काठमाडौं । ‘हामी नेपाल’का संस्थापक सुधन गुरुङले अहिले सरकारले सामना गरिरहेको चुनौतीबीच केही राजनीतिक शक्तिहरूले सरकार ढाल्ने र आन्दोलन कमजोर पार्ने खेल सुरु गरेको आरोप लगाएका छन्।
शनिबार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्यमा गुरुङले प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूको पक्षमा आफूहरू ढाल बनेर उभिएको स्पष्ट गर्दै सरकारलाई असफल देखाउने योजनाविरुद्ध खबरदारी गर्न सबैलाई आग्रह गरेका छन्।
“हामी गृह मन्त्रालयको कामबाट सन्तुष्ट छैनौँ, तर यो भावना होइन, तथ्यमा आधारित असन्तुष्टि हो,” गुरुङले लेखेका छन्, “यो गृहमन्त्रीको असक्षमता र गैरजवाफदेहिताको आलोचना हो, न कि सरकार ढाल्ने खेल।”
गुरुङका अनुसार, आन्दोलन कुनै दल वा नेताको पदका लागि होइन, न्याय, सत्य र जवाफदेहिताको लागि गरिएको हो। “हामी स्कुले पोशाकमा मारिएका बालबालिकाको न्यायका लागि आएका हौँ, भाषण होइन, परिणाम चाहिएको हो,” उनले भनेका छन् ।
“यदि वर्तमान गृहमन्त्रीको काम पुराना सरकारजस्तै भयो भने हामी चुप बस्दैनौँ। हामी आफ्नै सरकारका मन्त्रीलाई प्रश्न गर्न डराउँदैनौँ, किनकि म्यान्डेट जनताले दिएको हो।” उनले चेतावनी दिएका छन् ।
गुरुङले अन्तरिम सरकारलाई चुनाव तयारी मात्र होइन, आन्दोलनलाई वैधानिकता दिने कदम तत्काल अघि बढाउन सुझाव दिएका छन्। “यो आन्दोलन कसैलाई पद दिलाउनको लागि होइन, यो रगत, आँसु र सपनाको लडाइँ हो,” उनले लेखेका छन्।
राजनीतिक अस्थिरता र सत्ताको खेलको चेतावनी दिँदै गुरुङले भनेका छन्, “जो कोही अहिले राजनीतिक खेल खेल्दै सरकार ढाल्ने वा आन्दोलन कमजोर पार्ने सोचमा छन्, उनीहरूले याद राखून्—प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौँ, उनीहरूसम्म पुग्नुभन्दा पहिले हामीलाई पार गर्नुपर्छ।”






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच