काठमाडौं । अमेरिकाको न्युयोर्क सहरले नयाँ इतिहास रच्दै पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयरको रूपमा जोहरान ममदानीलाई निर्वाचित गरेको छ । ३४ वर्षीय डेमोक्रेटिक उम्मेदवार ममदानीले रिपब्लिकन प्रतिद्वन्द्वी कर्टिस स्लिभालाई पराजित गर्दै तीनवटा ऐतिहासिक उपलब्धि हात पार्नुभएको छ । उहाँ युवा मेयर, पहिलो मुस्लिम मेयर र पहिलो दक्षिण एसियाली मूलका नागरिकको रूपमा सहरको नेतृत्वमा पुग्नुभएको हो ।
विजयपछि ममदानीले उत्साहित समर्थकलाई सम्बोधन गर्दै भन्नुभयो, ‘एउटा राजनीतिक वंशलाई उखेल्न हामी सफल भयौँ । आज म जे छु, त्यो तपाईंहरूले बनाइदिनुभएको हो ।’ पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गर्दै उहाँले थप्नुभयो, ‘जसले मलाई सफल बनाउन सक्छन्, उनीहरू नै मलाई पराजित गर्न पनि सक्छन् ।’
ट्रम्पले चुनावअघि ममदानीविरुद्ध प्रचार गर्दै मत नदिन आग्रह गर्नुभएको थियो । तर, ती सबै आलोचना र आर्थिक शक्तिको दबाबबीच पनि ममदानीले सहज विजय हासिल गर्नुभयो । प्रमुख व्यापारी बिल एकम्यान लगायतका उद्योगपति ममदानीका विपक्षीलाई आर्थिक सहयोग गरे पनि परिणाम बदल्न सक्नुभएन ।
ममदानीले विजयसहित निःशुल्क बस सेवा, शिशु स्याहार केन्द्र स्थापना र बढ्दो महँगी नियन्त्रणलगायत आफ्ना सबै चुनावी वाचा पूरा गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । उहाँले भन्नुभयो, ‘कुनै स्थानले डोनाल्ड ट्रम्पद्वारा विभाजित राष्ट्रलाई पुनः एकीकृत गर्न सक्छ भने त्यो स्थान यही सहर हो- जसले उहाँलाई जन्म दियो । राजनीतिक अन्धकारको यस घडीमा न्युयोर्क उज्यालो बन्नेछ ।’
यस विजयसँगै डेमोक्रेटिक पार्टीले भर्जिनिया र न्युजर्सीको गभर्नर चुनावमा पनि उल्लेखनीय सफलता हासिल गरेको छ । यसले राष्ट्रपति ट्रम्पको पुनरागमनपछि कमजोर भएको डेमोक्रेटहरूको मनोबल पुनः उच्च बनाएको विश्लेषकहरूको मत छ ।
व्यापारिक अभिजात वर्ग र रूढीवादी मिडियाको तीव्र आलोचनाबीच आएको ममदानीको विजयलाई समावेशी र प्रगतिशील राजनीतिका संकेतका रूपमा हेरिएको छ ।
ऐतिहासिक जित, ट्रम्पको आलोचना
जोहरान ममदानीले मंगलबार सम्पन्न मेयर निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै जित हासिल गर्नुभएको थियो । उहाँले न्युयोर्कका पूर्वगभर्नर एण्ड्रयू कुमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवालाई पराजित गर्नुभयो । ट्रम्पले चुनावअघि नै महिनौँसम्म ममदानीमाथि आक्रमण गर्दै आउनुभएको थियो । उहाँले ममदानीलाई ‘कम्युनिष्ट’भन्दै उपहास गर्नुभएको थियो । यदि, ममदानी निर्वाचित भएमा न्युयोर्क सहरका लागि संघीय कोष रोक्नसक्ने चेतावनी दिनुभएको थियो ।
गत अक्टोबरमा ह्वाइट हाउसले न्युयोर्कका यातायात परियोजनाहरूका लागि अर्बौं डलरको कोष रोक्का गरिएको जानकारी दिएको थियो । ट्रम्पले मतदानअघि सोमबार मतदाताहरूलाई कुओमोलाई समर्थन गर्न आह्वानसमेत गर्नुभएको थियो ।
जोहरान ममदानीको पृष्ठभूमि
सन् १९९१ मा युगाण्डाको कम्पालामा जन्मिनुभएका ममदानीका पिता प्रख्यात विद्वान् महमुद ममदानी र आमा चर्चित भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर हुनुहुन्छ । बाल्यकाल कम्पालामा बिताउनुभएका उहाँ पाँच वर्षको उमेरमा दक्षिण अफ्रिकाको केपटाउन सर्नुभयो । त्यसपछि सात वर्षको उमेरमा परिवारसहित अमेरिकाको न्युयोर्क आउनुभएका ममदानीले ब्रंकस हाइस्कुल अफ साइन्सबाट शिक्षा प्राप्त गर्नुभयो र सन् २०१४ मा बोडोइन कलेजबाट अफ्रिकी अध्ययनमा स्नातक डिग्री लिनुभयो ।
सन् २०१८ मा अमेरिकी नागरिक बन्नुभएका ममदानीले राजनीतिमा प्रवेश गर्नुअघि न्युयोर्कको क्विन्समा न्यून आय भएका परिवारका लागि फोरक्लोजर काउन्सलरका रूपमा काम गर्नुभएको थियो । सन् २०२० मा उहाँ पहिलोपटक न्युयोर्क स्टेट एसेम्ब्लीमा डेमोक्रेटिक सोसलिस्ट पार्टीका तर्फबाट निर्वाचित हुनुभयो र त्यतिबेलै पहिलो दक्षिण एसियाली र पहिलो सोसलिस्ट प्रतिनिधि बन्नुभएको थियो ।
ममदानीको सरल स्वभाव, सामाजिक सञ्जालमा सक्रियता र जनस्तरमा प्रत्यक्ष सम्पर्क अभियानले उहाँलाई न्युयोर्कको सबै वर्गका मतदातामाझ लोकप्रिय बनायो । अब उहाँका समर्थकहरू अपेक्षा गरिरहेका छन्- उहाँको नेतृत्वमा न्युयोर्क अझै समावेशी र प्रगतिशील सहर बन्नेछ ।
संगीतदेखि संसद्सम्म
राजनीतिमा आउनुअघि जोहरान ममदानी एक हिपहप ¥यापर हुनुहुन्थ्यो । युगाण्डामा भाइरल भएको उहाँको सबैभन्दा चर्चित गीत ‘काण्डा’ थियो, जसमा उहाँले युगाण्डाको राजधानी कम्पालाको जीवन र युवाका चुनौतीहरूलाई देखाउनुभएको थियो । ‘संगीतको माध्यमबाट नै मैले पहिलोपटक समाजमा असमानता र पहिचानको राजनीतिबारे आवाज उठाउनु जरुरी छ भन्ने महसुस गरेँ’, उहाँले भन्नुभयो ।
कलेजपछि क्विन्समा बसाइँ सर्नुभएका ममदानीले आप्रवासी, भाडामा बस्नेहरूका अधिकार र ‘ब्ल्याक लाइभ्स म्याटर’ जस्ता आन्दोलनहरूमा सक्रिय रूपमा भाग लिनुभयो । सन् २०१७ मा डेमोक्रेटिक पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँले अमेरिकी नागरिकता भने २०१८ मा मात्र लिनुभएको थियो । यद्यपि, उहाँ २०२० मा न्युयोर्क स्टेट असेम्बलीमा चुनिनुभयो । २०२२ र २०२४ मा त उहाँले निर्विरोध जित हासिल गर्नुभयो ।
असेम्बलीमा रहँदा उहाँले आम मानिससँग प्रत्यक्ष जोडिएका मुद्दाहरू उठाउनुभयो, जसले उहाँलाई निकै लोकप्रिय बनायो । विशेषगरी उहाँले ल्याएको ‘रेन्ट क्याप’ (भाडा वृद्धि रोक्ने) सम्बन्धी विधेयकले मध्यमवर्गीय र आप्रवासी समुदायमाझ उहाँको बलियो पकड बनायो । यतिबेला उहाँ न्युयोर्क सहरको १११औँ मेयर बन्नुभएको हो ।
सफल हुने सम्भावना छैन : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयपछि नवनिर्वाचित न्युयोर्क सहरका मेयर जोहरान ममदानीले दिएको भाषणलाई ‘क्रोधित’ भन्दै टिप्पणी गर्नुभएको छ । उहाँले ममदानी सुरुदेखि नै गलत दिशामा गइरहेको र सफल हुने सम्भावनासमेत नरहेको दाबी गर्नुभएको छ । फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले भन्नुभएको छ, ‘मलाई लाग्यो कि उहाँको भाषण धेरै क्रोधित थियो, विशेषगरी मेरो विरुद्धमा ।’ ‘उहाँहरूले मलाई राम्रो व्यवहार गर्नुपर्छ किनभने म धेरै कुराहरू अनुमोदन गर्ने जिम्मेवारी बोकेको छु । उहाँहरूले नराम्रो सुरुवात गर्नुभएको छ,’ उहाँले भन्नुभयो ।
नेपालका ‘जेन-जी’हरूले सिक्नुपर्छ : डा. बाबुराम
पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकाको न्युयोर्कमा सम्पन्न मेयरको निर्वाचनबाट नेपालमा ‘जेन-जी’ र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले सिक्नुपर्ने बताउनुभएको छ । नेता भट्टराईले सामाजिक सञ्जालमा लेख्दै न्युयोर्कको मेयरमा लोकतान्त्रिक समाजवादी विचारका जोहरान ममदानीको चुनावी अभियान र यसले उठाएका वैचारिक राजनीतिक मुद्दाहरूलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभएको हो । ‘अमेरिकाको सबभन्दा ठूलो सहर न्युयोर्कको मेयरमा लोकतान्त्रिक समाजवादी विचार अंगीकार गर्ने नवनिर्वाचित युवा जोहोरान ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक-राजनीतिक मुद्दाहरूलाई हाम्रो नेपालका जेन-जी युवाहरू र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले पनि उपयोगी सन्दर्भ-सामग्रीको रूपमा लिन जरुरी छ’, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘विचार र व्यक्ति दुवैको समिश्रणले सही नेतृत्व जन्मन्छ । विचार बिनाको व्यक्ति र व्यक्तित्व बिनाको विचारले सही राजनीतिक नेतृत्व गर्न सक्दैन । विश्व इतिहासको अनुभवले यही भन्छ ।’
नेपाली रेस्टुरेन्टमा मःमः खाएको फोटो भाइरल
अमेरिकाको न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोरहान ममदानीले नेपाली रेस्टुरेन्टमा खाना खानुभएको छ । मेयरमा निर्वाचित भएपछि न्युयोर्कको ज्याक्सन हाइटमा रहेको नेपाली स्वाद पस्किने लालीगुराँस बिस्ट्रो होटेलमा गएर उहाँले मःमः खानुभएको हो । उहाँको साथमा कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा न्युयोर्ककै प्रतिनिधित्व गर्ने डेमोक्र्याटिक नेतृ अलेक्जाण्ड्रिया ओकासियो कोर्टेज पनि हुनुहुन्थ्यो । त्यहाँ उहाँहरू मःमः, चाउमिन, आलु र दूधको चियामा रमाइरहेको देखिएको छ । उहाँहरूले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै यसबारे जानकारी दिनुभएको हो । यो तस्वीर यतिबेला भाइरल भइरहेको छ ।
एजेन्सीको सहयोगमा






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच