‘जेन-जी’ आन्दोलनपछि नेपालको राजनीतिक परिदृश्य फेरि पनि उथलपुथलपूर्ण बनेको छ । आन्दोलनको तत्कालीन प्रभाव केवल सडक र प्रशासनिक तहमा सीमित रहेन, यसको गहिरो असर अब दलहरूको आन्तरिक संरचना र सम्बन्धमा देखिन थालेको छ । राजनीतिक दलहरूबीच असामान्य गतिविधि, नयाँ समीकरणको खोजी र पुराना गठबन्धनको पुनरावलोकन भइरहेको छ । नेपालमा जति राजनीतिक दल दर्ता भएका छन्, त्यसको मूल केन्द्रबिन्दुमा परम्परागत तीन ठूला दलहरू (नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र) मै घुमिरहेका छन् । ‘जेन-जी’ आन्दोलनपछि पनि ती दलहरूको केन्द्रीयता भंग भएको छैन, बरू केही हदसम्म अझ सबल भएको देखिन्छ । विशेषगरी माओवादी केन्द्रले अरू साना दलसँग सहकार्य र एकता गर्ने प्रयासबाट संगठनात्मक बल विस्तार गरेको छ । तर, त्यसकै परिणामस्वरूप मतभेद र असन्तुष्टिका स्वर पनि पार्टीभित्र सुनिन थालेका छन् ।
नेकपा एमालेमा प्रत्यक्ष रूपमा फुटको अवस्था देखिएको छैन, तर मतमतान्तर भने गहिरिँदै गएको छ । धेरैले यस असहज अवस्थाको मूल कारण अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व शैलीलाई ठानिरहेका छन् । एमालेभित्रको अन्तरिक असन्तुलनले देखाएको संकेतले भविष्यमा पनि ठूलो राजनीतिक तरंग ल्याउनसक्ने अनुमान गरिएको छ । अर्कोतर्फ, नेपालको राजनीतिक इतिहासमा सधैं अग्रणी भूमिकामा रहँदै आएको दल नेपाली कांग्रेस अहिले गम्भीर आन्तरिक बहस र ध्रुवीकरणको चरणमा पुगेको छ । ‘जेन-जी’ आन्दोलनको समयमा कांग्रेस सत्तासँग जोडिएको थियो, तर कार्यकारी नेतृत्व प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष ओली कहाँ थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको पर्खाइमा हुनुहुन्थ्यो भने गृह मन्त्रालय रमेश लेखकले सम्हाल्नुभएको थियो । यहीबीच आन्दोलन भड्कियो र त्यसले मुलुकमा अकल्पनीय रक्तपात र हिंसा ल्यायो ।
नेपाली कांग्रेसका सभापति देउवा आफैं पनि आन्दोलनको निशानामा पर्नुभयो । उहाँमाथि भौतिक आक्रमणसम्म भने निवासमा आगजनी भयो । यद्यपि, उहाँले असाधारण संयमता देखाउँदै प्रतिकारको भाषा प्रयोग नगरी मृतकप्रति श्रद्धाञ्जलि र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेर आफ्नो राजनीतिक परिपक्वता देखाउनुभयो । यही कारण अहिले उहाँप्रति आलोचकहरूको दृष्टिकोण पनि बदलिएको छ- विरोधी स्वरहरूमा सहानुभूति र सम्मान मिसिएको छ । तर, पार्टीभित्रको सन्तुलन भने अझै प्राप्त हुनसकेको छैन । कांग्रेस १५औं महाधिवेशनको तयारीमा अघि बढिरहेको छ । तर, नियमित अधिवेशन र विशेष अधिवेशनबारेको विवादले पार्टीलाई द्विविधामा पारेको छ । संस्थापन पक्षले तय भएको फागुन २१ गतेको निर्वाचनपछि मात्र अधिवेशन गर्नुपर्ने तर्क अघि सारेको छ भने संस्थापन इत्तरपक्ष (जसको अगुवाइ डा.शेखर कोइराला र महामन्त्री गगन थापा)ले गरिरहनुभएको छ । जो तुरुन्त विशेष अधिवेशन गर्नुपर्ने अडानमा अडिग छ ।
गगन थापा कांग्रेसका ऊर्जाशील र लोकप्रिय नेताका रूपमा स्थापित भइरहनुभएको छ । उहाँले गत आमनिर्वाचनमा आफूलाई भावी प्रधानमन्त्रीको प्रत्याशीको रूपमा प्रस्तुत गर्नुभएको थियो र त्यही उत्साहले जनमत जित्नु पनि भएको थियो । तर, संसदीय दलमा नेतृत्वको प्रतिस्पर्धामा उहाँ सभापति देउवाभन्दा निकै पछाडि पर्नुभयो । अहिले पुनः उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्तावहरू पार्टीभित्र उठिरहेका छन् । यद्यपि, पार्टीको पुरानो संरचना र वरिष्ठ-कनिष्ठको बहसबीच त्यस प्रस्तावको कार्यान्वयन कति सम्भव होला भन्ने प्रश्न खुला छ ।
यदि आगामी निर्वाचनमा पनि नेपाली कांग्रेसले परम्परागत ढंगले, गठबन्धनमा मात्र निर्भर भएर, आत्मविश्लेषण नगरी अघि बढ्यो भने विगतझैं घाटा बेहोर्नुपर्ने खतरा विद्यमान छ । त्यसैले, अहिले कांग्रेसले गम्भीर आत्ममूल्यांकन गरेर, दलगत स्वार्थभन्दा राष्ट्रिय हितलाई अगाडि राख्ने निर्णय गर्नु अपरिहार्य छ । विशेष अधिवेशन होस् वा नियमित अधिवेशन-कुन बाटोले पार्टीको आन्तरिक एकता र संगठन सुदृढ हुन्छ भन्ने विषयमा निष्पक्ष विश्लेषण आवश्यक छ । कुनै पनि दलको सुदृढता केवल सो दलको लाभका लागि होइन, नेपालको राजनीतिक स्थायित्व र लोकतान्त्रिक संस्कृतिको स्थायित्वका लागि हो ।
नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसको भूमिका केवल एउटा पार्टीको रूपमा सीमित छैन-यो लोकतान्त्रिक आन्दोलनको मेरुदण्ड हो । राणा शासनजस्तो शताब्दीयौं पुरानो निरंकुश शासन फाल्न सफल यही पार्टी हो । त्यसैले कांग्रेसमा देखिने असन्तुलन केवल पार्टीगत संकट होइन, यो मुलुकको राजनीतिक भविष्यसँग जोडिएको विषय हो । यसैले, अरू दलहरूमा देखिएका झैँ सडकसम्म पुग्ने आन्तरिक कलह कांग्रेसभित्र नआओस् भन्ने अपेक्षा सबैको छ । पार्टीभित्रका असन्तुष्टिलाई लोकतान्त्रिक विधिबाट समाधान गर्दै, एकताको सूत्रलाई बलियो बनाउनु कांग्रेसकै मात्र होइन, राष्ट्रकै हितमा हुनेछ । लोकतन्त्र केवल निर्वाचन जित्ने माध्यम होइन, यो जनभावनाको सम्मान र उत्तरदायित्वको संस्कृति हो । त्यसैले, आजको आवश्यकता सत्ता समीकरणभन्दा बढी विश्वसनीय राजनीतिक आचरण हो ।
नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक जिम्मेवारी बिर्सनु हुँदैन-लोकतन्त्रको रक्षा र स्थायित्वको मेरुदण्ड बनेर अघि बढ्नु नै उसको ऐतिहासिक भूमिका हो । आन्तरिक मतभेद र नेतृत्व विवादलाई लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्दै, युवा र अनुभवी पुस्ताबीचको सन्तुलन कायम गर्नु आजको अपरिहार्यता हो । यदि दलहरूले ‘जेन-जी’ आन्दोलनको सन्देशलाई आत्मसात् गर्न सके भने, यो संकट देशका लागि अवसरमा रूपान्तरण हुनसक्छ । तर, यदि पुरानै ढर्राको सत्ता-संस्कृतिमा सीमित रहिए, भने नेपालको राजनीतिक स्थायित्व फेरि पनि सपनामात्र बन्नेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच