काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेन-जी’ आन्दोलनपछि देखिएको राजनीतिक घटनाक्रमलाई ‘परिवर्तन होइन, प्रतिगमन’ भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार आयोजित विद्वत् वर्गसँगको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै ओलीले हालको अवस्थाले संविधान र लोकतन्त्र दुवैलाई चुनौती दिएको आरोप लगाउनुभयो । ‘अहिले ‘सो-कल्ड परिवर्तन’ भनिएको छ, तर यो परिवर्तन होइन, प्रतिगमन हो । प्रतिगामी कदम चालिएको छ । यो असंवैधानिक हो, संविधान मिचिएको छ, पेलिएको छ, अर्थहीन बनाइएको छ’, ओलीले भन्नुभयो ।
उहाँका अनुसार हालका निर्णय र घटनाक्रमले संविधानको मर्मविपरीत काम भएको स्पष्ट देखिन्छ । प्रतिनिधिसभा विघटनको कदमलाई पहिलो असंवैधानिक निर्णयका रूपमा उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सार्वभौम जनताबाट निर्वाचित, जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा भंग गरिएको छ, जुन कुनै पनि धाराले अनुमति दिँदैन ।’
ओलीले यस्तो कदम लोकतान्त्रिक मूल्य र संविधानिक शासनविरुद्ध भएको दाबी गर्दै एमालेलाई यो स्थिति स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक स्थायित्व, संवैधानिक मर्यादा र लोकतान्त्रिक संस्थाको सुदृढीकरण नै वर्तमान समयको प्रमुख आवश्यकता भएको जिकिर गर्नुभयो । ओलीले भदौ २३-२४ पछि भएको परिवर्तन अग्रगमन नभएर प्रतिगमन भएको बताउँदै व्यक्तिका घर जलाउनु आतंकवाद भएको दाबी गर्नुभयो ।
अराजक अभ्यास र अदृश्य शक्तिको प्रभाव रहेको आरोप
अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई ‘असंवैधानिक, प्रतिगामी र हाहुको भरमा बनेको सरकार’ भन्दै तीव्र टिप्पणी गर्नुभयो । ओलीले यो सरकार जनताको म्याण्डेट होइन, अराजक अभ्यास र अदृश्य शक्तिको प्रभावबाट बनेको आरोप लगाउनुभयो । ‘अहिलेका प्रतिगमनकारीको कुनै धरातल छैन, यो अदृश्य शक्तिबाट बनेको सरकार हो । मैले यसलाई हाहुको सरकार भनेको थिएँ, वास्तवमै हाहुमा बनेको सरकार हो । आगो लगाएका भरमा, तोडफोड गरेका भरमा, अराजकता र आतंक मच्चाएका भरमा शासनमा पुगेको सरकार यो हो’, उहाँको आरोप थियो । पूर्व–प्रधानन्यायाधीश भएर पनि प्रधानमन्त्री पद सम्हाल्नु संविधानविपरीत भएको ओलीको आरोप छ । ‘संविधानले स्पष्ट रूपमा पूर्व–प्रधानन्यायाधीशलाई मानव अधिकार आयोगबाहेक कुनै पनि पदमा जान नदिने व्यवस्था गरेको छ । तर, उहाँ आफैँ संविधान मिचेर प्रधानमन्त्री बन्नुभएको छ । यो सोझै असंवैधानिक, प्रतिगामी र संविधान मिचुवा सरकार हो’, अध्यक्ष ओलीको जिकिर थियो ।
‘डिस्कर्डको भोटिङ’मा मतपत्र कस्तो थियो ?
अध्यक्ष ओलीले ‘जेन-जी’ आन्दोलनको कुनै जग नभएको टिप्पणी गर्नुभयो । शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उहाँले राजतन्त्रका बेलाजस्तो अहिले कुनै आधार नभएको टिप्पणी गर्नुभएको हो । ‘अहिलेका प्रतिगमनकारी कमजोर, कुनै ग्राउण्ड, इतिहास नभएका । परम्पराको टेको न जनसमर्थनको आधार केही पनि नभएका’, ओलीले भन्नुभयो । ओलीले डिस्कर्डबाट चुनाव गरेर शासनमा पुगेको भन्दै मतपत्र कस्तो थियो ? भनेर ‘जेन-जी’लाई प्रश्न गर्नुभयो । ‘डिस्कर्डबाट शासनमा पुगेका रे ! डेमोक्रेसीमा कहीँ डिस्कर्डबाट शासन हुन्छ ? डिस्कर्डमा भोटिङ पनि गर्या रे ! दुई तीन हजार केटाकेटी जम्मा भए अनि भोटिङ पनि गरेका रे ! कसले गन्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पा¥यो अमेरिकाको जस्तो ?’, उहाँले भन्नुभयो ।
अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे राष्ट्रपतिले गर्नुपर्ने भनाइ
एमाले अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ । बुद्धिजीवीहरूसँगको भेलामा बोल्दै उहाँले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेकाले पुनःस्थापना पनि राष्ट्रपतिले नै गर्नुपर्ने बताउनुभएको हो । उहाँले प्रतिनिधिसभा पुनःस्थापना अदालतले नगरे राष्ट्रपतिले गर्नैपर्ने जिकिर गर्दै आफ्नो पार्टीको माग सत्य भएको दाबी गर्नुभयो । उहाँले सो मागको समर्थनमा आम नेपाली जनता उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनःस्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्छ । र, सो मागलाई अझ तीव्र बनाउनुपर्छ । जसले विघटन गर्छ, त्यसले नै पुनःस्थापना गर्नुपर्छ । कि त अदालतले गर्छ, होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नुपर्छ । असंवैधानिक ढंगले विघटन गर्नसक्ने राष्ट्रपतिले पुनःस्थापना गर्न नसक्ने कसरी हुन्छ ? पुनःस्थापना गर्नैपर्छ नि । विघटन गर्ने राष्ट्रपतिले नै पुनःस्थापना गर्नुपर्छ । यस विषयमा हामी लेख्न, बोल्न र सत्यको पक्षमा उभिन सक्नुपर्छ’, उहाँको भनाइ थियो । अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित आन्दोलनमा उत्रिन सबैलाई आह्वान पनि गर्नुभयो ।
नेताको पासपोर्ट रोक्का र स्थानहद तोकेर तमासा
अध्यक्ष ओलीले प्रमुख दलका नेताको पासपोर्ट रोक्का र स्थानहद तोकेर तमासा गरिएको टिप्पणी गर्नुभएको छ । अन्तरक्रियामा आफ्ना भनाइ राख्दै ओलीले नेतालाई स्थानहद तोकेर चुनाव गर्छु भन्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो । ‘अहिले यो फेद न टुप्पोको सरकार, जरा पनि छैन, हाँगा पनि छैन । पहेँलो लहरो हुन्छ नि, आकाशबेली । आकाशबेली जस्तो कहाँ-कहाँबाट पलाएको सरकारले हामीजस्तो कमिटमेन्ट भएको मान्छेको पासपोर्ट रोक्का गर्छ, के ठान्या छ ? यो हाहुमा बनेको गैरजिम्मेवार र अनुत्तरदायी सरकारलाई देश सुम्पेर केपी ओली भागेर जान्छ ?’ ओलीले भन्नुभयो, ‘मर्न परे यही देशमा मर्छ । आफूजस्तो ठानेर पासपोर्ट रोक्का, तमासा पनि एउटा हदको हुन्छ नि !’
ओलीले पासपोर्ट रोक्का गरेको पत्र सरकारले अहिलेसम्म आफूलाई नदिएको सुनाउनुभयो । ‘सुनेको हो, उनीहरूले भनेका भन्यै छन्, पासपोर्ट रोक्का गर कि गर भनेका छन् । मलाई पत्र दिएका छैनन् । रोक्का गरेको होला, होइन पनि भनेको छैन । मलाई पत्र दिएको छैन’, ओलीले भन्नुभयो ।
उहाँले वर्तमान सरकारलाई अनुत्तरदायी भन्दै आफूलाई सुकरातसँग तुलना गर्नुभयो । ‘त्यसबेला सुकरात त भागेन आजको केपी ओली भाग्छ ? तमासा पनि हदको हुन्छ नि’ उहाँको भनाइ थियो । अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार देशको अर्थतन्त्र चौपट पार्नतिर केन्द्रित भएको पनि आरोप लगाउनुभयो ।
पार्टीभित्रका असन्तुष्टमाथि कटाक्ष
कार्यक्रममा अध्यक्ष ओलीले पार्टीभित्रका असन्तुष्ट प्रवृत्तिमाथि पनि कटाक्ष गर्नुभयो । उहाँले कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, नेतालाई गाली गर्ने काम प्रतिक्रियावादीहरूले गर्ने गरेको बताउनुभयो । ‘कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, नेतालाई गाली गर्ने काम प्रतिक्रयावादीहरूले आफ्नो पार्टीलाई गाली गर्छन् र छोड्छन् । यति सेन्टीमेण्टल नहुनुपथ्र्यो । तर, कोही कोही मान्छे भएको देखियो । यस्तो चाँडो तात्ने र सेलाउने आल्मोनियम पनि गर्दैन ।
आल्मोनियमभन्दा पनि पातलो आल्मोनियम जस्तो छिट्टै तात्ने, छिट्टै सेलाउने हामीले गर्नु हुँदैन । हामी एउटा महान् उद्देश्य लिएर जन्मिएका हौँ । हाम्रो आन्दोलन, हाम्रो पार्टी महान् आन्दोलन लिएर जन्मिएको हो’, अध्यक्ष ओलीको भनाइ थियो । साथै उहाँले सबै आन्दोलनहरूमा नेकपा एमाले अग्रभागमा रहेकाले नेकपा एमाले निराश हुन नजान्ने जिकिर गर्नुभयो । ‘यी सबै आन्दोलनहरूमा नेकपा एमाले अग्रभागमा छ । नेकपा एमाले निराश हुन जान्दैन । हतोत्साही हुन जान्दैन । यसले समाज विज्ञानलाई बुझेको छ । समाज कसरी अघि बढ्छ भन्ने कुरालाई बुझेको छ । समाज पछाडि फर्कंदैन,’ ओलीले भन्नुभयो । कार्यक्रममा सहभागी विद्वान् र बौद्धिक वर्गका प्रतिनिधिहरूले राजनीतिक संक्रमण र संस्थागत अस्थिरताबारे चिन्ता व्यक्त गरेका थिए ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच