काठमाडौं । नेपालको वाम राजनीतिमा फेरि अर्को वैकल्पिक शक्ति बनाउने प्रयास सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित १० वाम घटकबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेसँगै त्यसबाहिर रहेका एमाले बाहेकका नेताहरूले वैकल्पिक वाम धार निर्माणको प्रयास थालेका हुन् । जसमा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट अलग हुनुभएका जनार्दन शर्मा र घनश्याम भुसालसहित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले छलफल अगाडि बढाउनुभएको हो । शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवासमा भएको त्रिपक्षीय भेटमा नयाँ कम्युनिष्ट केन्द्र निर्माण गर्नेबारे छलफल भएको हो ।
नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार, छलफलमा नयाँ कम्युनिष्ट केन्द्र निर्माणतर्फ सकारात्मक पहल गर्ने सहमति भएको छ । यसैगरी, समाजवादका लागि साझा अभियान सञ्चालन गर्ने र राजनीतिक अस्थिरताको निकासका लागि सहकार्यमा अघि बढ्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । महासचिव विप्लवले अहिलेको जटिल राजनीतिक संकटको समाधान देशभक्त, समाजवादी र कम्युनिष्ट शक्तिहरूको एकताबाट मात्रै सम्भव हुने बताउनुभयो । शर्माले यसअघि नै ‘प्रगतिशील अभियान’को घोषणा गरिसक्नु भएको छ । भुसालको समूहले नयाँ अभियान घोषणा गरेको छ । माओवादी, एकीकृत समाजवादीलगायत १० घटकबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो, जसमा विप्लव, जनार्दन र घनश्याम सहभागी हुनुभएको थिएन ।
नयाँ कम्युनिष्ट केन्द्र निर्माणको पहल हुँदै छ : विप्लव
नेकपा महासचिव विप्लवले जनार्दन शर्मा र घनश्याम भुसालसँग मिलेर नयाँ कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको बताउनुभएको छ । निर्वाचन आयोगमा दल दर्ताको लागि पुग्नुभएका विप्लवले कम्युनिष्ट पार्टी एकताको बहस पनि भइरहेको उहाँले बताउनुभयो । ‘उहाँहरूसँग नयाँ कम्युनिष्ट केन्द्रको लागि पहल गर्ने, समाजवादी केन्द्र निर्माणको लागि पहल गर्ने र तत्काल नेपालको अस्थिर संकटपूर्ण राजनीति छ, त्यसलाई निकास दिनका लागि एउटा सचेत सबै मित्रहरूसँग मिलेर देशभक्त, समाजवादी, कम्युनिष्टहरूसँग मिलेर निकासका लागि पहल गर्ने सहमति भएको छ’, उहाँले भन्नुभयो । उहाँले यसअघि पनि नयाँ कम्युनिष्ट केन्द्र निर्माण अपरिहार्य रहेको बताउँदै आउनुभएको थियो । कम्युनिष्टहरूबीच मोर्चाबन्दी जरुरी रहेको र उनीहरूबीच वैचारिक, सैद्धान्तिक, व्यावहारिक बहसहरू आवश्यक रहेको उहाँको भनाइ छ ।
यसअघि नेकपा महासचिव विप्लव र प्रवक्ता प्रकाण्डसहितका नेताहरूले आयोग पुगेर सनाखत गर्नुभएको थियो । विप्लव नेकपाले यसअघि नै दल दर्ताको निवेदन दिएको थियो । दल दर्ताका लागि आवश्यक कागजातसहित सनाखतका लागि आयोगले बोलाएपछि उनीहरू शुक्रबार सनाखत गर्न गएका थिए । दल दर्तासँगै विप्लव नेतृत्वको नेकपा पनि अब चुनावमा जाने भएको छ । देश र जनताको चाहना र अहिलेको वस्तुस्थितिलाई बुझेर आफूहरू दल दर्ता प्रक्रियामा लागेको नेताहरूले बताएका छन् ।
वैकल्पिक शक्ति निर्माणमा डा. भट्टराईको जोड
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि नयाँ र वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पहल थाल्नुभएको छ । बिहीबार नयाँ बानेश्वरमा भएको छलफलमा रास्वपा, विवेकशील साझा, नयाँ शक्ति, प्रगतिशील अभियान र उज्यालो नेपाल अभियानका नेताहरू सहभागी थिए । छलफलमा डा. भट्टराईले ‘जेन-जी’ विद्रोहपछिको बदलिँदो राजनीतिक परिदृश्यले नयाँ विकल्पको आवश्यकता देखाएको भन्दै नयाँ पुस्ता र वैचारिक रूपमा नवीकरण भएका शक्तिहरू एक ठाउँमा आउनुपर्ने प्रस्ताव राख्नुभएको थियो । भट्टराईको सचिवालयका अनुसार, छलफलको उद्देश्य भरपर्दो र वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै नयाँ राजनीतिक संस्कार र सुशासनतर्फ उन्मुख शक्ति निर्माण गर्नु हो । रास्वपा प्रवक्ता मनीष झाले डा. भट्टराई र जनार्दन शर्मालगायत नेताहरूसँग सहकार्यका सम्भावनाबारे छलफल भइरहेको जानकारी दिनुभयो ।
माओवादीको नाम र चुनाव चिह्न यथावत् राख्न माग गर्दै आयोगमा निवेदन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाम, चुनाव चिह्न, झण्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’लाई यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । शहीद सन्तति सन्दीप पुनसहित जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेताहरू शुक्रबार आयोग पुगेर निवेदन दर्ता गराएका हुन् । महाधिवेशनको मिति घोषणा भइसकेकाले हाल नेपाली कम्युनिष्ट पार्टी बनाएका प्रचण्डले दीर्घकालीन असर पर्ने निर्णय गर्न नसक्ने जिकिर गर्दै पार्टीको पहिचान फ्रिज नगर्न आयोगलाई आग्रह गरिएको अभियानका नेता रजमान तामाङले जानकारी दिनुभयो । निवेदनमा पार्टीको वर्तमान कार्यसमिति ‘महाधिवेशन आयोजक समिति’ मात्र भएको र विधानअनुसार यो केवल कामचलाउ प्रकृतिको रहेको दाबी गरिएको छ । कामचलाउ आयोजक समितिले पार्टी जीवनमा दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न नसक्ने, अर्को कुनै पार्टीमा विलय वा मर्ज गर्न तथा चुनाव चिह्न र पार्टीको दार्शनिक मान्यता माओवाद परित्याग गर्न नसक्ने उहाँको दाबी छ । पार्टीको नाम, झण्डा र चुनाव चिन्हलाई ऐतिहासिक जनयुद्ध र हजारौँ शहीद, घाइते तथा बेपत्ताहरूको योगदानसँग जोडिएको तामाङले बताउनुभयो । यी पहिचानहरू पार्टीको विधानविपरीत गएर कसैले परिवर्तन गर्न नसक्ने र यसमा बाहिरी दबाब तथा प्रभावबाट आयोग प्रभावित हुन नहुनेमा निवेदकमा जोड दिइएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच