काठमाडौं । नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी)सहित १० दल/समूहबीच एकता भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार एकता घोषणा तथा राष्ट्रिय सम्मेलनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी)लगायत १० वाम पार्टीबीच एकता घोषणा भएको हो । एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राखिएको छ । घोषणा सभामा पार्टी एकतामा आएका दलका सबै नेता तथा कार्यकर्ताले पार्टीको चुनाव चिह्न पाँचकुने तारा रहने प्रस्तावलाई अनुमोदन गरेका छन् । पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । नेता वेदुराम भुसालले पार्टीको विधानबारे जानकारी गराउनुभएको थियो ।
आगामी ६ महिनाभित्र एकीकृत पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीका साबिकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिनेछ । पार्टी एकताका लागि दलहरूबीच नौ बुँदे सहमति भएको छ । संयुक्त सम्मेलनबाट निर्णय भएको नौवटा प्रस्ताव नेता वर्षमान पुनले पढेर सुनाउनुभएको थियो । संयुक्त राष्ट्रिय सम्मेलनबाट घोषणापत्र र अन्तरिम विधान २०८२ पनि अनुमोदन गरिएको छ ।
१० दल मिलेर नयाँ पार्टी बनाए पनि नेतृत्व भने पुरानै छ । विभिन्न दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल निर्वाचित हुनुभएको छ । एकता घोषणापछि भएको सम्मेलनमा प्रचण्ड संयोजक र सहसंयोजकमा नेपाललाई चयन गर्न नेता महेन्द्रराय यादवले प्रस्ताव गर्नुभएको थियो । यादवको प्रस्तावलाई हलले ताली बजाएर समर्थन गरेको थियो । यसअघि भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनपछि दलका रूपान्तरण र नेतृत्व हस्तान्तरणको बहस भएको थियो । तर, दलको नेतृत्वमा रहेका नेताहरू सहजै नेतृत्व हस्तान्तरण गर्नुको साटो आफैँलाई अनुमोदन गराइरहेका छन् । केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजकलाई दिइएको छ ।
नेताहरू भन्छन्- क्रान्तिको नायक प्रचण्ड हुन्
देशभक्त मोर्चाका संयोजक गोपाल किरातीले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सम्बन्ध विच्छेदको आठ वर्षपछि फेरि जोडिएको बताउनुभयो । किरातीले २०७४ पछि अध्ययन बिदामा बसेको बताउनुभयो । नेता महिन्द्र राय यादवले नेपाली क्रान्तिको नायक प्रचण्ड भएको बताउनुभयो । ‘क्रान्तिको नायक प्रचण्ड हुन् । मैले विश्वास लिएर माओवादीको चुनाव चिह्नमा चुनाव लडेँ । जेन–जीको आन्दोलनमा म प्रचण्ड र माधवसँगै थिएँ । मैले एमाले देखिनँ, कांग्रेस देखिनँ’, उहाँले भन्नुभयो, ‘मैले प्रचण्ड र माधवलाई देखेँ । उहाँको काँधमा धेरै जिम्मेवारी छ ।’
नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले सबै वामपन्थीहरूलाई एक ठाउँमा जोडेर युवालाई नेतृत्व हस्तान्तरण गरिने बताउनुभयो । नेतृत्व लिन तयारी भएर बस्न युवाहरूलाई उहाँले आग्रह गर्नुभयो । जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्लेले १० दलको एकता सभामा पाँचकुने तारा चम्किएको देखेर आफू भावुक भएको बताउनुभयो । पार्टी एकतापछि नेपाली कम्युनिष्ट पार्टीले आफ्नो दलको चुनाव चिह्न अँगालेको प्रति काफ्लेले भावुकता व्यक्त गर्नुभयो ।
समाजवाद निर्माणमा प्रवेश नगरेकाले ‘जेन-जी’ आन्दोलन भयो : गौतम
नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले समाजवाद निर्माणमा प्रवेश नगरेकाले नै ‘जेन–जी’ आन्दोलन भएको बताउनुभएको छ । संविधानमा लेखिएको लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित समाजवाद लागू गर्नुपर्ने उहाँले बताउनुभयो । गौतमले समाजवाद झोलामा मात्रै बोकेर हिँडेर नहुने बताउनुभयो । ‘समाजवाद निर्माणमा प्रवेश नगरेकाले ‘जेन-जी’ आयो । समाजवादी क्रान्ति मात्रै भनेर हुँदैन । कस्तो किसिमको क्रान्ति स्पष्ट भन्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘तब मात्र कमरेडहरूलाई काँधमा बोकेर हिँड्न सक्छु ।’
हामी कहिल्यै फुट्ने छैनौँ भन्ने संकल्पका साथ अघि बढ्नुपर्छ : खनाल
नेता झलनाथ खनालले अब पार्टीहरू कहिल्यै नफुट्नेगरी एकता हुनुपर्ने बताउनुभएको छ । एकता कायम राख्न सके मात्रै नेपाली विशेषताको समाजवाद ल्याउन सकिने उहाँले बताउनुभयो । देशलाई नेपाली विशेषताको समाजवादतर्फ लैजान कम्युनिष्ट शक्तिहरूको एकता अपरिहार्य रहेको उहाँको भनाइ थियो । ‘हामी कहिल्यै फुट्ने छैनौँ भन्ने संकल्पका साथ अघि बढ्नुपर्छ । अघिल्ला पटकहरूमा पनि एकता गरेका थियौँ । तर, ए कता भयो । ए बेग्लै भयो, कता बेग्लै भयो । अब चाहिँ ए र कता जोडेर एकता, यो हामीले गनुपर्ने आवश्यकता छ,’ उहाँले भन्नुभयो, ‘अब यो समाजलाई नेपाली विशेषताको समाजवादतर्फ पुर्याउनुपर्ने आवश्यकता छ । तर, एउटै एकीकृत पार्टी निर्माण नगरी त्यो लक्ष्य हासिल गर्न सकिँदैन ।’
यो एकता कम्युनिष्ट आन्दोलन एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु बन्नुपर्छ : श्रेष्ठ
नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आजको एकता घोषणा कम्युनिष्ट आन्दोलनले समग्र एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु बनाउनुपर्ने बताउनुभएको छ । सच्चा लोकतन्त्रवादीहरूसँग संयुक्त एकता गर्न पहल गर्नुपर्ने उहाँले बताउनुभयो । ‘यो पार्टी एकता नेपाली कम्युनिष्ट आन्दोलनको समग्र एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु बन्नुपर्छ’, उहाँले भन्नुभयो, ‘आजको एकता घोषणा गरिरहँदा हामी पार्टीहरूभित्रकै कतिपय साथीहरू बाहिर हुनुहुन्छ । उहाँहरूलाई पनि यसमा ल्याउनुपर्छ । सच्चा लोकतन्त्रवादीहरूसँग संयुक्त एकता गर्न पहल गर्नुपर्नेछ ।’
नेकपाका नौमध्ये बहुमत सदस्य एक ठाउँमा भयौँ, यही कम्युनिष्टको मूलधार : नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले आफूहरूले गठन गरेको नयाँ पार्टी नै कम्युनिष्टको मूल पार्टीको निरन्तरता भएको दाबी गर्नुभएको छ । विगतमा नेकपा विभाजन भएको विफलतालाई समीक्षा गरेर नयाँ पार्टी अगाडि बढ्ने उहाँले बताउनुभयो । ‘एमाले र माओवादीबीच एकीकरण गरेर नेकपा हामीले गठन गरेका थियौँ । त्यतिखेरका सबै प्रमुख नेता यहीँ उपस्थित हुनुहुन्छ । त्यो सचिवालयमा प्रचण्ड, म आफैँ, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो । ती नौमध्ये पाँचजना अहिले पनि यो नयाँ पार्टीमा जोडिनुभएको छ’, उहाँले भन्नुभयो, ‘त्यसैले अहिले पनि मूल पार्टी यही भएको छ ।’ उहाँले बाँकी वामपन्थी घटकहरूलाई पनि एकतामा सहभागी हुन आग्रह गर्नुभयो । एकता प्रक्रियालाई अझ बलियो र समावेशी बनाउन सबै वामपन्थी शक्तिहरूलाई हातेमालो गर्न उहाँले आग्रह गर्नुभयो ।
यो दिन इतिहासले कहिल्यै बिर्सिने छैन : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वटा पार्टीबीचको एकता इतिहासकै अविस्मरणीय दिन भएको जिकिर गर्नुभएको छ । यो ऐतिहासिक दिन कसैले मेटाएर नमेटिने उहाँको भनाइ थियो । ‘आजको दिन नेपाली कम्युनिष्ट इतिहासमा अविस्मरणीय दिन बनेको छ । यो एकताका लागि मात्र होइन देशको संकट समाधानका लागि बनेको एकता हो । यो इतिहास अब कसैले मेटाएर मेटिँदैन’, उहाँले भन्नुभयो । ‘जेन–जी’ आन्दोलन भएकै कारण १० वटा कम्युनिष्ट दलले ऐतिहासिक एकता घोषणा गरेको उहाँको भनाइ थियो ।
ओरालो लागिरहेका धेरै जनाको एकताले उकालो चढिँदैन : भुसाल
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एकताका नाममा उल्टो बाटो हिँडेर गरिएको तमासाले कम्युनिष्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँदै लाने बताउनुभएको छ । माओवादीसहितको एकता प्रक्रियामा असहमति राख्दै पत्रकार सम्मेलन गरेर नेतृत्व असफल विवादित बन्दै गएको र माओवादी केन्द्रको नेतृत्वमाथि ठूला प्रश्न उठेको अवस्थामा आयोजना हुँदै गरेको एकता नेताहरूको नालायकी लुकाउने प्रयासबाहेक केही हुन नसक्ने बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्ड र पार्टी अध्यक्ष माधव नेपालको मिलनलाई लक्षित गर्दै ओरालो लागिरहेका धेरै जनाको एकताले उकालो नचढिने उहाँले निष्कर्ष सुनाउनुभयो । आगामी भेलाबाट कार्यभार र कार्य योजना निर्माण गरिने उहाँले बताउनुभयो ।
भयानकै होला भनेर सुरु गरेको यात्रा समाप्त भयो : झाँक्री
नेत्री रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीसँगको यात्रा समाप्त भएको घोषणा गर्नुभएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी एकताको निर्णयसँगै नेकपा एस विसर्जन भएको बताउनुभयो । अहिले आफूहरूको बाटो अवरुद्ध बनेको र ‘पज’ को अवस्थामा रहेको उहाँको भनाइ थियो । माधवकुमार नेपाललाई निर्वाचन आयोगमा डो¥याएको दृष्यलाई लिएर आफूमाथि प्रश्न उठेको भन्दै उहाँले त्यसलाई एउटा बिम्बको संज्ञा दिनुभयो । ‘प्रारम्भका दिनहरूमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौँ । त्यो अभियान एक हिसाबले समाप्त भएको छ । हाम्रो अध्याय टुंगिएको छ । पार्टी विघटन भएको छ,’ उहाँले भन्नुभयो । ‘त्यो फोटोलाई लिएर मलाई पार्टी विभाजनका लागि मुख्य जिम्मेवार बनाइयो । त्यो एउटा बिम्ब मात्र थियो । विभाजनमा म प्रमुख पात्र थिएँ वा थिइनँ इतिहासले मूल्यांकन गर्नेछ ।’ नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले बिनासर्त आफ्नो पुरानै घर (एमाले)मा फर्कन चाहेको बताउनुभएको छ । आफूहरू बिनासर्त एमालेमा फर्कन लागेकाले वातावरण बनाइदिन आग्रह गर्नुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच