सामान्यतया कला शब्दले चित्रकला, प्रस्तरकला, वास्तुकला जस्ता मूर्त वस्तुका साथै सङ्गीत, गायन, नृत्यकला, नाट्यकला जस्ता अमूर्त प्रस्तुतिलाई पनि जनाउँछ । साथै यस शब्दले साहित्य लगायत कुनै पनि कलात्मक सिर्जनासमेतलाई जनाउँछ । कलाका विभिन्न रूपहरूमध्ये साहित्य एक प्रमुख रूप हो । साहित्यमा विचार प्रधान हुन्छ कि कलात्मक पक्ष प्रबल भन्ने कुरा गहन विवादको विषय हो । कोही भन्छन् साहित्यमा भाव पक्ष कमजोर रह्यो भने त्यस्तो साहित्य निरर्थक हुन्छ । अरू कोही भन्छन् साहित्यमा कलात्मक पक्ष कमजोर भयो भने त्यस्तो साहित्य नारामात्र हुन्छ । अझ कतिपय व्यक्तिहरूले त साहित्यलाई केवल शब्दको खेलमात्र हो भन्छन् ।
तिनका विचारमा साहित्य भनेको हेर्दा सुन्दर देखिने तर जीवनोपयोगी नहुने निरर्थक वस्तुमात्र हो तर विचार प्रधान हुने साहित्य उत्कृष्ठ हो वा कला प्रधान हुने साहित्य उत्कृष्ठ हो भन्ने विवाद निरर्थक विवाद हो किनभने यी दुवै पक्षको समुचित सङ्गम नभएको कुनै पनि लेखन साहित्य हुन सक्दैन । कुनै पनि साहित्यमा विचार उपस्थित भएकै हुन्छ तर साहित्यमा विचार उपस्थित भएर पनि असङ्गत ढङ्गले राखिएको विचार कलात्मक हुन सक्दैन । कलात्मकता नभई साहित्य हुँदैन । साहित्यलाई विचाररहित शब्दहरूको थुप्रोका रूपमा अथ्र्याउन खोज्नु साहित्य बारेको अल्प बुझाइ हो । साहित्य भनेको काल्पनिक संसारमा रचिने सुन्दर कलात्मक सिर्जना हो ।
कथा वा उपन्यासमा कथानक हुन्छ, पात्रहरू हुन्छन्, पात्रहरूबीच संवाद हुन्छ, संवादले द्वन्द्व सिर्जना गर्छ, त्यो द्वन्द्व उत्कर्षमा पुगेपछि शिथिल हुँदै जान्छ र अन्त्यमा सन्तुलन बिन्दुमा आइपुग्छ । यसबीचमा कथाकारले कतै वर्णन र कतै पात्रहरू बीचको संवाद कलात्मक ढङ्गले प्रस्तुत गरेको हुन्छ ।
सिर्जनाका हिसाबले साहित्यलाई मुख्य दुई अर्थमा बुझ्न सकिन्छ । एक अर्थमा साहित्य भनेको काल्पनिक संसारमा सिर्जित उत्कृष्ट विचार हो भने अर्को अर्थमा यसले उत्कृष्ट प्रस्तुतिलाई जनाउँछ । अठारौँ शताब्दीका प्रसिद्ध अङ्ग्रेजी कवि अलेक्जेन्डर पोप (१६६८-१७४४) को भनाइमा साहित्य भनेको सबै मानिसमा पाउन सकिने सामान्य विचारको कलात्मक प्रस्तुति हो । उनका अनुसार विचार सबैको उस्तै उस्तै हुन्छ तर प्रस्तुति व्यक्तिपिच्छे फरक हुन्छ । त्यस अर्थमा फरक प्रस्तुति भएको साहित्य मात्र कला हो । तर, फरक प्रस्तुति भएरमात्र पनि साहित्य हुँदैन । साहित्य हुनका लागि उपयुक्त शब्द चयन र तिनको कलात्मक संयोजन हुनुपर्छ । यस अर्थमा साहित्यलाई उत्कृष्ट विचार र कलात्मक विशिष्ट प्रस्तुतिको उचित संयोजन हो भन्न सकिन्छ । खासमा साहित्य भनेको उत्कृष्ट विचार अङ्गित सुन्दर शाब्दिक कला हो ।
रूपका हिसाबले साहित्यलाई कविता, नाटक, आख्यान, निबन्ध जस्ता मुख्य चार विधामा वर्गीकरण गरिएको छ । यी सबै विधाका साहित्यमा कल्पनामा आधारित सुन्दर सिर्जना गरिएको हुन्छ । यी सबै विधामा सिर्जित साहित्यमा कलात्मकता रहेकै हुन्छ । कलात्मकता नभएको साहित्य रूखो र अनाकर्षक हुन्छ । यस्तो लेखन लोकप्रिय हुन सक्दैन । पाठकले मन नपराउने लेखनको औचित्य पनि छैन । विश्वमा जति पनि साहित्य सिर्जना गरिएका छन् तिनमा प्रयुक्त विचारले मात्र नभई कलात्मक पक्ष सबल भएर नै तिनीहरू अजरअमर बनेका हुन् । प्राचीन दार्शनिक अरस्तु (इ.पू.३८४-३८२) ले कविता, गीत, सङ्गीत जस्ता साहित्यका मूल आत्मा भनेका भाषा, लय र राग हुन् भनेका छन् ।
काव्य सिर्जनाका लागि भाषा आवश्यक छ भने गीतको लयका लागि सुमधुर ध्वनि र सङ्गीतको रागका निम्ति वीणा, सितार, गिटार जस्ता बाजा आवश्यक हुन्छन् तर कवितामा भाषाको प्रयोग भएरमात्र पुग्दैन । यसमा प्रयुक्त भाषा कस्तो हुनुपर्छ, कस्ता शब्दहरू चयन गर्नुपर्छ, छानिएका शब्दहरूको संयोजन कसरी गरिनुपर्छ भन्ने जस्ता सवाल महत्वपूर्ण हुन्छन् । छन्द, अनुप्रास इत्यादि जस्ता गहनाले कवितालाई अझ सुन्दर बनाउँछन् । त्यसबाहेक उपमा, रूपक इत्यादि अलङ्गारले झन् बढी सुन्दर बनाउने नै भए । यस अर्थमा छन्दविहीन कविताभन्दा छन्दबद्ध कविता बढी कलात्मक हुन्छ भनिएको हो ।
कावितामा नौला शब्दको चयन गरिन्छ तर नौलो शब्द छानेरमात्र हुँदैन । नौलो त आफू त्यो शब्दसँग परिचित नभएर लाग्न सक्छ । धेरै मानिसले प्रयोग गर्ने गरेको नभएर पनि नौलो देखिन सक्छ । अर्कै समुदायले प्रयोग गर्ने गरेको भएर पनि नौलो लाग्न सक्छ । अर्कै संस्कृतिबाट आगन्तुक भएर आएकोले पनि त्यस्तो देखिन सक्छ । दैनिक प्रयोगमा आउने शब्द नभएर नौलो लाग्नसक्छ । एउटा व्यक्तिका लागि नौलो लाग्ने शब्द अर्को व्यक्तिलाई नौलो नलाग्न सक्छ । तसर्थ शब्द चयन गर्दा नितान्त नौलो शब्दमात्र खोज्ने होइन बरू त्यो शब्द लेख्न लागिएको कविताको काव्य परिवेशसँग मिल्ने हुनुपर्छ । काव्य परिवेश भनेको लेखकको उद्देश्य, प्रस्तुत गरिने विषयवस्तु र पाठकको मनोदशाका आधारमा सिर्जित परिस्थिति हो । परिस्थितिसँग मेल नखाने गरी लेखकले आफ्नो आग्रहनुसारको कुनै विचार पस्किनु वा असान्दर्भिक विषयवस्तु पस्किनु वा पाठकको बुझ्ने क्षमताको तह नबुझी उसलाई रुचि नलाग्ने कुरा पस्किनु काव्य परिवेशसँग मेल नखाने कुरा हुन् ।
कुनै कविले कवितामा क्लिष्ट शब्द खोजीखोजी प्रयोग गर्छन् तर त्यसो गरेर मात्र कविता कलात्मक हुने होइन । अर्थ नलाग्ने गरी असान्दर्भिक शब्द जोडेरमात्र कविता कलात्मक बन्दैन । भाव बिग्रने गरी शब्द चयन गर्नुले कविता कुरूप र अनाकर्षक हुनजान्छ । कविताका सन्दर्भमा पारसमणि प्रधानको ‘कवि कविता होस् कविता कवि होस् कविता तब पो हुन्छ, शब्द थोपरिकन के हुन्छ ? भाव भए पो हुन्छ’ भन्ने अभिव्यक्ति अहिले पनि उत्तिकै सार्थक छ । सारमा भाव र कला दुवै साहित्यका उत्तिकै महत्वपूर्ण अंग हुन् ।
साहित्यका सबै विधामा कुनै न कुनै रूपमा माथि भनिएका तत्वहरू रहेकै हुन्छन् । अरस्तुका विचारमा कलाको उच्च रूप नाटक हो । उनले नाटकमा पनि कमेडीभन्दा ट्राजेडीलाई विभिन्न हिसाबले उत्तम मानेका छन् । ट्राजेडीका पात्र गम्भीर, महत्वपूर्ण र गुणवत्ता हुन्छन् भने कमेडीका पात्र कमजोर चरित्रका हुन्छन् । त्यसैले ट्राजेडीमा मानिसका असल गुणहरू प्रस्तुत हुन्छन् भने कमेडीमा मानिसका कमजोरी र कतिपय मूर्खता पनि प्रस्तुत हुने गर्दछन् । त्यसैगरी नाटकको मूल तत्व भनेको यसको अभिनय कला हो जुन लेखिएको शब्दमा देखिँदिन । त्यसैले पात्रहरूबीचको संवाद अर्को महत्वपूर्ण पक्ष हो । त्यसैले नाटकको संवाद पनि कलात्मक हुनुपर्ने भयो ।
तर, नाटक भनेको पढिने कुरा मात्र नभएर मुख्यरूपमा अभिनय कला हो । अभिनय भनेको नाटकको पात्र जस्तै भएर अभिनय गर्ने अर्को प्राकृतिक मानव पात्र हो जसले आफ्नो स्वभावलाई लुकाएर नाटकमा लेखिएको अमूर्त पात्रको जस्तो कृत्रिम व्यवहार गर्दछ । यस्तो अभिनय ट्राजेडीमा गम्भीर र कमेडीमा ख्यालख्याल प्रकृतिको हुन्छ तर ट्राजेडीको पात्रले कमेडीको पात्रको जस्तो अभिनय गर्यो भने त्यसको प्रभाव उल्टो हुन जान्छ । वियोगान्त नाटकको पात्रको अभिनय प्रहसनको हस्यौली जस्तो पो हुनपुग्छ । यस अर्थमा नाटकमा पनि कलात्मक पक्ष राम्रो हुनुपर्छ । नाट्यकलाले कुनै नाटकको सफल मञ्चन हुने वा नहुने निधो गर्छ ।
नाटकमा यसबाहेक पनि मञ्चको साजसज्जा अर्को कलात्मक पक्ष हो । अरस्तुका पालाको प्राचीन ग्रिसमा खुला रङ्गमञ्च हुने गर्थे । समयक्रममा बन्द कोठामा पनि रङ्गमञ्चको विकास हुँदै गयो । त्यसैले रङ्मञ्चको साजसज्जामा पनि कलात्मक पक्ष महत्वपूर्ण हुँदैगयो । पछिल्लो समयमा आख्यान साहित्य पनि कलात्मक बन्दै आएको छ । प्राचीनकालका एसोपका फेबलदेखि लिएर पूर्वीय वाङ्ममयका दन्त्यकथा र लोककथामा पनि कलात्मकता हुन्छ । हजुरआमाले नातिनातिनीलाई सुत्ने बेलामा सुनाउने कथामा पनि कलात्मक पक्ष महत्वपूर्ण हुन्छ ।
कथा वा उपन्यासमा कथानक हुन्छ, पात्रहरू हुन्छन्, पात्रहरूबीच संवाद हुन्छ, संवादले द्वन्द्व सिर्जना गर्छ, त्यो द्वन्द्व उत्कर्षमा पुगेपछि शिथिल हुँदै जान्छ र अन्त्यमा सन्तुलन बिन्दुमा आइपुग्छ । यसबीचमा कथाकारले कतै वर्णन र कतै पात्रहरूबीचको संवाद कलात्मक ढङ्गले प्रस्तुत गरेको हुन्छ । त्यस अर्थमा आख्यान साहित्य पनि विषयवस्तुको सरल प्रस्तुतिमात्र होइन बरू यो सुन्दर कलात्मक प्रस्तुति हो ।
आख्यानबाट विकसित भएको साहित्यको अर्को अलि भिन्न रूप सिनेमा हो । यो पनि नाटक जस्तै अभिनय गरिने तर पर्दामा चित्रमात्र देखिने फिल्म हो । फिल्मको पात्रले ठीकसँग अभिनय गरेको रहेनछ भने त्यो फिल्म असफल हुन्छ । त्यसैले फिल्ममा पनि कलात्मक पक्ष प्रबल मानिन्छ । साहित्यको अर्को विधा निबन्ध हो । निबन्ध लेखनमा कलात्मकता भएन भने त्यस्तो निबन्ध पाठकका लागि रुचिकर नहुन सक्छ । कुनै निबन्धकारको लेखन रुचिकर हुने र अर्को कुनैको नहुनुमा विषयवस्तुमात्र कारक होइन बरू कलात्मक पक्ष सबल रूपमा प्रयोग भएको हुनु वा नहुनु हो । त्यसैले हामी जर्ज अर्बेल, जर्ज बर्नार्ड श, लक्ष्मीप्रसाद देवकोटा जस्ता लेखकका निबन्ध पढ्न रुचाउँछौँ । यसर्थ साहित्यका सबै विधामा कलात्मक पक्ष अपरिहार्य हुन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच