काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको फाइल झिकाउन आदेश दिइएको छ । उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीको फाइलहरू मगाउन आदेश दिइएको हो ।
जिल्ला अदालतबाट फाइल पेस भएपछि आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाऊँ भन्ने रविको निवेदनमाथि सुनुवाइ हुनेछ । बिहीबार मुद्दाको सुनुवाइको क्रममा सुरुमा छविलाल जोशीका तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले बहस गर्ने क्रममा न्यायाधीशले मुद्दाको मिसिल अपुग भएको र थप मिसिल झिकाएर मात्र अर्को पेसी चढ्ने र सुनुवाइ हुने निर्णय सुनाउनुभएको थियो ।
सो लगत्तै रविका कानुन व्यवसायीले बहस गर्नै नपाई बहस टुंगिएको थियो । मुद्दाको अर्को पेसी कहिले तोकिने भन्ने खुलाइएको छैन । गत कात्तिक १३ गते तोकिएको पेसीमा जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि र छविको एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश दिइएको थियो । बिगो बमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले उहाँसँगै जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । रूपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो । सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।
लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गर्नुभएको थियो । भदौ ९ गते उच्च अदालतमा रविले आफ्नो भागको बिगो रकम दाखिला गर्दा पनि अदालत रूपन्देहीले रिहा नगरेको भन्दै निवेदन दर्ता गराउनुभएको थियो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले, तुलसीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको १ नम्बर इजलासमा ३ नम्बरमा चढेको पेसीमा जिल्ला अदालत रूपन्देहीले जारी गरेको आदेश र अरू फाइलहरू मगाउने आदेश भएको जानकारी दिनुभएको छ ।
पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा हुनुहुन्छ । भैरहवा कारागारमा रहनुभएका लामिछानेलाई ललितपुरको नक्खु कारागार सारिएको छ भने जोशी भने भैरहवा कारागारमै हुनुहुन्छ । बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।
लामिछानेले दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गर्नुभएको थियो साथै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गर्नुभएको थियो । तर, दुवै प्रतिवादीको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो । ‘जेन-जी’ प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच