प्राडा.लोकराज बरालद्वारा लिखित ‘रोमाञ्चित जीवन’ पचासवटा शीर्षकमा विभाजन गरिएको अनुभवहरूको संग्रह हो । यसभित्र लेखकले पारिवारिक जीवनमा भोगेका सुखदुःखका कथा, विद्यार्थी हुँदा बिताएका क्षण, प्राध्यापकको रूपमा त्रिभुवन विश्वविद्यालयमा कार्यरत रहँदा निर्वाह गरेको भूमिका तथा भिजिटिङ प्रोफेसरका रूपमा विदेशी विश्वविद्यालयहरूमा गरेको प्राध्यपान र विभिन्न देशका विश्वविद्यालयमा कार्यपत्रहरू प्रस्तुत गर्दाका अनुभव, समय समयमा खेपेको राजनीतिक प्रतिशोध, राजदूत रहँदाका बखत सँगालेका कूटनीतिक अनुभव यस पुस्तकमा समावेश गरिएका छन् ।
डा.बरालको जन्म १९९५ साल चैत ११ गते इरौँटार (हाल शान्तिनगर) झापामा एक सामान्य परिवारमा भएको थियो । उहाँको बाजेको नाम उमाकान्त बराल थियो । उहाँ गाउँमा पुरोहित्याइँको काम गर्नुहुन्थ्यो । उहाँको बाबुको नाम रविलाल बराल थियो । उहाँ खेतीपाती तथा भैँसीपालनको काम गर्नुहुन्थ्यो । आफू अशिक्षित भए तापनि छोरा पढाउने र विद्यालय खोल्ने कुरामा उहाँ सदा तत्पर हुनुहुन्थ्यो । बराल सरका एकजना दाजु, तीनजना भाइ र एकजना दिदी जन्मनु भएकोमा अहिले बराल सरसहित तीन भाइमात्र जीवित हुनुहुन्छ । उहाँकी श्रीमती गंगाको र छोरी नीताको मृत्यु भइसकेको छ । उहाँको छोरो आदित्य उहाँबाट छुट्टिएर बस्नुभएको छ ।
खड्गविक्रम शाह प्राध्यापकहरू सबैले आफ्ना लेखहरूद्वारा यसको विरोध गर्नुपर्छ भन्थे । लेख लेख्न कर पनि लगाउँथे । बराल सरले सरकारका सबै कुरा बुझेर र प्रमाण संकलन गरेरमात्र लेख लेख्नेभन्दा उनी रिसाए । यसैबीचमा ‘द टाइम्स अफ इण्डिया’ मा बराल सरको ‘भ्यु फ्रम काठमाडौं’ भन्ने लेख प्रकाशित भयो । यसबाट शाह आगो भए ।
इलाम हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि बराल सरले त्रि-चन्द्र कलेज, काठमाडौंबाट आइए र बिए उत्तीर्ण गर्नुभयो । त्यसपछि त्रिभुवन विश्वविद्यालय त्रिपुरेश्वरबाट उहाँले राजनीतिशास्त्रमा एमए उत्तीर्ण गर्नुभयो । २०३० सालमा ‘अपोजिसनल पोलिटिक्स इन् नेपाल’ मा जबाहरलाल नेहरू विश्वविद्यालयबाट उहाँले विद्यावारिधिको उपाधि प्राप्त गर्नुभयो । इलाममा पढ्दा उहाँको साथी कमल गजमेर (कामी) थिए । उहाँ उनै सँगसँगै हिँड्ने, उनैको घरमा जाने, उनले छोएको खाने गर्नुहुन्थ्यो । उहाँको यो चाला देखेर उच्च जातकाहरू उहाँको आलोचना गर्दथे तर उहाँ यस प्रकारको आलोचनाको कुनै वास्ता गर्नुहुन्नथ्यो । त्यसबेला गंगा श्रेष्ठसँग उहाँको प्रेम बस्यो । यो कुरा उहाँको परिवारलाई मान्य भएन । फलस्वरूप झापाको देउनियाँ खोलाको किनारमा लागेको मेलामा सञ्चालित सांस्कितक कार्यक्रममा भाग लिन गंगा आउँदा त्यहाँबाट उनलाई भगाएर काठमाडौं लैजानुभयो ।
भूपूमन्त्री देउमान आङ्देम्बेको अगुवाइमा दक्षिणकाली मन्दिरमा बोको काटी विवाह सम्पन्न गर्नुभयो । गंगाले सुरुमा असहनीय प्रशव वेदनाका साथ मृत छोरीको जन्म दिनुभयो । त्यसपछि छोरो आदित्यको जन्म भयो । अन्तिममा छोरी नीताको जन्म भयो । बराल सरका आमा, बाबु, श्रीमती, दाजु, भाइ र छोरीको गम्भस्र रोगको कारणले मृत्यु भयो तर यस प्रकारका वेदनायुक्त र कहालीलाग्दो परिस्थितिलाई उहाँले हाँसीहाँसी सामना गर्नुभयो । २०२१ सालतिर बराल सरले मेची कलेजमा भाइस प्रिन्सिपलमा नियुक्त भएर करिब आठ महिना काम गर्नुभयो । त्यसपछि २०२२ साल असोज २३ गतेदेखि एमएका विद्यार्थीहरूलाई पढाउने गरी त्रिभुवन विश्वविद्यालय त्रिपुरेश्वरमा उहाँ लेक्चरर पदमा स्थायी नियुक्त हुनुभयो । उहाँले हप्ताको दशवटा कक्षाहरू लिनुपथ्र्यो ।
उहाँ प्राज्ञिक विशिष्टता र गुणस्तरीय शिक्षाको सवालमा कसैसँग सम्झौता गर्नुहुन्नथ्यो । एकपटक त्रिभुवन विश्वविद्यालयले एक अमुक व्यक्तिलाई लक्षित गरेर उनैलाई मात्र मिल्ने गरी विभागीय प्रमुखको परामर्शबिना विज्ञापन गर्यो । प्रमुखको हैसियतले बराल सरले यसको विरोध गर्नुभयो तर उहाँको केही लागेन । त्यसपछि राजनीतिशास्त्र विभाग दरबन्दीसहित छाड्नुभयो र नेपाल र एसियाली अनुसन्धान केन्द्रमा हाजिर हुनुभयो । त्यहाँ तत्कालीन राजा वीरेन्द्रका सहोदर भिनाजु खड्गविक्रम शाह कार्यकारी निर्देशक थिए । त्यतिबेला भारतले नेपालमा एकतर्फी नाकाबन्दी लगाएको स्थिति थियो ।
खड्गविक्रम शाह प्राध्यापकहरू सबैले आफ्ना लेखहरूद्वारा यसको विरोध गर्नुपर्छ भन्थे । लेख लेख्न कर पनि लगाउँथे । बराल सरले सरकारका सबै कुराहरू बुझेर र प्रमाण संकलन गरेरमात्र लेख लेख्नेभन्दा उनी रिसाए । यसैबीचमा ‘द टाइम्स अफ इण्डिया’मा बराल सरको ‘भ्यु फ्रम काठमाडौं’ भन्ने लेख प्रकाशित भयो । यसबाट शाह आगो भए र उहाँलाई त्यहाँबाट निकाले । संसारका सबै पत्रिकाले यसको विरोध गरे । यसबाट बराल सर सत्ताले तर्साएर नतर्सिने र लोभ्याएर नलोभिने प्रवृत्तिका हुनुहुन्छ भन्ने प्रमाणित भयो ।
बराल सरको ‘अपोजिसनल पोलिटिक्स इन नेपाल’ प्रकाशित भएपछि बौद्धिक समुदायबीच यसले ठूलो चर्चा पायो । उहाँले आइभिपी कार्यक्रमअन्तर्गत २०३९ सालमा र २०४६ सालपछि युएएको भ्रमण गर्नुभयो । २०४१ सालमा भिजिटिङ प्रोफेसरको रूपमा ११ महिनाका युएसएको एलिन्वाय विश्वविद्यालयमा प्राध्यापन गर्नुभयो । २०४५ सालमा उहाँले तत्कालीन सोभियत संघको भ्रमण गर्नुभयो । २०६५ सालमा उहाँले हार्वर्ड विश्वविद्यालयको भ्रमण गर्नुभयो । उहाँले प्राज्ञिक कार्यको सिलसिलामा बेलायत, फ्रान्स, जर्मनी, जापान, सिंगापुर, चीनलगायत दर्जनांै देशहरू भ्रमण गरी आफ्नो प्राज्ञिक परिचय स्थापित गर्नुभयो । कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जानुभयो ।
२०४८ सालको आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो । उहाँले बराल सरलाई बालुवाटारमा बोलाएर विभिन्न देशका लागि राजदूतहरूको नाम र योजना आयोगका सदस्यहरूको नाम सिफारिश गर्न भन्नुभयो । बराल सरले अरू अरूको नाम राजदूतको सूचीमा राख्नुभयो तर त्यसमा आफ्नो नाम समावेश गर्नुभएन । प्रधानमन्त्रीले उहाँलाई आफ्नो नाम समावेश नभएको बारे प्रश्न गर्दा उहाँले आफ्नो नाम आफैंले सिफारिश गर्न अप्ठ्यारो लागेको कुरा भन्नुभयो । त्यसपछि उहाँलाई कहिले फ्रान्सको त कहिले अमेरिकाको राजदूत बनाउने भनियो तर कोइराला सरकार रहुन्जेल उहाँ राजदूत बन्नुभएन । पछि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उहाँ भारतका लागि राजदूत हुनुभयो ।
२०५२ साल चैत ६ गते भारतका राष्ट्रपति डा.शंकरदयाल शर्मालाई उहाँले आफ्नो ओहादाको प्रमाणपत्र बुझाउनुभयो । पत्र बुझाउन जाँदा उहाँको सम्मानमा निर्वाह गरिएको औपचारिकता र पत्र बुझाइ सकेपछि राष्ट्रपतिको सैनिक टुकडीले उहाँलाई अर्पण गरेको सलामीबाट उहाँ ज्यादै हर्षित र गौरवान्वित हुनुभयो तर यो हर्ष र गौरव चाँडै नै निराशा र हीनतामा परिणत भयो । उहाँ राजदूत हुँदा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशीला कोइरालाका साथ दिल्ली आउँदा, परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी, स्थानीय विकास मन्त्री कमल थापा तथा स्वास्थ्यमन्त्री राधाकृष्ण मैनालीलगायतका विशिष्ट व्यक्तिहरू र पार्टीका नेताहरू दिल्ली आउँदा उहाँले भोगेको कर्यबाट उहाँ निराश हुनुहुन्थ्यो ।
चौध महिना आफू राजदूत हुँदा उहाँले भोगेका कुरालाई उहाँ यसरी व्यक्त गर्नुहुन्छ : ‘पहिलो कुरो त राजदूतावासको कामको धेरै समय नेपालका राजनीतिज्ञ, कर्मचारी र अन्य मध्यम वर्गको हेरविचारमा लगाउनुपर्नेरहेछ । मन्त्री, सांसद या अरू यस्तैको शिक्षा, स्वास्थ्य, बस्ने, खाने र गाडीको सुविधामा स्रोतसाधन लगाउनुपर्ने रहेछ । सबैको आस दूतावासको सुविधा लिने र त्यसको निमित्त भनसुन गराउने । अस्पतालमा बिमारी भर्ना र शिक्षण संस्थामा यिनीहरूका छोराछोरीका लागि भर्ना र कसैको त हेरविचार पनि गर्नुपर्ने हुँदो रहेछ । आफ्ना व्यक्तिगत र सरकारी काममा आउने मन्त्री, सांसद र अन्यको हेरविचार नपुग्दा, गाडी र बस्ने सुविधा पु¥याउन नसक्दा ठूलो कोलाहल हुने र राजदूतले वास्ता नगरेको ठानिने रहेछ । दिनमा तीन सय डलर भत्ता पाउने कार्यक्रममा जाँदा पनि धेरैको चाहना राजदूतावासमा नै बस्ने खाने र अन्य सुविधा उपभोग गर्ने हुँदो रहेछ । ट्रान्जिटमा केही समय बिताई अन्यत्र लाग्ने मन्त्रीहरूलाई पनि राजदूत नगई राजदूतावासका अन्य कर्मचारीलाई एयरपोर्ट लिन पठाउँदा पनि मर्यादा उल्लंघन गरेको ठानिने रहेछ ।
त्रि–चन्द्र कलेजमा बिएमा अध्ययनरत रहँदा उहाँ प्रजातन्त्रवादी समूहबाट विद्यार्थी युनियनको सभापति पदमा उम्मेदवार हुनुभयो । उहाँलाई तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले त्रिपुरश्वरमा बोलाएर ‘तपाईंले हार्नु भनेको मैले हार्नु हुन्छ’ भन्नुभएको थियो तर त्यस बेला कांग्रेसविरुद्ध चलेको डाल्डा घ्यूको लाइसेन्स काण्डले गर्दा बराल सरको हार भयो । पछि उहाँ त्रिभुवन विश्विविद्यालय संघको सभापतिमा, नेपालविश्व संघको अध्यक्षमा र नेपाल राजनीतिशास्त्र संघको सभापति पदमा निर्वाचित हुनुभयो । उहाँ सक्रिय रूपले राजनीतिमा संलग्न नभए तापनि तीन पटकसम्म उहाँले जेलजीवन बिताउनु पर्यो ।
बराल सरको समयमा नेपाली कांग्रेसका चार नेता विश्वेश्वर, सुवर्ण, गणेशमान र सूर्यप्रसादलाई ‘बिग फोर’ भनिन्थ्यो । जवाहरलाल नेहरू बीपीलाई युवा जोस भएकाले तत्कालीन राजनीतिका लागि उपयुक्त नहुने सोच्दथे । उनी मातृकाप्रसाद कोइराला र सूर्यप्रसाद उपाध्यायलाई समर्थन गर्दथे । उनैको सिफारिशमा राजा त्रिभुवनले मातृकालाई प्रधानमन्त्री र सूर्यप्रसादलाई मन्त्री बनाएका थिए । पछि नेपाली कांग्रेसको सरकारमा पनि उनी दुईवटा चुनाव क्षेत्रबाट हारेको भए तापनि उनलाई गृहमन्त्री बनाइयो । २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्र्रेसले दुईतिहाइका साथ बहुमत सिट प्राप्त गर्यो । त्यसपछि बीपी कोइराला प्रधानमन्त्री हुनुभयो । राजा महेन्द्र सुवर्णशमशेर राणालाई प्रधानमन्त्री बनाउन चाहन्थे । उनको इच्छा पूरा नभएपछि उनले सैनिक कारबाई गरेर निर्दलीय पञ्चायती व्यवस्था लागू गरे । बराल सरको विचारमा २०१५ सालमा नेपाली कांग्रेसले आमचुनावका लागि नभई संविधानसभाको निर्वाचनका लागि आन्दोलन गर्नुपर्दथ्यो ।
बीपी कोइराला बंलादेशको मुक्ति आन्दोलन सफल भएमा नेपालको लोकतन्त्रको लडाइँ आधा जितेसरह हुन्छ भन्नुहुन्थ्यो । गान्धी शैलीको शान्तिपूर्ण आन्दोलनले सफलता पाउन नसक्ने र सशस्त्र क्रान्तिमात्र एक विकल्प रहेको उहाँ भन्नुहुन्थ्यो । सुवर्ण शमशेर यो विचारको विरुद्धमा हुनुहुन्थ्यो ।
बीपी कोइराला बंलादेशको मुक्ति आन्दोलन सफल भएमा नेपालको लोकतन्त्रको लडाइँ आधा जितेसरह हुन्छ भन्नुहुन्थ्यो । गान्धी शैलीको शान्तिपूर्ण आन्दोलनले सफलता पाउन नसक्ने र सशस्त्र क्रान्तिमात्र एक विकल्प रहेको उहाँ भन्नुहुन्थ्यो । सुवर्ण शमशेर यो विचारको विरुद्धमा हुनुहुन्थ्यो । पर्टी सशस्त्र क्रान्तिमा नेपाली कांग्रेसका होनाहर युवा राम र लक्ष्मण मारिएपछि र इन्दिरा गान्धीले भारतमा संकटकाल लगाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई सिमानाबाट परमात्र रहन दिने भएपछि उहाँ राष्ट्रिय मेलमिलापको नीति लिई नेपाल फर्कनुभयो । २०१७ साल पुस १ अघि सुवर्ण कलकत्ता जानुभएकाले कतिले उहाँलाई राजाले भगाएको भन्दथे तर बराल सरको विचारमा उहाँ सिद्धान्तनिष्ट इमानदार नेता हुनुहुन्थ्यो ।
त्यस्तै सूर्यप्रसादलाई केही नेताहरूले भारतलाई कुरा लगाएर आफ्नो सम्बन्ध बिगारिदिने भनेर आरोप लगाउँथे तर बराल सरको विचारमा सूर्यप्रसाद सिद्धान्तनिष्ट कट्टर प्रजातन्त्रवादी हुनुहुन्थ्यो र उहाँको योगदानको नेपाली कांग्रेसले अवमूल्यन गरिरहेको छ । गणेशमान सरल जीवन बिताउनुहुन्थ्यो । उहाँको नेतृत्वमा २०४६ सालमा जनआन्दोलन सफल भई संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको स्थापना भयो । बराल सरको बुझाइमा गिरिजाप्रसाद कोइरालामा बदला लिने भावना थियो । उहाँ प्रधानमन्त्रीको रूपमा अमेरिका गएको बखत राजदूत योगप्रसाद उपाध्यायले उहाँलाई भन्दा बढी कृष्णप्रसाद भट्टराईलाई हेरविचार गरेको हुनाले उहाँलाई राजुतबाट फिर्ता बोलाउनुभयो ।
२०२८ सालमा पञ्चायत व्यवस्थाअन्तर्गत भएको तेस्रो स्नातक निर्वाचनमा शंकर घिमिरे नेपाली कांग्रेसको पक्षबाट उम्मेदवार बन्नुभएको थियो तर उहाँ सूर्यप्रसाद उपाध्यायका समर्थक भएकाले कोइरालाले उहाँलाई अन्तर्घात गरी हराइ दिनुभयो । सूर्यप्रसाद भने गिरिजालाई संगठनका नाममा दौडीमात्र रहने हुनाले ‘दौडिदत्त’ भन्नुहुन्थ्यो । बराल सरको सोचाइमा कोइराला प्रधानमन्त्री हुँदा प्रभावशाली देशका राजदूतहरूलाई सोझै आफ्नो निवासमा भेट्ने गरेकाले यसबाट परराष्ट्रमन्त्री र मन्त्रालयको भूमिका नगन्य हुँदै गयो । मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र केशरजङ रायामाझी राजा महेन्द्रको राष्ट्रवाद र परराष्ट्र नीतिको प्रशंसक थिए ।
पुष्पलाल भने इमानदार गणतन्त्रवादी वामपन्थी नेता थिए । बराल सर राजा त्रिभुवनलाई शहीद मान्नु हुँदैन । अझ चार शहीदहरूको सालिकमाथि उनको सालिक राख्नु शहीदहरूको अपमान ठान्नुहुन्न । यस पुस्तकमा बराल सरको लोकतन्त्र, गणतन्त्र र स्वतन्त्रताको समर्थन तथा जातिप्रथा र धार्मिक कर्मकाण्डप्रति उहाँको विरोध पढ्न पाइन्छ । नेपाल, भारत र चीनका बीचमा रहेकाले उनीहरूको विकासको फाइदा लिई नेपाली जनताको आत्माविश्वास बढाउन सक्दामात्र नेपाल राष्ट्र बलियो हुन्छ भन्ने उहाँको धारणा छ । (प्राडा.तुम्बाहाङ कोशी प्रदेशका पूर्वप्रमुख हुनुहुन्छ ।)







बराल सरको “रोमाञ्चित जीवन” कृति पढ्न त पाईएको छैन तर मेरो जिज्ञासा वहाँ कसरी काँग्रेस नजिक हुनु भयो ? र के विचारले प्रेरित गर्यो ? यसको उत्तर प्राप्त भए हुन्थ्यो।