विश्वास, माया र मित्रता -यी तीन शब्द मानवीय सम्बन्धका आधार हुन्। तर जब यही विश्वास भाँचिन्छ, त्यो केवल सम्बन्धको अन्त्य होइन, आत्माको मृत्यु हो। आज धेरै हृदयहरूमा एउटै आवाज गुञ्जिन्छ - “घात पनि यति गर्नु साथी…”।
यस वाक्यभित्र छ, माया गरेको मान्छेकै हातबाट पाएको घाउ,
र त्यही पीडामा लुकेको आत्ममन्थन।
आजको पुस्ता भावनाभन्दा बढी आवेगमा बाँच्दैछ। सम्बन्धहरू अब क्षणिक बनेका छन् -
सामाजिक सञ्जालमा सुरु हुने ‘च्याट’ले कहिलेकाहीँ जीवन नै बिगार्छ।
माया पनि अब बजारको वस्तु झैँ बनेको छ,
जहाँ भावना होइन, स्वार्थको लेनदेन हुन्छ।
कसैले पैसा, कसैले अवसर, र कसैले आफ्नै छवि निर्माणका लागि
अरूको विश्वास बेच्दछ।
त्यसपछि बाँकी रहन्छ केवल मौनता, र त्यो मौनता नै
सबैभन्दा ठूलो प्रतिरोध बन्छ।
धोका खाने मान्छे प्रायः मौन रहन्छ।
तर त्यो मौनता कमजोरी होइन -
त्यो पीडाबाट जन्मिएको शक्ति हो।
समयले त्यो मौनतालाई आवाज बनाउँछ,
र त्यो आवाजले धोका दिनेहरूको मुखौटा च्यातिदिन्छ।
विश्वासघात केवल व्यक्तिगत अपराध होइन,
यो समाजको नैतिक पतनको संकेत पनि हो।
जब माया बेचिन्छ र विश्वास तोडिन्छ,
त्यो समाजमा आत्मा मर्छ, केवल शरीर बाँच्छ।
माया अब लाइक, कमेन्ट र स्टोरीको विषय बनेको छ,
जहाँ सत्य भावना भन्दा प्रदर्शन ठूलो हुन्छ।
त्यसैले आज आवश्यकता छ -
विश्वास र निष्ठाको पुनर्जागरणको।
हामीले सिक्नुपर्छ, माया निभाउनु साहस हो,
धोका दिनु कायरता हो।
सम्बन्ध टुटे पनि मूल्य नटुटोस्,
किनभने विश्वास हराएको ठाउँमा
कसरी मानवता बाँच्छ र?
अन्ततः -
“घात पनि यति गर्नु साथी…” भन्ने वाक्य
केवल एक व्यक्तिको पीडा होइन,
हाम्रो पुस्ताको चेतावनी हो।
विश्वास बेचेर खुशी खोज्नेहरूलाई
इतिहासले कहिल्यै माफ गर्दैन।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच