काठमाडौं । मुलुकको प्रमुख राजनीतिक दल नेपाली कांग्रेस अहिले नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने द्विविधामा परेको छ । साथै आगामी निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विषयमा पनि पार्टी नेतृत्व स्पष्ट निर्णयमा पुग्न सकेको छैन । महाधिवेशनको मिति तय गर्न पार्टी रुमल्लिँदा कांग्रेस क्रमशः राष्ट्रिय राजनीतिको केन्द्रबाट छायाँमा पर्दै गएको देखिन्छ । ‘जेन-जी’ आन्दोलनपछि देशको राजनीति गम्भीर मोडमा पुगेको बेला, महत्वपूर्ण राजनीतिक निर्णय लिनुपर्ने अवस्थामै कांग्रेस आन्तरिक कलह र गुटबन्दीमा फसेको छ ।
असोज २८ गते केन्द्रीय समिति बैठकमा उपस्थित भएर सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेपछि खड्काकै अध्यक्षतामा केन्द्रीय समिति बैठक बस्दै आएको छ । तर, १५औँ महाधिवेशन कार्यतालिकाबारे अझै निर्णय गर्न सकेको छैन । पार्टी महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्नेगरी केन्द्रीय समितिमा प्रस्ताव पेस गर्नुभएको छ । महामन्त्री थापाको प्रस्तावलाई असफल बनाउने उद्देश्यका साथ संस्थापन पक्षीय नेताहरूले सह-महामन्त्री महेन्द्र यादवमार्फत २७–२९ वैशाखको छुट्टै कार्यतालिका प्रस्तुत गरेका छन् । कांग्रेस विधानमा बैठकको एजेण्डा महामन्त्रीबाट प्रस्तुत हुने व्यवस्था छ । तर, संस्थापन पक्षका नेताहरूले आफैँ क्षेत्राधिकारबाहिर गएर सह-महामन्त्रीलाई कार्यतालिका प्रस्तुत गर्न लगाएको भन्दै आलोचना भएको छ ।
२०७८ मंसिर २४ देखि २८ गतेसम्म १४औँ महाधिवेशन भएको र विधानअनुसार नियमित कार्यकाल चार वर्ष भएकाले मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने मत कांग्रेसभित्र छ । तर, चुनावअघि कि पछि महाधिवेशन गर्ने भन्ने मुख्य मतभेद छिनोफानो गर्न नसक्दा कांग्रेस कुहिरोमा हराएको काग जस्तै बन्न पुगेको छ । कांग्रेसको संस्थापन पक्ष निर्वाचन अगाडि कुनै पनि प्रकारको अधिवेशन गराउने पक्षमा नदेखिँदा महाधिवेशनको मुद्दामा झन् अन्योल बढेको छ । केन्द्रीय कार्यसमितिले बहुमतको बलमा नियमित र विशेष दुवै महाधिवेशनमा नजाने निर्णय गरेमा गत २९ असोजमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट दर्ता गराएको निवेदनको प्रक्रिया के हुने ? भन्ने प्रश्न जटिल बनेको छ ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि निवेदन दर्ता भएको जानकारी जारी केन्द्रीय कार्यसमितिलाई गराउनुभएको छ । तर, अहिलेसम्म विशेष महाधिवेशनको विषय बैठकको छलफलको एजेण्डा बनेको छैन । पार्टी विधानको धारा १७ (२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट विशेष महाधिवेशन माग भएमा तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था भए पनि यसको प्रक्रियाबारे प्रष्ट व्यवस्था छैन ।
नियमित महाधिवेशन भन्नेबित्तिकै सात तहको अधिवेशन सम्पन्न हुनुपर्छ । केन्द्रीय कार्यसमितिको कार्यकाल टुंगिएको छ । यतिबेला विशेष महाधिवेशनको कुरा ल्याउने नभई नियमित महाधिवेशनको प्रक्रियामा जानुपर्ने संस्थापन पक्षको जोड छ । विशेष महाधिवेशनको माग राखेर निवेदन परिसकेको छ । विशेष महाधिवेशन गर्नुपर्छ कि पर्दैन ? भनेर केन्द्रीय कार्यसमितिले निर्णय गर्नुपर्छ । तर, जारी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको विषय औपचारिक एजेण्डामै परेको छैन । संस्थापन पक्षका कतिपय नेताहरूले विशेष महाधिवेशनको विषय उठाएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजनको बिजारोपण गर्न खोजेको आरोप लगाएका छन् ।
असोज २८ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशन कहिले गर्ने ? भन्ने विवाद तत्काल टुंगिने अवस्था देखिएको छैन । चुनावअघि १५औँ महाधिवेशन सम्पन्न गर्न सकिने कि नसकिने भन्ने बहसमै पार्टीले करिब एक महिना व्यतित गरिसकेको छ । भदौ २४ र २५ गते भएको ‘जेन-जी’ आन्दोलनपछि नीति तथा नेतृत्व परिवर्तनको माग उठेसँगै कांग्रेसभित्र महाधिवेशनको आवाज बलियो बनेको थियो । त्यसयता जारी केन्द्रीय कार्यसमितिमा महामन्त्री थापाले १० बुँदे एजेण्डा प्रस्तुत गरे पनि छलफल महाधिवेशनको मिति तय गर्ने विषयमै सीमित भएको छ । नेताहरू फागुन २१ गतेअघि महाधिवेशन गर्ने वा आगामी चुनावपछि गर्ने भन्ने विषयमा विभाजित छन् । तर, बैठक अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन ।
नियमित महाधिवेशन पक्षधरको काउण्टर भेला
महाधिवेशनबारे निर्णय गर्न पार्टी मुख्यालय सानेपामा केन्द्रीय समिति बैठक चलिरहँदा बाहिर भने दिनदिनैजसो नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधरहरूको गुटगत भेला चलिरहेको छ । बिहीबार काठमाडौंको बत्तीसपुतलीमा संस्थापन र डा. शेखर कोइराला पक्षका नेताहरूले छुट्टै भेला गरेका छन् । विशेष महाधिवेशन पक्षधरलाई काउण्टर दिनको लागि नियमित महाधिवेशनका पक्षधरहरूले भेला गरेका हुन् । यसअघि मंगलबार विशेष महाधिवेशनका पक्षधर नेताहरूले काठमाडौंमै भेला आयोजना गरेका थिए । महामन्त्री गगन थापाले चुनावअघि नै महाधिवेशन गर्ने नभए विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेपछि संस्थापन पक्षले काउण्टर दिन बिहीबार भेला आयोजना गरेको बताएका छन् । भेलामा सहभागी संस्थापन पक्षका नेता बद्री अर्यालले विशेष महाधिवेशन पार्टीको लागि धोका हुने तर्क गर्नुभएको छ । नेता अर्यालले पार्टीमा विशेष महाधिवेशनको प्रस्ताव दर्ता हुनुको कुनै औचित्य नरहेको समेत टिप्पणी गर्नुभएको छ । भेलाको अध्यक्षता भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले गर्नुभएको थियो ।
पुस १६-१९ सम्मको मितिमा सबैको सहमति जुट्छ : सहमहामन्त्री पाण्डे
कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले आगामी पुस १६ देखि १९ सम्म महाधिवेशन गर्नेमा शेखर कोइरालादेखि सबैको सहमति जुट्ने दाबी गर्नुभएको छ । चुनावअघि नै महाधिवेशन गर्नुपर्छ भनेर पुस १६ गतेदेखि १९ गतेसम्मको कार्यतालिका प्रस्ताव गरिएको तर्क गर्दै पाण्डेले भन्नुभयो, ‘मंसिर मसान्तभित्र महाधिवेशन गर्न भ्याउने स्थिति भएन, दिनहरू घट्दै गए । केन्द्रीय समितिमा छलफल बढ्दै जाँदा उता दिनहरू घट्दै गए मंसिर मसान्तमा महाधिवेशन गर्न नभ्याउने भएकोले १५औँ महाधिवेशन पुस १६ गते उद्घाटन गर्ने गरी कार्यतालिका प्रस्तावित भएर आएको हो । नेता शेखर कोइरालाको पनि समर्थन रहन्छ ।’
महामन्त्रीहरूबाटै पार्टीको इमेज बिगार्ने काम भयो : प्रदेश सभापति थापा
नेपाली कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाले महामन्त्रीहरूबाटै जनतामा पार्टीको इमेज बिगार्ने गरी गलत भाष्य निर्माण गरिएको आरोप लगाउनुभएको छ । कोसी प्रदेशका पूर्व-मुख्यमन्त्रीसमेत रहनुभएका थापाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको जनताले भोट हाल्दैन, जनतामा जान सकिँदैन भन्ने भाष्यले पार्टीलाई क्षति पुर्याइरहेको दाबी गर्दै भन्नुभयो, ‘कसैले प्रमाणित गर्दिनुस्, ग्यारेण्टी दिनुहोस् हाम्रो नेतृत्वमा भोट आउँदैन भनेर । हामी राजीनामा दिन तयार छौँ । भोट कसले हाल्छन्, कसले हाल्दैनन् भनेर ठेक्का लिइदिने को छन् ? महामन्त्रीहरूले नै पार्टीको इमेज बिगार्नेगरी गलत भाष्य निर्माण गरिरहनु भएको छ ।’
फागुनमा चुनाव सुनिश्चित भए वैशाखमा महाधिवेशन : केन्द्रीय सदस्य साउद
कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले फागुनमा चुनाव हुने सुनिश्चित भए वैशाखमा नै १५औँ महाधिवेशन गर्न उपयुुक्त हुने बताउनुभएको छ । केन्द्रीय समितिको जारी बैठकमा धारणा राख्दै नेता साउदले चुनावको मिति सरेर वैशाखमा हुने अवस्था बन्यो भने फागुनमा महाधिवेशन गर्ने विकल्प रहेको तर्क गर्दै भन्नुभयो, ‘निर्वाचनभन्दा अगाडि वा पछाडि महाधिवेशन गर्नुपर्ने भन्दा पनि फागुनमा निर्वाचन हुने सुनिश्चित भयो भने वैशाख र वैशाखमा निर्वाचन हुने भयो भने फागुनमै महाधिवेशन गर्न उपयुक्त हुन्छ । फागुन २१ गते निर्वाचन तोकिएको छ । हाम्रो पार्टीले निर्वाचनमा जान्छौँ भन्ने मौखिक प्रतिबद्धता गरेको छ ।’
पुसमै महाधिवेशन गर्न समय पर्याप्त : नेता केसी
कांग्रेस नेता अर्जुननरसिंह केसीले छोटो समयको तयारीमा पनि महाधिवेशन गर्न सकिने बताउनुभएको छ । संस्थापन पक्षका कतिपय नेताले समय अभावले चुनाव अघि महाधिवेशन गर्न नसकिरहेको बताइरहेको बेला विगतको उदाहरण दिँदै केन्द्रीय समिति बैठकमा नेता केसीले भन्नुभयो, ‘११औँ महाधिवेशन, मात्रै ४० दिनको तयारीमा सम्पन्न भएको हामीकहाँ उदाहरण छ । असाधारण परिस्थितिमा महाधिवेशन हुन सक्दैन भन्ने बहाना निरर्थक छ । पार्टी यथास्थितिमा राखेर निर्वाचनमा जानु घातक हुन्छ ।’






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच