समाचार सारांश
-
प्रधानमन्त्री कार्कीले घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य नहुने चेतावनी दिनुभयाे ।
-
जेन–जी आन्दोलनले मर्माहत निजी क्षेत्रलाई तत्काल राहत र सहयोगको आवश्यकता रहेकाे बताउनु भयाे ।
-
सरकार कानूनको शासन कायम गर्दै उद्योगी–व्यवसायीको मनोबल र योगदान सुरक्षित राख्न प्रतिबद्ध रहेकाे जनाउनु भयाे ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रमाथि हुने घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने स्पष्ट चेतावनी दिनुभएको छ।
शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘राष्ट्रिय वृहत् आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको नाममा हुने लुटतन्त्र र इमान्दार उद्यमीमाथि हुने प्रताडना अस्वीकार्य रहेको बताउनुभयो।
उहाँले जेन–जी आन्दोलनको पृष्ठभूमिमा केही उच्छृंखल समूहले राज्यविहीनताको फाइदा उठाउँदै उद्योग–व्यापार क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य भएको उल्लेख गर्दै, मर्माहत निजी क्षेत्रलाई घाइते युवाहरूलाई जस्तो तत्काल राहत र सहयोग पुर्याएर आत्मविश्वास पुनःस्थापना गर्न सरकार कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “भर्खरको भदौको जेन–जी आन्दोलनले देशका लागि के सह्य छ र के असह्य छ भन्ने खुला लक्ष्मणरेखा खडा गरेको छ। घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य छैन। इमानदार उद्यमीमाथि प्रताडना गर्ने र नीतिगत चलखेल गर्ने अवस्था रहनु हुँदैन। यस आन्दोलनपश्चात मर्माहत निजी क्षेत्रलाई तत्काल राहत र सहयोग प्रदान गर्न सरकारले कुनै कसर बाँकी राख्ने छैन।”
उहाँले गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपाललाई नवीन म्याण्डेट दिएको र अब देशलाई पछौटे मुलुकको यथास्थितिमा बस्न नहुने स्पष्ट पार्दै भन्नुभयो, “अब आम युवा र आम नेपालीले अग्रगामी दिशामा देशलाई अघि बढाउने बाहेक विकल्प छैन।”
प्रधानमन्त्री कार्कीले कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने पनि बताउनुभयो। “राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शङ्का र दोहनकारी प्रणालीप्रति हामी सजग छौँ। सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको छ,” उहाँले भन्नुभयो।
उहाँले उद्योगी–व्यवसायीको योगदानको महत्वलाई जोड्दै भन्नुभयो, “उद्योगी व्यवसायीहरू केवल कर तिरेका हुँदैनन्, उनीहरूले ठूलो जनसङ्ख्यालाई रोजगारी र सामाजिक सुरक्षा सुनिश्चित गर्दै राष्ट्रलाई ठुलो योगदान दिएका हुन्छन्। त्यसैले उद्योग व्यवसायबिना देश अघि बढ्दैन। उद्योगीको मनोबल नउठेसम्म अर्थव्यवस्था उठ्न सक्दैन।”






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच