काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा बिहीबार खेलाडी र समर्थकहरूले लिग सञ्चालनको माग गर्दै धर्ना दिएका छन् । धर्ना कार्यक्रम घोषणा भएलगत्तै बिहानैदेखि एन्फा परिसरवरिपरि सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । प्रदर्शनकारीलाई एन्फा भवनभित्र प्रवेश गर्न नदिइएपछि उनीहरूले मुख्य गेटबाहिरैबाट नाराबाजी गरेका थिए ।
‘फुटबलले दिन्छ गाँस, एन्फाबाट छैन आश’, ‘मैदानका लागि सडक’, ‘एन्फा अझै मस्तीमा, खेलाडी चाहिँ सास्तीमा’ जस्ता प्लेकार्डसहित खेलाडीहरू सडकमा उत्रिएका थिए । उनीहरूले ‘भोलि खेल्न पाउँछौं भन्ने आशले आज सडकमा आएका हौं’ भन्दै लिग सञ्चालनको माग दोहोर्याए ।
खेलाडी संघले एन्फा लिगबाट पन्छिन खोजेको आरोप लगाउँदै नियमित लिग सञ्चालनको मागसहित आन्दोलन आह्वान गरेको हो । उक्त आन्दोलनमा जेन-जी युवा, पूर्वखेलाडी तथा प्रशिक्षकहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।
उता, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ हाल चितवनमा रहनुभएको छ भने महासचिव किरण राई हेटौंडामा हुनुहुन्छ । सोमबार एन्फा र क्लबबीचको बैठकले यस वर्ष शीर्ष डिभिजनको साटो राष्ट्रिय लिग गर्ने सहमति गरेको थियो । सो निर्णयको विरोधमा खेलाडीहरू सडकमा उत्रिएका हुन् ।
२०७९ सालमा अन्तिमपटक शीर्ष डिभिजन लिग सम्पन्न भएको थियो । त्यसयता एन्फाभित्रको आन्तरिक राजनीतिक विवादका कारण लिग सञ्चालन हुन सकेको छैन ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच