काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालमाथि ‘जेन-जी’ आन्दोलनमा आबद्ध विभिन्न समूहहरूले राजीनामा गर्न दबाब बढाएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाहीका लागि पक्राउ नगरेको भन्दै ‘जेन-जी’ आन्दोलनसँग सम्बन्धित समूहहरूले गृहमन्त्रीप्रति तीव्र असन्तुष्टि प्रकट गरेका हुन् । सोही सन्दर्भमा ‘जेन-जी’ आन्दोलनका संस्थापक सुदन गुरुङले सामाजिक सञ्जालमार्फत गृहमन्त्री अर्यालविरुद्ध आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले गृहमन्त्रीलाई ‘अलोकप्रिय’ भन्दै जनताको भरोसा कायम गर्न असफल भएको आरोप लगाउनुभएको छ । गुरुङले लेख्नुभएको छ, ‘देशभरबाट ‘हत्यारालाई कारबाही गर्’, ‘भ्रष्टाचारीलाई कारबाही गर्’ भन्ने आवाज उठ्दा ‘जेन-जीलाई कारबाही गर्’ भन्ने कुरा सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रतिको अपमान हो । शहीदको रगत सम्झनुहोस्, नेपाली जनताको आशा र आँसु सम्झनुहोस्, र काम गर्न नसके पद त्याग्ने वाचा सम्झनुहोस् ।’ गुरुङले गृहमन्त्री अर्यालले सरकार गठनको दुई महिना हुन लाग्दासमेत कुनै ‘हत्यारा’ भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको आरोप लगाउँदै आलोचना गर्नुभएको छ । गुरुङले भ्रामक समाचारमार्फत आफ्नो अपमान र चरित्र हत्या भएको र त्यसलाई आफू सहेर बसेको उल्लेख गर्नुभएको छ । ‘देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्यासमेत सहेर बसेँ,’ गुरुङले भन्नुभयो, ‘कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ । किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन्, एकदिन र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ ।’
उहाँले आफू परिणाम देखाउनका लागि लडेको उल्लेख गर्नुभएको छ । ‘हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौँ । अब भित्र मनमै सोच्नुहोला-‘चुनाव गराएर निक्लिन्छु,’ गुरुङले लेख्नुभएको छ, ‘नेपाली युवाहरू मूर्ख छैनन्, हामी पर्खिरहेका छौँ । त्यसैले चेतना होस् । चुनावको नाटक नचलोस् । २०८४ को चुनाव २०८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो ।’ ‘जेन-जी’का मागहरू सम्बोधन नभए चुनाव हुन नदिने घोषणा गर्नुभएको छ । ‘नेपाली जनता र ‘जेन-जी’का मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन’, गुरुङले भन्नुभएको छ, ‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फरेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ । प्रधानमन्त्रीको प्रिय पात्र भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो । तपाईं त्यो काम गर्नुहोस् जसका लागि तपाईंलाई त्यहाँ पठाइएको हो’, गुरुङले लेख्नुभएको छ, ‘जनता जागिसके, युवा जागिसके ।’
यसअघि पनि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले दबाब दिइरहेको भन्ने विषय चर्चा भएको थियो । गृहमन्त्रीलाई हटाउन दबाब आएको भन्दै समाचार आउन थालेपछि प्रधानमन्त्रीको स्वकीय सचिवालयले नै विज्ञप्ति निकालेर कसलाई मन्त्री बनाउने वा हटाउने भन्ने कुरा विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएकाले सोे कुरा अफवाह भएको जनाएको थियो ।
गृहमन्त्री अर्यालले आफूविरुद्ध षड्यन्त्र भइरहेको र सामाजिक सञ्जालबाट बुलिङ गरिएको समेत बताउँदै आउनुभएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहनिकट युवाले उहाँलाई हटाउन दबाब दिने उद्देश्यले ट्रेण्डिङ चलाउने प्रयाससमेत गरेका थिए । मेयर साहका कानुनी सल्लाहकार रहेका अर्याललाई उहाँले नै गृहमन्त्री बनाएको बताइएको थियो । तर, आफूले भनेबमोजिम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई पक्राउ नगरेपछि चिढिनुभएका बालेनले यसबीचमा प्रधानमन्त्रीलाई भेटेरै गृहमन्त्री हटाउन दबाब दिएको समाचार बाहिरएको थियो । मेयर साहले तीन दिनअघि बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्नुभएको र त्यसलगत्तै गृहमन्त्री हटाउने चर्चा उहाँका विरुद्ध ‘जेन-जी’कै एउटा समूहले अभियान थालेको थियो । यसबाट के प्रष्ट हुन्छ भने मेयर बालेन साह गृहमन्त्री अर्याललाई हटाउन दबाब दिइरहनु भएको छ । मेयर बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतलाई तुरुन्त पक्राउ गर्न दबाब दिइरहनु भएको छ । तर, कानुनबमोजिम चल्नुपर्ने बाध्यता सरकारले देखाएको छ ।
सर्वपक्षीय सरकारको माग गर्दै विप्लव नेकपाको प्रदर्शन
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार प्रदर्शन गरेको छ । काठमाडौंमा निकालिएको ¥यालीमा सर्वपक्षीय अन्तरिम सरकारको माग गरिएको छ । भृकुटीमण्डप पुगेर प्रदर्शन सभामा परिणत भएको थियो । प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव विप्लवले राजनीतिक दलहरूको दलाली र विदेशी हस्तक्षेपका कारण स्वाधीनता संकटमा पुगेको बताउनुभयो । ‘हाम्रो स्वाधीनता संकटमा छ । हामी सिरिया हुने, युद्धको मैदान हुने खतरा छ,’ उहाँले भन्नुभयो, ‘समय छँदै अरू देशको दलाली गर्न दलहरूले बन्द गरेनन् र मित्र हुँ भन्दै हस्तक्षेप गर्ने विदेशीले आफ्नो कदम रोकेनन् भने हामी अप्ठेरो अवस्थामा पुग्नेछौँ ।’ पार्टी दर्ताका लागि विप्लवले हालै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । यो बीचमा उहाँको पार्टीबाट दुईवटा समूह चोइटिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच