समाचार सारांश
-
प्रधानमन्त्री कार्कीले सुरक्षित र बस्न योग्य वातावरण निर्माण आवश्यक रहेको बताउनुभयो।
-
फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तयारीमा सरकार जुटेको र लोकतान्त्रिक प्रक्रिया सुदृढ पार्ने प्रयास भइरहेको छ।
-
निजी क्षेत्र, आम नागरिक र युवालाई डर नमान्दै सहभागिता र सहयोग गर्न आह्वान।
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बस्न योग्य र सुरक्षित बनाउन आवश्यक वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ।
शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘राष्ट्रिय वृहत् आर्थिक बहस २.०’ मा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तयारीमा रहेको र निर्वाचनमार्फत मुलुकलाई दिगो लोकतान्त्रिक प्रक्रियामा अघि बढाउने वातावरण सिर्जना गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो।
उहाँले निजी क्षेत्र र आम नागरिकलाई डर नमान्दै आत्मविश्वासका साथ अगाडि बढ्न आह्वान गर्दै भन्नुभयो, “निर्वाचन सफल बनाउन र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुन्छ। सबै उद्यमी, किसान र युवाहरूलाई भन्न चाहन्छु—डराउनु होइन, बरु हातेमालो गर्दै अगाडि बढ्नुहोस्। विभिन्न अध्ययनले हाम्रो आर्थिक वृद्धिदर बढ्ने र महँगी घट्ने सङ्केत देखाएका छन्, जसले हाम्रो प्रयास सही दिशामा रहेको पुष्टि गर्छ।”
प्रधानमन्त्री कार्कीले थप भन्नुभयो, “हिजोभन्दा राम्रो भोलि बनाउन सबैले एकजुट भएर काम गर्नुपर्छ। हाम्रो देश हामीले नबनाए कसैले आएर बनाइदिँदैन। हाम्रा सन्तताका निम्ति पनि यो देश बस्नलायक छ भनेर ढुक्क हुने अवस्था हामीले नै बनाउने हो।”
लोकतान्त्रिक प्रक्रियामा सहभागिता, निजी क्षेत्रको सुरक्षा र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्ने उहाँको सन्देश छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच