काठमाडौं । ‘जेन-जी’ एलायन्सले देशकै अति संवेदनशील क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका तस्करी, भ्रष्टाचार र ‘उच्च तहको सेटिङ’का घटनामा संलग्न ठहरिएका उच्च अधिकारीहरूविरुद्ध तत्काल छानविन र कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । एलायन्सले प्रधानमन्त्री सुशीला कार्कीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागलाई सम्बोधन गरिएको पत्रमार्फत दशकौँदेखि विमानस्थल क्षेत्रमा हुँदै आएको गैरकानुनी कारोबारमा उच्च तहका अधिकारीहरूको संलग्नता रहेको दाबी गरेको छ । त्यसै सन्दर्भमा, एलायन्सले सो घटनामा संलग्न व्यक्तिहरूमाथि छानविन गरी कानुनी कारबाही गर्न माग गरेको छ । एलायन्सको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भइसकेको पनि जनाइएको छ ।
उजुरी पत्रमा विमानस्थललाई ‘देशकै संवेदनशील तर, सबैभन्दा बढी भ्रष्ट क्षेत्र’ भनेर दाबी गरिएको छ । ‘गत २३ भदौको जेन-जी विद्रोह केवल सरकार निर्माणका लागि होइन, सुशासन र रूपान्तरणका लागि थियो’, ‘जेन-जी’ एलायन्सका संयोजक प्रतीक्षा प्रतिरोध र सचिव सुमन अधिकारीले हस्ताक्षर गरेको उजुरी पत्रमा उल्लेख छ, ‘सुशासनको पहिलो र मुख्य सर्त हो, संवेदनशील क्षेत्रहरूबाट भ्रष्टाचार र तस्करीको अन्त्य । तर, विमानस्थल जस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको क्षेत्र आज तस्करीको अखडा बनेको छ ।’
पत्रमा एलायन्सले सर्वोच्च अदालतका पूर्व-प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले व्यापारी सुवास श्रेष्ठसँग मिलेमतो गरी राज्यको सम्पत्तिलाई निजी लाभका लागि प्रयोग गरेको आरोप लगाएको छ । एलायन्सले दिएको उजुरीअनुसार श्रेष्ठले २०६९ सालदेखि त्रिभुवन विमानस्थलभित्र र आन्तरिक टर्मिनल क्षेत्रका कफीसप तथा पसलहरू बिना प्रतिस्पर्धा सञ्चालन गर्दै आउनुभएको छ । ती पसलहरूबाट अत्यधिक महँगो मूल्य लिने, अवैध सामान ढुवानी गर्ने र विदेशी मुद्रा तस्करी गर्ने कार्य निरन्तर हुँदै आएको दाबी गरिएको छ ।
पत्रमा भनिएको छ, ‘कल्याण श्रेष्ठले तत्कालीन प्रधानन्यायाधीशको हैसियतमा आफ्नो पद र प्रभाव प्रयोग गरेर सुवास श्रेष्ठलाई ठेक्का दिलाएका थिए । त्यसको बदलामा श्रेष्ठका छोरा अभिषेक श्रेष्ठलाई कम्पनीको सेयर दिइएको थियो । क्यानका महानिर्देशक प्रदीप अधिकारीले पनि सोही व्यापारीलाई निरन्तर ठेक्का, अनुमति र संरक्षण दिँदै आएका छन् ।’
डलर र सुन तस्करीसम्म
पत्रमा सुवास श्रेष्ठ विदेशी मुद्रा र सुन तस्करीमा संलग्न रहेको ठोस उदाहरणसमेत दिइएको छ । २०७६ साल चैत २५ गते विदेश जाने क्रममा श्रेष्ठ २२ हजार थाई भाट, १० हजार अमेरिकी डलर, ८० हजार चिनियाँ युआन र १३ सय ८० युरोसहित पक्राउ परेका थिए । उक्त घटनाबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरू उद्धृत गर्दै पत्रमा भनिएको छ, ‘विदेशी मुद्रासहित पक्राउ परे पनि तत्कालीन उच्च अधिकारीहरूको दबाबमा विमानस्थलमा सिल गरिएको कफी पसल पुनः खोलियो । यो नै स्पष्ट प्रमाण हो कि विमानस्थलभित्रै उच्च तहको संरक्षणमा तस्करीको जालो चलिरहेको छ ।’ त्यस्तै, पत्रमा हालसम्म पनि ‘कफीसपको सामग्री’ भन्दै विमानस्थलको स्टेराइल क्षेत्र हुँदै दैनिक तस्करीका सामानहरू ओसारिने गरेको उल्लेख छ ।
होडिङ बोर्ड र कर छलीमा समेत संलग्नता
उजुरीमा ‘ग्रिनतारा मिडिया ग्रुप मार्केटिङ प्रालि’ नामक कम्पनीले २०६६ यता विमानस्थल परिसरमा ५० भन्दा बढी विज्ञापनका बोर्ड राखी अर्बौं राजस्व असुल गरेको तर राज्यलाई कर नतिरेको आरोप लगाइएको छ । उक्त कम्पनी सुवास श्रेष्ठकै स्वामित्वमा रहेको र प्राधिकरणका तत्कालीन अधिकारीहरूबाट अनियमित रूपमा ठेक्का पाएको दाबी गरिएको छ । पत्रमा भनिएको छ, ‘सम्झौताअनुसार विमानस्थल परिसरमा ब्युटिफिकेसन र साजसज्जाको काम गर्नुपर्ने भए पनि कम्पनीले त्यसको साटो विज्ञापनका बोर्डमार्फत मात्र रकम उठाएको छ । एउटै बोर्डमा वार्षिक नौ लाखसम्म असुल गरी लाखौँको कर छली गरिएको छ ।’
अवैध सम्पत्ति र सेटिङको सञ्जाल
‘जेन-जी’ एलायन्सले आफ्नो पत्रमा कल्याण श्रेष्ठ र प्रदीप अधिकारीले दशकौँदेखि व्यापारीहरूसँग मिलेर विमानस्थललाई भ्रष्टाचारको केन्द्रमा परिणत गरेको दाबी गरेको छ । उनीहरूले पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको एलायन्सको आरोप छ । ‘तत्कालीन न्यायाधीश र अधिकारीहरू लुक्लासम्म गएर ठेक्का र सेटिङको सन्धि गर्ने गर्थे । त्यो केवल व्यापारिक सौदा होइन, राष्ट्रघात थियो,’ उजुरीमा भनिएको छ । विमानस्थलमा भइरहेको तस्करी र भ्रष्टाचारबारे समाचार प्रकाशित गर्ने सञ्चार माध्यमका सम्पादकमाथि दबाबमा र मुद्दा दायर गराएको पत्रमा उल्लेख छ । ‘सुवास श्रेष्ठले विशेष अदालतका न्यायाधीशहरूसँग भेटेर पत्रकारलाई जेल हाल्न दबाब दिएका थिए । यस्तो कार्यले प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको छ’, पत्रमा भनिएको छ ।
यस्ता छन् पाँच बुँदे माग
‘जेन-जी’ एलायन्सले पत्रमार्फत सरकारसँग पाँच बुँदे माग राखेको छ । जसमा पर्यटन मन्त्रालयबाट सबै कागजात झिकाएर सुवास श्रेष्ठमाथि तत्काल कारबाही गर्न एलायन्सले माग गरेको छ । यसैगरी, गैरकानुनी रूपमा आर्जित सम्पत्तिको छानविन गरी सम्पत्ति शुद्धीकरण विभागमा पठाउन पनि उजुरीमा माग गरिएको छ । यस्तै, पूर्व-प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, क्यान महानिर्देशक प्रदीप अधिकारीलगायत उच्च अधिकारीलाई भ्रष्टाचार मुद्दामा कारबाही गर्न एलायन्सले माग गरेको छ भने विमानस्थलका सबै सटर प्रतिस्पर्धाका आधारमा भाडामा लगाउन र मूल्य नियन्त्रण गर्न पनि एलायन्सको माग छ । एलायन्सले विमानस्थलमार्फत भइरहेका सुन, डलर र अन्य तस्करी कार्य तुरुन्त रोक्न पनि माग गरेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच