भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरबासीले ऐतिहासिक निलबाराही क्षेत्र जोगाउने योजनाको तत्काल कार्यान्वयनको माग गर्दै मंगलबार नगरपालिकाको गेट अगाडि नाराजुलुस गर्दै दबाबमूलक प्रदर्शन गरेका छन् ।
मध्यपुर थिमि नगरपालिका वडा नं ९ निलबाराहीस्थित करिब ५०० रोपनीमा फैलिएको ऐतिहासिक बाराही क्षेत्रलाई जोगाउने उद्देश्यले गठित श्री नीलबाराही क्षेत्र सरोकार समितिको नेतृत्वमा प्रदर्शन भएको हो । सहभागीहरुले “नीलबाराही क्षेत्र जोगाऊ”, “जनताको माग कार्यान्वयन गर”, “इतिहास मेट्न पाइँदैन”, “निलबाराही मन्दिर बचाऔं, हाम्रो पहिचान जोगाऔं”,लगायतका नारा लगाउँदै नगरपालिका पुगेका थिए ।
उक्त दबाब तथा धर्ना कार्यक्रममा सरोकारवाला जनसमुदायले नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई हस्ताक्षरसहितको मागपत्र बुझाउनु भएकाे थियाे । सहभागीहरुले तत्काल काम सुरु गर्न दवाब दिँदै योजना कार्यान्वयनमा ढिलाइ गरिएकोमा आक्रोश व्यक्त गर्नुभएकाे थियाे ।
काठमाडौँ उपत्यकाका चार प्रमुख बाराहीमध्ये एक मानिने निलबाराही क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले तत्काल संरक्षण आवश्यक रहेको सरोकार समितिले जनाएको छ । यसअघि मध्यपुर थिमि नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले पहिरो नियन्त्रणका लागि करिब ९ करोड ४३ लाख रुपैयाँको बजेटमा काम थाल्ने घोषणा गरिसकेको थियो । त्यस्तै सडक विभागले पनि छुट्टै तीन करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, लामो समय बितिसक्दा पनि दुवै निकायबाट काम सुरु हुन सकेको छैन ।
सोमबारबाट ठेकेदारले काम सुरु गर्न लाग्दा अनिश वैध समुहको सरोकार समितिले स्थानीय जनतासँग समन्वय नगरी एकतर्फी रुपमा योजना अघि बढाउन खोजिएको भन्दै काममा अवरोध गरेको थियोे । वैद्य निकट केही युवाहरुले ढुंगा खसाल्न नदिई अवरोध गरेको घटनापछि मंगलबार स्थानीय जनता आन्दोलित हुनुभएकाे हाे ।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठले आन्दोलनका बीच पनि काम अघि बढाउने अठोट व्यक्त गर्दै , “निलबाराही जोगाउने कामका लागि आएको बजेट फिर्ता पठाउने सोच कसैको भए पनि हामी त्यो हुन दिदैनौं, काम जसरी पनि थाल्छौं ।” उहाँले दुई वर्षभित्र करिब २० करोडको लागतमा निलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले पनि जनतासँग सहकार्य गर्दै कुनै हालतमा काम पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो । “निलबाराही विवाद हार जितको बिषय हैन, यो हाम्रो आस्थाको धरोहर हो”, उपप्रमुख विजय कृष्ण श्रेष्ठले भन्नुभयो ।
आन्दोलनको नेतृत्व वडा नं ९ का वडा अध्यक्ष सानुकाजी राजबाहकले गर्नु भएको थियो। उहाँले केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण योजना अड्किएको दाबी गर्दै भन्नुभयो, “हामी निलबाराही क्षेत्रको संरक्षणका पक्षमा छौं ।
उक्त दबाब तथा धर्ना कार्यक्रममा सरोकारवालाको तर्फबाट सुर्य श्रेष्ठ, रमेश राजबाहक, ई। दिलिप गसि लगायतले आफ्ना भनाइ राख्नु भएको थियो। साथै उहाँहरुले अनिश वैद्य समुहले विरोध गर्नुको औचित्य नभएको बताउनु भएको थियो ।
उप प्रमुख श्रेष्ठका अनुसार काठमाडौ उपत्यका विकास प्राधिकरण (केभिडिए) मार्फत ७ करोड १ लाख ८४ हजार ९६३ रुपैयाँ बजेट विनियोजन भई ६ करोड ६० लाख ४७ हजार ७ सय ७ रुपैयाँमा सम्झौता र कार्यादेश भइसकेको छ । यसअघि विभिन्न चरणमा केभिडिएका आयुक्त, सरोकार समितिका पदाधिकारी तथा प्राविधिकसँग नगरपालिकाले बारम्बार छलफल गरेको उहाँले जानकारी दिनु भयो ।
पहिरो नियन्त्रणका काम वातावरणमैत्री प्रविधिमा आधारित हुनेछ । बायो इन्जिनियरिङ, पाइलिङ, नेलिङ, ग्राउटिङ, ग्रिड बिमसहितका अत्याधुनिक उपाय प्रयोग गरिनेछ । स्थानीय सरोकार समितिसँग निरन्तर छलफल गरी डिजाइन परिमार्जन (डीपीआर संशोधन) समेत भइसकेको उहाँले बताउनु भयो । स्थानीयले सुरु गरेको जनश्रमदान अभियानसँग सैद्धान्तिक भिन्नता नरहेको समेत उहाँले स्पष्ट पार्नु भयो ।
स्थानीयको दाबी अनुसार ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण निलबाराही क्षेत्रको संरक्षण नहुने हो भने यसले सम्पूर्ण थिमीको सांस्कृतिक पहिचानमा धक्का पुग्नेछ । त्यसैले स्थानीयले योजनाको तत्काल कार्यान्वयन र संरक्षण अभियानलाई सरकारी प्राथमिकतामा राख्न माग गरेका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच