काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूको नाफा घट्दै गएको छ । वाणिज्य बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कुल नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिना अर्थात् साउनदेखि असोजसम्म १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरूको औसत नाफा १८.४७ प्रतिशतले घटेर तीन अर्ब चार करोड ७६ लाख रुपैयाँमा झरेको हो । तथ्यांकअनुसार १५ वाणिज्य बैंकहरूको नाफा घटेको र एक वाणिज्य बैंक भने घाटामै रहेको छ ।
सबैभन्दा बढी नाफा कमाउनेको सूचीमा रहेको ग्लोबल आइएमई बैंकले असोज मसान्तसम्ममा एक अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
सबैभन्दा बढी नाफा कमाउने ग्लोबल आइएमई बैंकले असोज मसान्तसम्ममा एक अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी नाफा हो । गत आर्थिक वर्षको सोही अवधिमा सर्वाधिक नाफा कमाएको नबिल बैंक भने चालु आर्थिक वर्षको सोही अवधिमा दोस्रो स्थानमा झरेर असोजसम्ममा एक अर्ब ७५ करोड रुपैयाँमात्रै नाफा कमाएको छ ।
तीन महिनामा पाँच बैंकले मात्रै एक अर्बभन्दा बढी नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा एक अर्बभन्दा बढी नाफा कमाउने आठ वाणिज्य बैंक रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा पाँचमा झरेका हुन् । ग्लोबल आइएमई, नबिल, प्राइम, एभरेष्ट र कुमारीले एक अर्बभन्दा बढी नाफा कमाएका छन् भने प्रभु बैंक, एनएमबी बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अर्बभन्दा कम नाफा कमाएका हुन् । तर, सिटिजन्स बैंक इन्टरनेसनल २२ करोड चार लाख रुपैयाँ घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त बैैंकले १९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सबैभन्दा बढी नाफा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । उक्त बैंकले २९५.७२ प्रतिशत नाफा बढाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको हो ।
२० मध्ये १४ वाणिज्य बैंकहरूको नाफा घटेको छ । कृषि विकास बैंकको नाफा सर्वाधिक ९६.९९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १९ करोड नौ लाख रुपैयाँ खुद नाफा कमाएको उक्त बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि नाफा ९६.९२ प्रतिशतले घटेको छ । प्रभु बैंकको नाफा ४६.३३ प्रतिशतले घटेको छ ।
बैंकहरूको निष्क्रिय कर्जा बढ्दै गएका कारण नाफामा धक्का लागेको हो । बैंकहरूको निष्क्रिय कर्जा ०.७७ प्रतिशतदेखि ५.९२ प्रतिशतसम्म रहेकोमा अहिले कतिपय बैंकको निष्क्रिय कर्जा छ प्रतिशतभन्दा धेरैले बढेको छ । सबैभन्दा धेरै कुमारी बैंकको निष्क्रिय कर्जा ६.९८ र हिमालयन बैंकको ७.३९ प्रतिशतसम्म रहेको छ । बैंकहरूको आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानी पनि ७.५१ प्रतिशतले बढेको छ ।
विकास बैंकको पनि ४५.२० प्रतिशतले घट्यो नाफा
चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्ममा विकास बैंकहरूको नाफासमेत ४५.२० प्रतिशतले घटेको छ । विकास बैंकहरूले प्रकाशित गरेको तीन महिनाको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासमा एक अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएका बैंकहरूले चालु आर्थिक वर्षको सोही अवधिमा ७८ करोड ३४ लाख ५४ हजारमात्रै नाफा कमाएका हुन् । सो अवधिमा चार बैंकको नाफा घटेको छ भने तीन बैंकको नाफा बढेको र लुम्बिनी विकास बैंक घाटामा रहेको छ ।
सर्वाधिक नाफा कमाएको गरिमा विकास बैंकले ११ प्रतिशतले नाफा बढाएर २५ करोड पाँच लाख ७५ हजार रुपैयाँ पु¥याएको छ । तर, मुक्तिनाथ विकास बैंकको नाफा २०.२४ प्रतिशतले घटेर २२ करोड ४७ लाख ७४ हजारमा झरेको छ ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा पनि १५.१७ प्रतिशतले घटेर २० करोड ३० लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २३ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।
कामना सेवा विकास बैंकको नाफा भने १२.९२ प्रतिशतले बढेर १९ करोड ७५ लाख, महालक्ष्मी विकास बैंकको ३.४२ प्रतिशतले बढेर नौ करोड ७५ लाख पुगेको छ । सर्वाधिक नाफा कमाएको सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४६.५८ प्रतिशतले बढेर आठ करोड ८२ लाख रुपैयाँ पुगेको छ तर ज्योति विकास बैंकको नाफा ५३ प्रतिशतले घटेर सात करोड तीन लाख रुपैयाँमा झरेको छ । लुम्बिनी विकास बैंकको नाफा भने ३४ करोड ८५ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच