काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल पुनःस्थापना गर्नका लागि सरकारलाई विशेष पहल गर्न आग्रह गर्नुभएको छ ।
महासङ्घले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको उल्लेख गर्दै सरकारलाई निजी क्षेत्रको योगदान आत्मसात् गरी सार्वजनिक महत्वको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गर्न सुझाव दिनुभयो ।
“दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि सबैको साझा प्रयास आवश्यक छ,” उहाँले भन्नुभयो, “यसका लागि राजनीतिक दल, युवा पुस्ता र सरोकारवालाबीच संवाद र सहकार्यको वातावरण बनाउनुपर्छ । समयमै निर्वाचन सम्पन्न हुनुपर्छ, जसले स्थायित्वको सन्देश दिन्छ ।”
ढकालले अर्थमन्त्री रामेश्वर खनालको भनाइ उद्धृत गर्दै निजी क्षेत्र फल दिने वृक्षसरह भएकाले त्यसलाई मलजल गर्न सके मात्रै देशले समृद्धि हासिल गर्न सक्ने बताउनुभयो । “सरकार सुशासन र भ्रष्टाचार न्यूनीकरणका लागि लागिपरेको छ भने निजी क्षेत्र पनि खरानी टक्टक्याउँदै उठ्न खोजिरहेको छ,” उहाँले जोड दिनुभयो ।
महासङ्घले गरेको प्रारम्भिक सर्वेक्षण अनुसार, जेनजी आन्दोलनका क्रममा देशभर करिब रु ४८ अर्ब बराबरको भौतिक क्षति र रु ८८ अर्ब बराबरको नोक्सानी निजी क्षेत्रले व्यहोरेको बताइएको छ । ढकालका अनुसार, यो आन्दोलनका कारण व्यवसायीको मनोबल गम्भीर रूपमा प्रभावित भएको छ ।
“उद्यमीले ऋण काढेर, जोहो गरेर लगानी गरेका छन् । तर आन्दोलनमा शयनकक्षसम्म लुटपाट भयो, व्यवसायमा आगजनी भयो,” उहाँले भन्नुभयो, “यो घटनाले हामी सबैलाई आत्ममूल्यांकन गर्न बाध्य बनाएको छ।”
ढकालले आन्दोलनका नाममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो । “दोषीलाई कुनै पनि नाममा प्रश्रय दिनु दण्डहीनतालाई संस्थागत बनाउने हो,” उहाँले चेतावनी दिनुभयो ।
उहाँले नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्श र गैरआवासीय नेपाली सङ्घको सहकार्यमा गठन गरिएको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी)’ मार्फत आन्तरिक पुँजी परिचालन गरेर ठूला पूर्वाधार परियोजनामा लगानी गर्ने तयारी भएको जानकारी दिनुभयो ।
“नेपालमा केही हुँदैन भन्ने नकारात्मक धारणा तोड्न हामी लागेका छौँ,” उहाँले थप गर्नुभयो, “आन्तरिक पुँजीमै ठूला परियोजना सम्भव छन् भन्ने विश्वास जगाउने यही कम्पनीको उद्देश्य हो।”






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच