झिँदा क्रान्तिकारी आदर्श कमजोर भएको उल्लेख छ । शर्माले माओवादी शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक घुम्ती भने पनि त्यसपछि दलाल पुँजीवादको संसदीय प्रणालीमा भासिँदा आन्दोलनको आत्मा कमजोर भएको बताउनुभयो । ‘हाम्रो नेतृत्वले नीतिहीनतालाई नै नीति बनायो । क्रान्तिकारी आदर्श र जीवन मूल्यहरू क्षय हुँदै गए । अब नयाँ पुस्तालाई वैचारिक शस्त्र र शास्त्रसहित सुसज्जित गर्दै नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ । शर्माले नेपालका मजदुर, किसान, उत्पीडित जाति र क्षेत्रका जनताको पक्षमा बोल्ने नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता औँल्याउनुभएको छ । अभियानले नेपाललाई स्वाधीन, सम्पन्न र समानतामूलक समाजवादी राज्य बनाउने लक्ष्य राखेको छ । शर्माले सबै वाम, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकजुट हुन आह्वानसमेत गर्नुभएको छ ।
प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो : शर्मा
नेता जनार्दन शर्माले माओवादी आयोजक कमिटीले आफ्नो क्षेत्राधिकारबाहिर गएर एकताको नाटक गरेको आरोप लगाउनुभएको छ । नेकपा एससहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँड्नुभएका शर्माले पत्रकार सम्मेलन गरेर एकताको नाममा महाधिवेशनलाई टार्ने काम भएको बताउनुभयो । प्रचण्डले माओवादी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको उहाँले दाबी गर्नुभयो । ‘पार्टीभित्र विधि र पद्धति स्थापित हुन नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उद्देश्यले एकता भइरहेको छ । त्यसले न देशलाई निकास दिन्छ, न त जनमत नै पाउँछ, आजैदेखि त्यहाँ भद्रगोल सुरु भइसक्यो । हजारौँको केन्द्रीय कमिटी बन्दै छन्,’ शर्माले भन्नुभयो, ‘हामीले त्यो कुरालाई स्वीकार गर्न सकेनौँ । त्यसैले हामीले पुनर्गठनको प्रगतिशील अभियान अघि बढाएका हौँ ।’ शर्माले नेतातन्त्र र भ्रष्टाचारविरोधी जगमा ‘जेन–जी’ विद्रोह भएको भन्दै यसलाई स्वीकार गर्दै पार्टीलाई रूपान्तरण गर्ने कोसिसहरू पार्टीभित्र असफल भएको उहाँको भनाइ छ ।
हाम्रो पिढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन : कार्की
माओवादी नेता राम कार्कीले आफूहरूले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्न नसकेको स्वीकार गर्नुभएको छ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफूहरूको पिढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गर्नुभएको हो । ‘जेन-जी’ युवाहरूको भावनाविपरीत भ्रष्टाचारका मुद्दा लागेका नेताहरू टाउकोमा कल्की झुण्डाएर ठूलो पदमा पुगेको उहाँको भनाइ थियो । ‘नेपालका राजनीतिक पार्टी र जनसमुदायबीच एउटा गहिरो र फराकिलो खाडल तयार भयो । खास गरेर हाम्रो पिढीले हाम्रो नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन’, उहाँले भन्नुभयो, ‘नेपालको कम्युनिष्ट आन्दोलन आज विघटन हुन पुगेको छ । २३ र २४ को नजरबाट हेर्दा पार्टीहरू विघटित भएका छन् । पार्टीहरूको केही अस्तित्व छैन ।’
जनार्दनजी तपाईंलाई हामीले लखेटेको होइन, फर्किनुस् : प्रचण्ड
माओवादी केन्द्रका संयोजक प्रचण्डले नेता जनार्दनलाई पार्टीमा फर्किन आग्रह गर्नुभएको छ । महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई मंगलबार प्रज्ञाभवन कमलादीमा सम्बोधन गर्दै प्रचण्डले शर्मालाई पार्टीमा फर्किन आग्रह गर्नुभएको हो । ‘जनार्दनजी बाहिर नजानोस्, फर्किनोस् । हामी तपाईंलाई गुमाउन चाहँदैनौँ,’ बैठकमा प्रचण्डले भन्नुभयो, ‘तपाईं भ्रमित नहुनोस् । तपाईं यो बैठकमा आफँै नआएको हो, हामीले लखेटेको होइन ।’ नेता शर्मा यसअघि सचिवालय बैठकमा आफ्ना कुरा राखेर बाहिरिनुभएको थियो । केन्द्रीय समिति बैठकमा भने उहाँ जानु नै भएन । कमलादीमा माओवादी केन्द्रीय कमिटी बैठक चलिरहँदा शर्मा ललितपुरमा पत्रकार सम्मेलन गरेर नयाँ अभियान घोषणा गर्दै हुनुहुन्थ्यो ।
नौवटा पार्टीको एकता घोषणा आज
नेकपा माओवादी केन्द्रसहित नौवटा पार्टीको एकता घोषणा आज (बुधबार) बिहान ११ बजे हुने भएको छ । एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबीच काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा हुने माओवादी केन्द्रका नेता अग्नि सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहनेछ । चुनाव चिह्न पाँचकुने तारा रहने पहिले नै आठ दलबीच सहमति भइसकेको छ । आइतबार माओवादी, नेकपा एकीकृत समाजवादीलगायत आठ दलबीच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम उल्लेख थिएन ।
एकीकृत पार्टीले जनताको चाहनाअनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने उहाँले दाबी गर्नुभयो । ‘अहिलेसम्मका उतारचढाव, घुम्ती र मोड पार गर्दै अब देश समृद्धिमा जाने हामीले विश्वास गरेका छौँ,’ माओवादी केन्द्रको अन्तिम बैठकपछि सापकोटाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भन्नुभयो, ‘बृहत् सजीव छलफल गरेर माओवाद पुनःस्थापित पनि हुनसक्छ । तर, अहिले एकता गर्नैपर्ने भएकाले मात्र हो ।’
बैठकले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो । प्रज्ञा भवन कमलादीमा बसेको अन्तिम बैठकमा पार्टी महाधिवेशन आयोजक समितिका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । श्रेष्ठको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर पारित गरेका थिए ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच