काठमाडौं । नेपाली कांग्रेसमा पार्टीको आसन्न १५औँ महाधिवेशनको मितिका सम्बन्धमा बहस र विवाद जारी छ । संस्थापन पक्ष आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा चुनावपछि महाधिवेशन गर्नुपर्ने अडानमा छ । पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनमै जोड दिइरहनु भएको छ । महामन्त्री थापाले आगामी पुस १६ देखि १९ सम्म महाधिवेशन गर्न प्रस्ताव नै पेस गरिसक्नु भएको छ । नियमित भए पुस तेस्रो साता त्यो हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने जोड महामन्त्रीद्वय पक्षको छ । नियमित वा विशेष अधिवेशन र मितिका विषयमा जारी केन्द्रीय समिति बैठक र पक्ष विपक्षका गुटगत भेलामा तीव्र बहस जारी छ ।
कांग्रेसको १४औँ महाधिवेशन महाधिवेशनपछि पार्टीमा संस्थापन इतर समूहको नेतृत्व गरिरहनु भएका केन्द्रीय सदस्य डा. शेखर कोइराला आगामी निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिनुभएको छ । शुक्रबार कांग्रेसका जिल्ला सभापति र पूर्व-सभापतिसँगको छलफलमा डा. कोइरालाले आफू अघिदेखि नै २०८२ मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । समयको चापले मंसिरमा नसकिए पुस मसान्तसम्म महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै डा.कोइरालाले भन्नुभयो, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु । अहिले समयको चाप र अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नु पर्छ । आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्छ । २०८२ पुस मसान्तसम्मको तालिका बनाउँदा निर्वाचन आयोगको तालिकासँग नबाझिने गरी बनाउनुपर्छ ।’
कांग्रेसले अहिले एकताबद्ध, गम्भीर, जिम्मेवार र संयम भएर अगाडि बढ्नुपर्ने पनि उहाँको भनाइ छ । विगतमा पार्टीले थुप्रै आरोह-अवरोह व्यहोरेकाले आगामी दिनमा एकताबद्ध हुनुपर्नेमा जोड दिँदै कोइरालाले भन्नुभयो, ‘एकता नै बल हो भन्ने भावनाअनुसार एक हुनैपर्छ र कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नुहुन्न । म पार्टीमा एकता र मेलमिलाप चाहन्छु । गुट, उपगुट र फुटको अन्त्य गर्न चाहन्छु । कोही कसैप्रति आग्रह-पूर्वाग्रह नराखी हामी अघि बढ्नैपर्छ । देशभरका इमानदार, निष्ठावान् र निरन्तर क्रियाशील रहेका साथीहरूले पार्टीलाई बचाइरहनु भएको छ । पार्टीका लाखौँ शुभेच्छुकहरू र बाह्य सबै पक्षले अहिले कांग्रेसको निर्णय हेरिरहेका छन्, पर्खिरहेका छन् ।’
मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आगामी मंसिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव भएको छ । केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनको मितिको प्रस्ताव प्रस्तुत गर्नुभएको हो । शुक्रबारको केन्द्रीय समिति बैठकमा आचार्यले छोटो समयमा अधिवेशन सम्पन्न गर्नेगरी प्रस्ताव प्रस्तुत गरेको जानकारी दिँदै भन्नुभयो, ‘नेपाली कांग्रेसको विधानमा व्यवस्था भएको धारा १७ (२) अनुसार मंसिर २४ गते जुन दिन मंगलादेवी सिंह उहाँको जन्मजयन्ती पर्छ ।
त्यसदिनबाट सुरु हुने गरेर विशेष महाधिवेशन आयोजना गरौँ ।’ सहमहामन्त्री महेन्द्र यादवले पनि बैठकमा महामन्त्रीलाई काउण्टर दिन महाधिवेशन कार्यतालिका ल्याएको प्रति इंगित गर्दै उहाँले आफूले विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेको पनि बताउनुभयो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । त्यसैलाई टेकेर विशेष महाधिवेशन गर्न सकिने आचार्यको भनाइ थियो । चुनावको सम्मुखमा छोटो समयमा अधिवेशन सम्पन्न गर्नुपर्ने चाप पार्टीमा रहेको उल्लेख गर्दै आचार्यले भन्नुभयो,‘चुनावका सम्मुखमा छौं । धेरै साथीहरुको बीचमा घर्षण पैदा गरेर प्रतिस्पर्धा गरेर जान जायज पनि छैन । चुनावका तयारीका लागि प्रशस्त समय दिनु छ र चुनावलाई पहिलो प्रायोरिटी बनाएर जानुछ ।’
विशेष महाधिवेशनका लागि विशेष हस्ताक्षर गरेका प्रतिनिधिहरूलाई हेप्ने प्रवृत्ति देखिएको गुनासो गर्दै आचार्यले भन्नुभयो, ‘यो हस्ताक्षर मात्र होइन, विशेष हस्ताक्षर हो । किनकि यसको सामान्य होइन, विशेष महत्व छ । पार्टी जीवनमा विशेष निर्णय लिने विशेष महाधिवेशनका लागि यसले विनम्र आह्वान गर्दछ । जुन हस्ताक्षरले नेपाली कांग्रेसलाई फेरि अर्को सुन्दर इतिहास रच्ने कर्मका लागि तयार गर्छ ।’ २०१४ सालमा विशेष महाधिवेशन भएको र त्यसबाट सभापति चुनिएका संस्थापक नेता बीपी कोइरालाको नेतृत्व पार्टी चुनावमा जाँदा दुईतिहाइ ल्याएको उहाँले स्मरण गराउनुभयो । बैठकमा केन्द्रीय सदस्य प्रतिमा गौतमले महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यतालिका अनुसार १५औँ महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने बताउनुभयो ।
रायमाझीको आक्रोश : ‘चार वर्षसम्म किन तयारी नगरेको ?’
केन्द्रीय सदस्य उमेशजंग रायमाझीले महाधिवेशन रोक्न खोजेको भन्दै आक्रोश पोख्नुभएको छ । जारी केन्द्रीय समिति बैठकमा शुक्रबार रायमाझीले महाधिवेशनको तयारी नगरेको भन्दै पार्टी नेतृत्वमाथि चर्को असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘अहिले महाधिवेशनबारे विवाद किन ? चार वर्ष अगाडि मंसिर २७ गते आउँछ भन्ने थाहा थिएन । कार्यसमितिमा रहेकाहरूलाई ? किन सुतेर बस्नुभयो ? अनि अहिले रोक्नुपर्ने ? गर्दा के हुने ? त्यसैले प्रक्रियाबाट अधिवेशन गर्नुपर्छ । कसैले भाँड्न पाइँदैन । सहमतिमा अधिवेशन गरेर निर्वाचन लड्ने हो । निर्वाचनमा कांग्रेस नलडे को लड्छ ?’ असोज २८ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अहिलेसम्म एक सय जनाभन्दा बढीले धारणा राखेका छन् । अब पदाधिकारी र केन्द्रीय सदस्य गरी ६० जनाभन्दा बढी बोल्न बाँकी छ । यस हिसाबले अझै केही दिन बैठक चल्ने देखिन्छ । छलफलका लागि महामन्त्री गगन थापाले १० वटा एजेण्डा पेस गर्नुभएको थियो । यद्यपि, केन्द्रीय समितिमा महाधिवेशनको विषयमा मात्रै छलफल केन्द्रित छ । नियमित महाधिवेशन गर्ने कि विशेष, फागुन २१ को चुनावअघि गर्ने कि चुनावपछि भन्नेमा मुख्य गरी मतभेद देखिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच